कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

गाउँपालिकामा किसान लक्षित कार्यक्रम

लालप्रसाद शर्मा

पोखरा — स्याङ्जाको विचारीचौतारा पाख्रीबोटकी किसान ठगीकुमारी पौडेल सोमबार पोखरामा हर्षित भेटिइन् । गाउँमै बसेर केरा र तरकारी खेती गर्दै आएकी उनी खुसी हुनुको कारण थियो, अबदेखि उत्पादित कृषिजन्य वस्तु खेर नजाने, सजिलै बजार र भाउ भने पाउने । 

यसैगरी स्याङ्जाकै आरूखर्कका अगुवा किसान शिव सुवेदी पनि तरकारीलगायत कृषिजन्य उपज नबिक्ने चिन्ता हटेको भन्दै खुसी छन् । ‘उत्पादित वस्तु अब कहाँ लगेर बिक्री गर्ने भन्ने चिन्ता हटेको छ,’ उनले भने, ‘यसले अन्य किसानलाई पनि कृषिकर्ममा लाग्ने प्रेरणा मिल्नेछ ।’


व्यावसायिक कृषिमा संलग्न किसानलाई लक्षित गर्दै स्याङ्जाका दुई गाउँपालिकाले उत्पादित कृषिजन्य वस्तुको संकलन र बिक्रीको व्यवस्था गरेपछि किसान उत्साहित भएका हुन् । आँधीखोला र फेदीखोला गाउँपालिकाले किसानको उत्पादनलाई संकलन गरी पोखराको बिरौटास्थित राममन्दिरसँगै बिक्रीको चाँजो मिलाएका छन् ।


प्रत्येक दिन किसानको उत्पादन संकलन गरी भाडाको गाडीमा पोखरा ल्याइनेछ । ढुवानी खर्च दुवै गाउँपालिकाले व्यहोर्ने छन् । ‘किसानको न्यूनतम एक किलोदेखि माथिको सबै कृषिजन्य उत्पादनलाई एकत्रित गरी बिक्री केन्द्रमा ल्याइनेछ,’ फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले भने, ‘किसानलाई व्यावसायिक बनाउने योजना पनि हो ।’ किसानको उत्पादन बढेसँगै बिक्री केन्द्र पनि बढाइने उनले बताए ।


आँधिखोलाका अध्यक्ष सुधीरकुमार पौडेलले तरकारीलगायत कृषिजन्य उत्पादन बढाउन किसानलाई अनुदानसहित आर्थिक र प्राविधिक सहयोग गर्न लागिएको बताए । गाउँमै स्वरोजगारमार्फत कृषिकर्ममा लागेका किसानलाई उत्साहित गर्ने र अरूलाई पनि आकर्षित गर्ने उद्देश्यसाथ अभियान थालिएको उनको भनाइ थियो ।


‘किसानको उत्पादनले मूल्य र बजार दुवै पाउनेछ,’ उनले भने, ‘अब किसानलाई वस्तु कहाँ, कतिमा बेच्ने भन्ने चिन्ता हटेको छ ।’ उत्पादन गर्ने तर बजार पाइएन भन्ने गुनासोको सम्बोधन हटेको र पोखराको बजारसँग किसानलाई जोडिएको उनले बताए ।


गाउँ–गाउँमा रहेका कृषि सहकारीमार्फत किसानको उत्पादन संकलन हुनेछ । संकलित वस्तु पोखरा ल्याएर बिक्री गरिनेछ । बिक्रीका लागि विचारीचौताराका किसान सुरेश पौडेललाई जिम्मा दिइएको छ । बिरौटा क्षेत्रमा बसोबास गर्ने अधिकांश स्याङ्जा र पर्वतबाट झरेकाहरू छन् । यसले गाउँको उत्पादनले सजिलै बजार पाउने विश्वास दुवै गाउँपालिकाको छ ।


आँधिखोला र फेदीखोला गाउँपालिका स्याङ्जाको कृषि उपज संकलन तथा बिक्री केन्द्रको सोमबार गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले उद्घाटन गर्दै गाउँपालिकाको कामको सराहना गरे ।


उनले थुप्रै किसान आफूले उत्पादन गरेका वस्तुको बजार कहाँ भन्ने अन्योलमा रहेको भन्दै यसको अन्त्यका लागि प्रदेशले वडा तहसम्म संकलन केन्द्र स्थापनाको तयारी गरिरहेको बताए । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरिधारी शर्मा पौडेलले प्रदेशको कृषि क्षेत्रको स्थितिपत्र तयार भइरहेको बताए ।


फेदीखोलाको ४ र ५ वडा र आँधिखोलाको २ र ४ नम्बर वडामा बढी कृषि उत्पादन हुन्छ । ठगीकुमारीले केराबाट वार्षिक डेढ लाख र अकबरे खुर्सानीबाट मात्रै ५० हजार कमाएको बताइन् । ‘बजारको चिन्ता हटेपछि अब उत्पादनलाई बढाउँछु । अन्य तरकारी पनि लगाउँछु’ उनले भनिन् ।

प्रकाशित : मंसिर २६, २०७५ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?