कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोटरबाटोले बिक्री बढायो

घनश्याम खड्का

म्याग्दी — बेस्सरी फले पनि बेच्न पाइएन भने फलफूल किसानले आफ्ना लागि मात्रै लगाइरहन रहर गर्दैनन् । म्याग्दीका सुन्तला फल्ने पहाडी बस्तीमा पहिले पहिले यस्तै थियो । ग्रामीण बस्तीसम्म सडक पहुँच बढेपछि सुन्तलाको व्यावसायिक खेती पनि फस्टाएको छ । 

मोटरबाटोले बिक्री बढायो

बारीसम्म मोटर पुग्न थालेपछि व्यापारी पैसा बोकेर सुन्तला खोज्दै कृषकको दैलोमा पुग्छन् । बारीबाटै उठाएर हातमै पैसा राखिदिनेहरू आउन थालेपछि यहाँका कृषकको परम्परागत जीवनशैलीमा पनि परिवर्तन आएको छ । ‘मोटरबाटो आयो, धूलो मात्र उडाउने भो गाडी चढ्न पाइने हो/होइन भन्ने लाग्थ्यो । होइन रहेछ, बारीका उब्जनी बजारसम्म पुर्‍याउने, दुई पैसा कमाउने अवसर पनि साथै आएको रहेछ,’ बेनी–३ भकिम्लीका राजु पुनले भने, ‘तर, यो वर्ष सुन्तला सबैको बारीमा धेरै फलेको छ । पोहोर जतिको भाउ पो पाइन्छ/पाइँदैन भन्ने भइरहेको छ ।’


बास्कुनाका लालबहादुर केसी र तिलक गुरुङ थुपै्र सुन्तला फलाउने किसानमध्येका हुन् । वैदेशिक रोजगारीबाट फर्किएर सात वर्षदेखि सुन्तला लगाइरहेका गुरुङको बारीमा अहिले फल दिने तीन सय बोट छन् । ‘खेतीमा गर्दा नहुने केही रहेनछ तर सबै थोकलाई चाहिने मुख्य कुरा सडकको सुविधा रहेछ,’ उनी भन्छन्, ‘सडक भए सबै प्रकारका कृषि उपजले भाउ पाउने रहेछ । बाटो विस्तार भएसँगै सुन्तला खेतीको लहर पनि बढेको छ ।’ यहाँका कृषकले सुन्तला बेचेर दैलोमै कम्तीमा ५० हजारदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको उनले बताए ।


ग्रामीण सडकले स्थानीय उत्पादनको बजारलाई जोड्नुपर्छ भनेर गाउँमा सिकाउन आउनेहरू यतिबेला सुन्तला कसरी सजिलै ढुवानी भएर बजार पुर्‍याइन्छ र किसानका हातमा नगद पर्छ भन्ने उदाहरण दिन्छन् । सडक भए यातायात चल्छ । ढुवानी सहज हुँदा गाउँको उत्पादन बजार पुग्छ । दैनिक उपभोग्य वस्तु सस्तो मूल्यमा दैलोमा आइपुग्छ । सडक दैलोमा पुगेपछि म्याग्दीका कृषकले सुन्तलालाई व्यवसायीकरण गर्ने प्रयत्न थालेका हुन् ।


‘समुदायले ऋण खोजेर खनेको कच्ची सडक अहिले उपयोगी भएको छ । बारीबाट सुन्तला बेचेर पैसा हात लागेपछि गाउँलेहरूले कोदो बारीमा सुन्तला खेती विस्तार गरेका छन्,’ भकिम्लीका वीरबहादुर थापाले भने, ‘सबैका घरमा धेरथोर सुन्तला छन् । सडक पुगेपछि सुन्तला मात्र होइन अन्य कृषि उपज पनि बजार पुर्‍याउन सजिलो भएको छ ।’


ठूलो क्षेत्रफलमा एकै प्रकारका बाली र फलफूलको व्यावसायिक खेती गर्ने चलन पहिले पहिले थिएन । आफ्नो बारीमा किफयती तरिकाले लगाएका फलफूलबाट नगद हात पार्न थालेपछि किसानले विस्तारै के लगाए कति फाइदा हुन्छ भन्ने हिसाब गर्न थालेको उनले बताए ।


कृषि ज्ञान केन्द्र सुन्तला जोन कार्यालयको अभिलेखअनुसार म्याग्दीमा ३ सय १६ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्छ । यो वर्ष ३३ हजार व्यावसायिक बोटबाट ३ हजार ५ सय मेट्रिक टन उत्पादन हुने अनुमान छ । थप २० हजार बोट आगामी वर्षदेखि फल्न उमेर पुगेका छन् । १६ हजार विरुवा नर्सरीमा छन् ।


ग्रामीण बस्तीहरूसम्म कच्ची सडक विस्तार भएपछि साबिकको जिल्ला कृषि कार्यालयले अनुकूल हावापानी भएका गाउँहरूलाई सुन्तला खेतीका लागि बगंैचा गाउँ बनाउन अभियान थालेको थियो । अहिले उक्त अभियानलाई सुन्तला जोन कार्यालयले अघि बढाएको छ ।


‘जिल्लाको केही क्षेत्रमा सुन्तलाका लागि चाहिने हावापानी भएकाले खेतीलाई अझ व्यावसायिक बनाउन कृषकहरूको अगुवाइमा हामीले सुन्तलाको बगैंचा गाउँ बनाउन लागेका हौं,’ बागवानी प्राविधिक भोजबहादुर थापाले भने, ‘अनुकूल हावापानीका कारण म्याग्दीका सुन्तला स्वादिला छन् ।’ पकेट क्षेत्र मानिएका दाना, घार, दोसल्ले, पीप्ले, महभीर, काउलेगौंडा, पाल्लेखेत, तातोपानी, राखु, सुर्केमेला, मरेक, बरञ्जा, फूलबारी, बिम, ताम्ला दोवा, भगवती, देवीस्थान र ओखरबोटलगायतका गाउँलाई सुन्तलाको बगैंचाको रूपमा विकास गर्ने कार्यक्रम छ । सुन्तलाका बगैंचा बस्ती सबैमा हिउँदे सडक जोडिएका छन् ।

राम्रो आम्दानी देखेपछि कृषकहरूले कोदो र धान लगायतका अन्नबाली छाडेर सुन्तलाका बिरुवा रोप्ने क्रम बढेको छ । सुन्तला बारीमा तत्काल नगद आम्दानी दिने लुम्ले, तोरी र केराउको बीउ उत्पादन गरी छुट्टै आम्दानी पनि गरिहेका छन् ।


‘दोसल्लेका ४४ घरपरिवारका बारीमा सुन्तला फल्ने २२ सय बोट छन्,’ अन्नपूर्ण गाउँपालिका उपाध्यक्षसमेत रहेकी सुन्तला कृषक केशमाया पुनले भनिन्, ‘यो वर्ष २ हजार सुन्तला र २ सय कागतीका बोट थपेका छौं । विस्तारै पूरै गाउँ सुन्तला जातका फलफूलको बगैंचा बनाउने लक्ष्य छ ।’


सुन्तलालाई पुस १५ भित्र नै बोटबाट टिप्नुपर्ने प्राविधिकहरू बताउँछन् । तर, पर्यटकीय बस्ती तातोपानी, दाना र घार लगायतमा वैशाखसम्मै बोटमा सुन्तला हुन्छन् । पदमार्गमा आउने पर्यटकलाई बेचेर राम्रो आम्दानी हुने भएकाले यी क्षेत्रका बासिन्दाले ढिलोसम्म सुन्तला बोटमै छाड्ने गरेका हुन् ।

प्रकाशित : मंसिर २६, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?