१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अग्लो झोलुंगे पुल बन्दै

प्रकाश बराल

बागलुङ — सदरमुकामस्थित बागलुङ नगरपालिकामा कार्यरत कृष्ण सुवेदी बजारमा डेरा लिएरै बस्छन् । कालीगण्डकी नदीमा पुल हुँदो हो भने उनले १५ मिनेटमै आउजाउ गर्न सक्थे । तर, पर्वतको पाङ घर भएका उनलाई घुमाउरो बाटो २ घण्टा लाग्ने भएकाले डेरा लिनुपर्ने बाध्यता भयो । 

अग्लो झोलुंगे पुल बन्दै

दैनिक कार्यालय आउनेदेखि तरकारी र अन्नपात बिक्रीका लागि आउनले पिठ्युँमा भारी बोकेर बजार आउनुपथ्र्यो । पाङदेखि मालढुंगा झर्ने गोरेटो बाटो अत्यन्त जोखिमको छ । भीर र जंगलको बाटो भएकाले महिला र बालबालिका एक्लै हिँड्न हिम्मत गर्दैनन् ।


अब कालीगण्डकी नदीमा अहिलेसम्मकै अग्लो झोलुंगे पुल निर्माण हुने भएको छ । सर्भे भएर पनि प्राविधिक समस्याले रोकिएको पुल निर्माणको बाटो खुलेपछि स्थानीय खुसी छन् । नेपालमा भएको प्रविधिले काम गर्न नसक्ने भएपछि ६ वर्षदेखि पुलको योजना धेरैलाई हल्लाजस्तो मात्रै लागेको थियो । निर्माणका लागि चिनियाँ प्रविधि ल्याउने टुंगो लागेपछि योजनाले गति लिने भएको हो ।


बागलुङ नगरपालिका, दलहरू र सामाजिक अगुवाले पटक–पटक गरेको पहलपछि चिनियाँ प्रविधि भित्र्याउन अर्थमन्त्रालयले बजेट निकासा गरिदिएको छ । बागलुङदेखि पाङको अदुवाबारी जोड्ने अग्लो र लामो झोलुंगे पुल बनेपछि यहाँ अहिलेसम्मकै परिचयसमेत फेरिनेछ । उक्त पुल यहाँ हाल प्रयोगमा रहेका मध्ये अग्लो र लामो हुनेछ ।


१ सय ६० मिटर अग्लो पुल ५ सय ६७ मिटर लम्बाइको हुने डिजाइनमा छ । २०५९ सालमै सर्भे भए पनि नेपाली प्रविधिले बन्ने/नबन्ने यकिन नभएपछि लामो समयदेखि योजनाका लागि कागजी प्रक्रिया अघि बढेको थिएन । नेपाली प्रविधिले अहिलेसम्म ३ सय ५० मिटर लामो पुलमा मात्र लठ्ठा तान्न सकेको प्राविधिक बताउँछन् ।


प्रविधि चीनबाट झिकाउने तयारी हुँदा बजेट अभावमा योजना रोकिएको थियो । उक्त प्रविधि खरिदका लागि अर्थमन्त्रालयले स्वीकृति दिएर ४० लाख निकासा गरिदिएको सस्पेन्सन ब्रिज डिभिजनका प्रमुख कुमार थापाले बताए । चिनियाँ प्रविधिको लठ्ठा तान्ने मेसिन खरिद नभएसम्म यहाँ पुल बनाउन नसकिने भएपछि प्राविधिक टोली फर्केको थियो ।


बजेट आउने भएपछि इन्जिनियरको टोलीले फेरि सर्भे गरेर झन्डै १० करोड लागत लाग्ने अनुमान गरेको छ । पहिलो सर्भे हुँदा ६ वर्षअघिको बजार मूल्यअनुसार झन्डै ६ करोड लागत स्टिमेट गरिएको थियो ।


महँगीले लागत बढ्ने अवस्था रहेको इन्जिनियर वैकुण्ठ अर्यालले बताए । ‘लठ्ठा तान्न चिनियाँ टेक्नोलोजी ल्याएपछि देशका विभिन्न भागमा बन्न नसकेका धेरै झोलुंगे पुलहरू बन्ने बाटो खुल्छ,’ उनले बताए ।


बागलुङ नगरपालिकाले पुलको उक्त योजनालाई समेटेर पर्यटकीय केन्द्र बनाउने तयारी गरेको छ । ‘खर्च बढी भएर केही छैन, हामीले देशभरका पर्यटक भित्रिने सहायक कार्यक्रम सञ्चालन गर्छौं,’ नगरप्रमुख जनकराज पौडेलले भने, ‘आकर्षक बत्ती जडान गर्ने, दृश्यावलोकन गर्न सजिलो बनाउने र पर्यटकीय होटल सञ्चालनमा जोड दिनुका साथै स्थानीय लगानी बढाउने कार्यक्रम छ ।’


उक्त पुल बन्दा धौलागिरि हिमाल, बागलुङकालिका र कालीगण्डकी नदीको बहावको मनमोहक दृश्य अवलोकन गर्न सकिने उनले बताए । कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको चौबाटोसमेत यो पुलबाट देख्न सकिन्छ । विभागले छिटै पुल निर्माणको ठेक्का खोल्ने तयारी गरिरहेको डिभिजनले जनाएको छ ।


प्रस्तावित झोलुंगे पुलको दायाँ–बायाँ होटल, रेस्टुरेन्ट खोल्दा धेरैले रोजगारी पाउने वडा नम्बर १ का सदस्य सूर्य लामिछानेले बताए । ‘भ्यूप्वाइन्ट र घुमफिरका लागि निस्कने धेरै भए पनि आकर्षक गन्तव्य थिएन । अब यो अवसर मिल्ने भयो,’ उनले भने, ‘पर्यटक भित्र्याउन यो एउटा आधार पनि हुनेछ ।’


योजनालाई सघाएर पर्यटकीय पूर्वाधार बढाउन नगरपालिकाले पनि ध्यान दिनुपर्ने उनले बताए । अग्लो पुलको बागलुङतर्फ सहिद पार्क, बांगेचउर खेल मैदान र कालिका भगवती मन्दिर पर्छन् । पुलले ती स्थानको महत्त्व बढाउनेसमेत उनले बताए ।


यसअघि बागलुङकै नारायणस्थानस्थित कैंयादेखि पर्वत सदरमुकाम कुश्मा जोड्ने पुल अग्लो र लामो बनिसकेको छ । कालीगण्डकी नदीमाथि निर्माण गरिएको ३ सय ४६ मिटर लामो र १ सय ५६ मिटर उचाइ भएको उक्त पुल मुलुककै अग्लो झोलुंगे पुल मानिन्छ । यसअघि निर्मित पर्वतको कुश्मा–ज्ञादी १ सय ३५ मिटर अग्लो छ । यस्ता पुलले १ देखि डेढ घण्टाको बाटोलाई ५ देखि ७ मिनेटमा छोटो बनाइदिएका छन् ।

प्रकाशित : मंसिर २६, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?