कृषिको भवनमा नगरपालिका

नगरप्रमुख जनकराज पौडेलको नेतृत्वमा बिहीबार दिउँसो पुगेका जनप्रतिनिधि र कर्मचारीले कार्यालयको बोर्ड टाँसे

बागलुङ — कृषि ज्ञान केन्द्रको सम्पर्क कार्यालय रहेको साबिक जिल्ला कृषि विकास कार्यालयको भवन बागलुङ नगरपालिकाले कब्जा गरेको छ ।

कृषिको भवनमा नगरपालिका

नगर प्रमुख जनकराज पौडेलको नेतृत्वमा बिहीबार दिउँसो पुगेका जनप्रतिनिधि र कर्मचारीले कार्यालयको बोर्ड टाँसेका हुन् ।


गत साउनदेखि उक्त भवनमा कृषि ज्ञान केन्द्र पर्वतको शाखा थियो । यहाँ तीनजना कर्मचारी कार्यरत थिए । ताला फोरेर नगरपालिका कार्यालयको बोर्ड टाँसेपछि शुक्रबारदेखि नगरपालिकाको नियमित काम यही भवनबाट सुरु हुने पौडेलले बताए ।


‘नगरपालिकाको कार्यालय टाढा भएकाले जनताले दु:ख पाएका थिए । अब मुख्य बजारमै रहेर काम गर्छौं,’ नगरप्रमुख पौडेलले भने, ‘जनतालाई सहज सेवा दिने गरी काम हुनेछ ।’ नगरपालिकाको कार्यालय वडा नम्बर ३ को रातमाटामा छ । कृषिको भवन मुख्य बजार रहेको वडा नम्बर २ मा छ ।


फरक–फरक मन्त्रालयअन्तर्गतका कार्यालय भएकाले मन्त्रिपरिषद्को निर्णयबिना कार्यालय सार्न नमिल्ने कृषिका कर्मचारी बताउँछन् । ज्ञान केन्द्र प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले नगरपालिकाको यो निर्णय हतारको भएको बताए ।


‘मन्त्रालयले सम्पर्क कार्यालय राखेर काम गर्न भन्ने, स्थानीय तहले कब्जा गर्ने । हामी चेपुवामा परेका छौं,’ उनले भने, ‘जनताको हितका लागि भवन प्रयोग हुनु राम्रो भए पनि निर्णय गराएर जाँदा राम्रो हुने थियो ।’ जिल्ला समन्वय प्रमुख तथा प्रमुख जिल्ला अधिकारी रहेको समितिले सबै सरकारी सम्पत्तिको अध्ययन र प्रतिवेदन तयार गरेपछि खाली रहेका भनिएका भवनको लगतअनुसारै सारिएको दाबी नगरप्रमुख पौडेलको छ ।


कब्जा शैलीमा कार्यालय सारेर पुराना कागजात जथाभावी गर्दा राज्यकै सम्पत्ति नष्ट हुने रेग्मीको टिप्पणी छ । ‘कृषि मन्त्रालयका महत्त्वपूर्ण कागजातहरू अहिले यहीं संरक्षित छन्,’ उनले भने, ‘ती कागजात र तथ्यांक सुरक्षित गर्न नसके ठूलो क्षति हुन्छ ।’ उक्त भवनमा नगरपालिकाको कृषि विकास शाखाको बोर्ड पनि टाँगिएको छ ।


नगरप्रमुखकै नेतृत्वको टोलीले बिहीबारै तत्कालीन महिला तथा बालबालिका कार्यालयको भवन पनि कब्जामा लिएको छ । यो कार्यालयमा उपप्रमुखको नेतृत्वमा रहने न्यायिक समिति तथा महिला तथा बालबालिका इकाइ राखिने बताइएको छ ।


साबिकको कार्यालयको जिम्मेवारी स्थानीय तहमा सारिएपछि हाल उक्त भवन खाली थियो । महिला विकास कार्यालय खारेजीमा परेपछि भवन कसरी सदुपयोग गर्ने भन्ने खोजी भइरहेका बेला यो अवसर आएको उपप्रमुख सुरेन्द्र खड्काले बताए ।


सात वर्षअघि बागलुङ नगरपालिकाले मुख्य बजारमा जमिन नपाएपछि बजारदेखि माथिको डाँडोमा लगेर कार्यालय भवन बनाएको थियो । त्यसअघि भाडामा बस्दै आएको कार्यालय आफ्नै भवनमा बसे पनि सदरमुकामबाट ट्याक्सी चढेर जानुपर्ने बाध्यता भएपछि धेरैले पायक पर्ने स्थानमा सार्न माग गरेका थिए ।


नगरपालिकाको तेस्रो नगरसभाले भवन खोजेर मुख्य बजारमा सार्ने निर्णय गरेपछि वडाध्यक्षहरूको नेतृत्वमा भवन खोजी समिति गठन गरेको थियो । ‘हामीले व्यापक रूपमा खोजी गरेपछि उपयुक्त र कार्यालय अटाउन सक्ने भवन यही ठहर्‍यायौं,’ कृषिको भवन देखाएर १२ नम्बरका वडाध्यक्ष गुरुदत्त पाठकले भने, ‘अब जनताले सास्ती खेप्नु पर्दैन ।’


नगरपालिकाको वडा ८ देखि १४ सम्म र वडा १, २, ४ समेतले साबिकको भवनमा सास्ती खेपेको उनले बताए । शुक्रबारदेखि सेवा दिने गरी प्रशासन, लेखा र योजना शाखा सारिने नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले बताए । हालको भवनमा शिक्षा, स्वास्थ्यलगायतका केही इकाइ रहने र वडा ५, ६ र ७ का जनतालाई आइपर्ने सेवा प्रवाहसमेत गराइने उनले बताए ।

प्रकाशित : मंसिर २८, २०७५ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?