२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

सुरुङभित्र गण्डकी सभ्यता र संग्रहालय

धार्मिक पर्यटक लक्षित योजना
६ करोडको लागत रहने 
सरकारी सहयोग भएन 

बागलुङ — कालीगण्डकी सभ्यता, दामोदर कुण्डदेखि मुक्तिनाथ हुँदै त्रिवेणीसम्मका सबै धार्मिक र सांस्कृतिक धरोहरलाई अब एउटै स्थानमा अवलोकन गर्न पाइने भएको छ ।

सुरुङभित्र गण्डकी सभ्यता र संग्रहालय

बागलुङ नगरपालिका–४ को कुडुलेफेदीमा निर्माण सुरु भएको भूमिगत शालिग्राम संग्रहालयमा सिंगो कालीगण्डकी सभ्यता सय मिटर लामो सुरुङभित्रै देखाउने तयारी गरिएको छ ।


यहाँको मुक्तिनाथ वेद विद्याश्रम सञ्चालन भइरहेकै स्थानमा सुरुङ खनेर शालिग्रामको भूमिगत संग्राहलय निर्माणको काम भइरहेको हो । नदी किनारका सबै दृश्य देख्न पाउने गरी सुरुङभित्रै डिजाइन भएको छ । त्रिशूल आकारको सुरुङमार्ग झन्डै डेढ करोड रुपैयाँ लागतमा खनिसकिएको छ ।


यहाँ १ लाख शालिग्राम व्यवस्थित रूपमा रहने संग्रहालय बन्नेछ । कालीगण्डकी सभ्यताबारे सुरुङभित्रै बसेर वृत्तचित्र हेर्न पाउने व्यवस्थासमेत हुनेछ । ‘यी काल्पनिक कथा होइनन् । केही समयमै व्यवहारमा उत्रने काम हुन्,’ विद्याश्रमका अध्यक्ष ऋषि प्रपन्नाचार्यले भने, ‘जोगीले दान–मुठी उठाएर बनाउनुपर्ने भएकाले निर्माणको कामले सोचेजति तीव्रता पाउन सकेको छैन ।’ झन्डै ६ करोड रुपैयाँको लागत अनुमान गरिएको यो संग्रहालयका लागि दाताको सहयोग मात्र स्रोत हो ।


योजना पूरा भएमा मासिक १ लाख पर्यटक भित्र्याउन सकिने अनुमान छ । गत साउनमा गण्डकी प्रदेशका वन वातावरण तथा उद्योग मन्त्री विकास लम्सालले महत्त्वाकांक्षी योजनाका लागि बजेट विनियोजनको आश्वासन दिएर सुरुङको शिलान्यास गरेका थिए । तीन महिनामा सुरुङ खन्ने काम सम्पन्न भए पनि सरकारी सहयोग भने नआएको विद्याश्रमकी शिक्षक शान्ति ज्ञवालीले बताइन् ।


यो पूर्वाधार बनिसक्दा मुक्तिनाथलाई लक्ष्य गरेर भित्रिने भारतीय पर्यटकका लागि थप आकर्षणको गन्तव्य हुने वडाध्यक्ष धु्रवबहादुर केसीले बताए । ‘नेपालीहरूले कालीगण्डकी सभ्यताको सिंगो अध्ययन १ घण्टाको बसाइँमा गर्न पाउने व्यवस्था हुन्छ,’ उनले भने, ‘भारतीय पर्यटक बढदा पनि हाम्रो आर्थिक क्रियाकलापमा धेरै सुधार आउँछ ।’


योजनाका लागि नगरपालिकाबाट पनि बजेट विनियोजन गराउन पहल भइरहेको उनले दाबी गरे । नौलो प्रकारको आकर्षक गन्तव्य निर्माणको योजना महत्त्वकांक्षी भए पनि समग्र जिल्ला र प्रदेशको पर्यटनमा टेवा पुर्‍याउने प्रकारको छ । यो योजनामा सरकारबाट सघाउने चासो पुगेको छैन ।


संघीय वा प्रदेश सरकारकै योजनामा समावेश गरेको भए पनि यो काम गर्दा राज्यलाई फाइदा पुग्ने प्रपन्नाचार्यले बताए । सुरुङ निर्माण सकिएकाले अब भित्री भागमा पूर्वाधार निर्माण थालिनेछ । सुरुङ खन्नका लागि करिब डेढ करोड रुपैयाँ खर्च भएको व्यवस्थापन समितिले जनाएको छ । बाहिरी खण्डमा पनि आकर्षक गेट र ध्यान केन्द्र बनाइनेछ ।


सुरुङभित्रै धार्मिक पुस्तकालय, दामोदर कुण्डको नमुना डिजाइन र धौलागिरि हिमालको आकृति पनि बन्नेछ । कलात्मक कामका लागि देशभर र दक्षिण भारतका कलाकारको खोजी भइरहेको छ ।


यहाँ दान चन्दाकै भरमा यसअघि नै ६ करोड रुपैयाँ लागतमा रंगवेंकटेश्वर मुक्तिनारायण मन्दिर निर्माण भइसकेको छ । मल्लकालीन डिजाइनको कलात्मक मन्दिर २४ हजारवटा श्रीराम लेखेर कुँदिएका ढुंगाबाट बनेको हो । मन्दिरको छाना तामाले छाइएको छ ।


भजनकिर्तनका लागि बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सहदेव राजभण्डारीले झन्डै एक करोड रुपैयाँ खर्चेर सभाहल र गरुड शिला बनाउन लगाएको काम जारी छ । उक्त सभा भवनमा झन्डै ५ सय मानिस बसेर कार्यक्रम गर्न सकिन्छ । राजभण्डारीले आफ्ना अभिभावकको स्मृतिमा सहयोग गरेको बताए । स्थानीयले समेत दान दिएकै भरमा यहाँ झन्डै सयजना बटुक पढ्ने विद्याश्रम पनि सञ्चालनमा आएको छ । यो विद्याश्रममा माध्यमिक तहको संस्कृत र कर्मकाण्डको पढाइ गर्ने व्यवस्था छ ।


सुरुङभित्र रहने यो संग्रहालय संसारकै पहिलो र नयाँ प्रयोग हुने दाबीसमेत गरिएको छ । यहाँ ५ हजार केजीको ठूलो शालिग्रामदेखि सानो आकारसम्मका संग्रहित छन् । ती शालिग्रामलाई व्यवस्थित तवरले प्रदर्शनीका लागि राख्न सुरुङ निर्माण गरिएको हो ।


भूगर्भविद्हरूले यो स्थानमा सुरुङ खनेर पूर्वाधार निर्माण गर्न सकिने सल्लाह दिएपछि काम थालिएको प्रपन्नाचार्यले बताए । ‘जोगीको कमाण्डलु लिएर हिँडेपछि जति आउला त्यसैले बनाउनेछौं,’ उनले भने, ‘अहिलेसम्म करोडौंका संरचना पनि हामीले चन्दाबाटै बनायौं ।’ आश्वासन दिएका स्थानीय सरकार र प्रदेश सरकारले अझै बजेट उपलब्ध गराएका छैनन् ।


बिजुली, पानी, निकास, अक्सिजन लगायतको व्यवस्थापनमा थप खर्च हुनेछ । प्रपन्नाचार्यले भने, यो अभियान सफल बनाएरै छाड्ने अठोट लिएका छन् । यहाँदेखि पदमार्गमार्फत संसारकै अग्लो कलश निर्माण गरिने र पञ्चकोट जाने व्यवस्थापनको काम पनि योजनामा समावेश छ । यहाँबाट १ घण्टाको पदमार्गबाट पञ्चकोट पुग्न सकिन्छ ।

प्रकाशित : मंसिर २८, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?