कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कुश्मामा ५० शय्याको अस्पताल बन्दै

२०३५ सालमा बनेको १५ शैयाको अस्पतालले ३५ वटासम्म शैयाको सुविधा दिँदै आएको छ

पर्वत — कुश्मास्थित पर्वत जिल्ला अस्पताललाई सेवासुविधा थप्दै नयाँ भवनसहित ५० शय्याको बनाइने भएको छ । हालसम्म १५ शय्याको अस्पताललाई सबै संरचना नयाँ निर्माण गरि स्तरवृद्धि गरिने भएको हो । 

करिब २६ करोड लागत स्टिमेट गरिएको अस्पतालका भवनहरू निर्माणका लागि श्यामसुन्दर गोरखा कन्स्ट्रक्सन जेभीसँग २१ करोड २९ लाख ६२ हजारमा ठेक्का सम्झौता भएर काम पनि सुरु भएको छ ।


सम्झौताअनुसार ठेकेदारले ३० महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ । साबिकका ९ वटा स–साना भवन भत्काउन र आसपासका रुख कटान सुरु गरिएको अस्पताल विकास समितिले जनाएको छ । ‘अबको जिल्ला अस्पताल अत्याधुनिक र धेरै सुविधा भएको हुनेछ,’ समिति अध्यक्ष गोविन्द पहाडीले भने । २ हजार ३ सय ४० वर्गमिटर क्षेत्रफलमा भवनहरू निर्माण गर्ने डिजाइन रहेको उनले बताए ।

इन्जिनियर अमितकुमार पाण्डेका अनुसार भवनमा बिरामीलाई तलमाथि गराउन लिफ्ट, अपांगमैत्री पूर्वाधार, छुट्टाछुट्टै ल्याब, बिरामी परीक्षण कक्ष र विशेषज्ञ उपचार कक्ष रहनेछन् । ‘ओसीजी, ओपीएस र फिजियोथेरापी ब्लक छुट्टाछुट्टै हुनेछन्,’ उनले भने, ‘त्यो सबै एउटै भवनभित्र हुन्छ । ५ वटा ब्लक हुनेछन् ।’


नयाँ संरचना निर्माणका लागि ठेक्का सम्झौता भएपछि जिल्ला अस्पतालका साबिकका चिकित्सक आवासगृह, अपरेसन थिएटर, विकास समितिको भवन र बहिरंग विभाग लगायतका भवन भत्काउन थालिएको छ । परिसरका रुखहरू कटान गरेर नयाँ भवनका लागि जग खन्ने काम सुरु भएको छ ।


गत साउनमा सुरु हुनुपर्ने भएपनि वर्षाका कारण काम रोकिएर चार महिनापछि सरेको निर्माणपक्षले जनाएको छ । सम्झौताअनुसार २०७७ पुस २७ सम्ममा निर्माण सम्पन्न हुनेछ । निर्माणको रेखदेख सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई कास्कीको छ ।


जिल्ला अस्पतालका अहिलेका संरचना २०४६ मा निर्माण भएका थिए । २०३५ सालमै १५ शय्याको अस्पताल र त्यसका संरचनामा वितरित दरबन्दीले अस्पतालबाट सेवा प्रवाह भइरहेको छ । तत्कालीन समय १५ शय्याको अस्पताल स्टिमेट गरिएको भए पनि हाल अस्पतालमा ३५ वटासम्म बेड राखेर उपचार हुँदै आएको छ ।


नयाँ भवनको निर्माणकार्य सम्पन्न भएपछि हाडजोर्नी, फिजिसियन सर्भिस र रेडियोलोजिस्टलगायत अत्याधुनिक सेवा उपलब्ध गराइने अस्पताल प्रमुख डा. सन्तोषी थपलियाले बताइन् ।


हाल एक मेडिकल सुपरिटेन्डेन्टसहित ६ जना डाक्टरहरूको दरबन्दी कायम भए पनि गत असारदेखि करारका डाक्टरहरूको भरमा अस्पताल चलेको छ । ‘हामीलाई लामो समयदेखि मन्त्रालयले विशेषज्ञ डाक्टर पठाएकै छैन,’ अस्पताल विकास समितिका अध्यक्ष पहाडीले भने, ‘अहिले हामी डाक्टरकै माग गरिरहेका छौं । ५० शय्याको भवन बन्ने भएपछि सोहीअनुसारको दरबन्दी ल्याउने हो ।’


पर्वतसहित सीमा जोडिएका बागलुङ, म्याग्दी, कास्की, गुल्मी र स्याङ्जाका समेत केही भागका बासिन्दालाई यो अस्पताल पायक पर्छ । हालसम्म उपयुक्त सेवाको अभावमा सामान्य झाडाबान्ता, ज्वरो र रुघाखोकी लाग्दासमेत पोखरा पुग्नुपर्ने बिरामीहरूलाई नयाँ सेवा सुरु हुँदा गम्भिर प्रकृतिका उपचारका लागि समेत बाहिर जानुपर्ने अवस्था हट्ने सरोकारवालाको दाबी छ ।


सर्वसाधारण पनि अस्पतालको नयाँ संरचना थपिने कुराले हर्षित छन् । ‘झाडाबान्ता भएर अस्पतालमा पुग्दा पोखरा रिफर गर्ने चलन अन्त्य हुनुपर्छ,’ कुश्माका फलेबासका नारायण पौडेलले भने, ‘नयाँ सुविधासहितका भवन बन्छन् भनेर खुसी लागेको छ । सेवाको पनि स्तरवृद्धि हुनुपर्छ ।’ कुश्माका सुरेन्द्र शर्माले सामान्य उपचारकै लागि सर्वसाधारणले सयकडा ३ रुपैयाँका दरले ऋण काढ्नुपर्ने अवस्थाको अन्त्य हुने बताए ।


जिल्ला अस्पतालको नाममा २७ रोपनी जग्गा छ । निर्माणाधीन भवनसँगै अस्पतालको गुरुयोजना बनाएर अञ्चलकै नमुना र अत्याधुनिक अस्पतालका रुपमा चिनाइने समितिको दाबी छ । हाल जिल्ला अस्पताल र जिल्ला जनस्वास्थ्य एकै व्यवस्थापनमा सञ्चालन भइरहेको छ ।


नयाँ संरचनापछि जनस्वास्थ्य र अस्पताल छुट्टाछुट्टै व्यवस्थापनमा सञ्चालन हुनेछन् । गुरुयोजनामा उक्त विषय पनि समावेश छ । पर्वतका सरोकारवालाले भवन निर्माण तोकिएको समयमै सक्न र शय्या अनुसारका सेवासुविधा ल्याउन ताकेता गरिने दाबी गरेका छन् । ‘बाहिरबाट हेर्दा चिटिक्क भएर हुँदैन,’ कुश्मा नगरपालिकाकी उपप्रमुख सीता काफ्ले लामिछानेले भनिन्, ‘जनताले अनुभूति गर्ने गरी सेवा पाउनुपर्छ । त्यसका लागि हामी सम्बन्धित निकायको ढोका घचघच्याइरहन्छौं ।’


नेकपाका नेता केशव कुँवरले भवन निर्माणका क्रममा हुने गुणस्तर, समय र निर्माण सामग्रीको निगरानी राखिने बताए । जिल्ला समन्वय समितिका प्रमुख मनहर विश्वकर्मा पौडेलले तोकिएको समयमा निर्माण सक्न ठेकेदारलाई खबरदारी गरिने बताए ।

प्रकाशित : मंसिर २७, २०७५ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?