कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

साइबर व्यवसाय विस्थापित

सूचना प्रविधिको विकाससँगै मोबाइल र ल्यापटपलगायत उपकरणको सहज पहुँचले साइबर व्यवसाय धरापमा

कास्की — पोखराको राष्ट्र बैंक चोकमा साजन पौडेलले साइबर चलाउँथे । आम्दानी राम्रै हुन्थ्यो । आम्दानीले उनी उत्साही थिए । राम्रै व्यवसाय रोजेकोमा गर्व लाग्थ्यो । उनको त्यो उत्साह लामो समय टिकेन ।

साइबर व्यवसाय विस्थापित

सूचना प्रविधिको विकाससँगै मोबाइल र ल्यापटपलगायत उपकरणको सहज पहुँचले साइबर व्यवसाय नै धरापमा पारिदियो । ‘सबैको हातहात र घरमा इन्टरनेटको उपलब्धता छ ।’ उनले भने, ‘अनि को धाउँछ साइबरमा ।’


कम्प्युटर सिक्ने, च्याट गर्ने, प्रिन्ट, फोटोकपीलगायत कामका लागि ग्राहकहरू आउने गरेकोमा पछिल्लो समय आउन छाडेपछि उनले साइबरलाई स्टेसनरीमा परिवर्तन गरी चलाउँदै

आएका छन् ।


कुनै बेला पर्यटकीय सहर पोखरामा करिब एक सय जति साइबर सञ्चालनमा थिए । विशेषगरी युवा पुस्ताका लागि यस्ता साइबर सूचना प्रविधिसँग खेल्ने गतिलो माध्यम बनेका थिए । तर मोबाइल, वाईफाई, ल्यापटप, कम्प्युटर, ट्याब्लेटजस्ता उपकरण र प्रविधिका कारण साइबर बन्द भएका हुन् ।


‘साइबर गएर विदेशमा रहेका श्रीमान्सँग च्याटिङमा व्यस्त भएको भर्खर जस्तो लाग्छ । तर, ७ वर्षयता साइबर जान परेको छैन,’ तनहुँ घर भई पोखराको रत्नचोकमा बस्दै आएकी ३८ वर्षीया जानुका सुवेदीले भनिन्, ‘मोबाइलमा स्काइप, भाइबर, मेसेन्जर, इमोजस्ता सुविधा पाएपछि सजिलो भएको छ ।’


मोबाइलमै नेट भएपछि चाहेको बेलामा र फुर्सदको समयमा पनि प्रयोग गर्न सकिने भएकाले साइबर धाउनु नपरेको उनले बताइन् । आफूलाई चाहिएको वस्तु बजारबाट मगाउन पनि प्रविधिले सजिलो बनाइदिएको उनको अनुभव छ ।


बजारका लेकसाइड, महेन्द्रपुल, बगर, पृथ्वीचोकलगायत बढी चहलपहल हुने स्थानमा साइबरहरू राम्रैसँग चलेका थिए । यतिबेला भने देख्न पाइँदैन । साइबरमा ग्राहकहरू निकै रहर लाग्दो गरी आउँदा राम्रो काममा हात हालिएछ भन्ने भएको साइबर सञ्चालनको अनुभव बटुलेका बगरका लीलबहादुर पुन बताउँछन् । तर ग्राहक अभावमा उनको पनि साइबर बन्द भएपछि पेन्टिङ व्यवसायमा सरेका छन् । ‘साइबर सञ्चालन सहज थियो । आम्दानी पनि राम्रो हुन्थ्यो,’ उनले भने, ‘के गर्ने समयक्रमअनुसार बन्द गर्नुपर्‍यो ।’


महेन्द्रपुलमा साइबर सञ्चालन गर्दै आएका बाटुलेचौरका अनिल गौतमले पनि एन्ड्रोइड, आइफोन आएपछि साइबर चौपट भएको बताए । निरक्षरले पनि त्यस्ता उपकरण चलाउने गरेपछि साइबरका ग्राहक स्वत: घटेको उनको अनुभव छ ।


उनले कोरियन भाषाको तालिम दिन थालेका छन् । नयाँबजारका साइबर सञ्चालक ललित चन्दले पनि पछिल्लो समय स्टेसनरी सञ्चालन गर्दैछन् । फाट्टफुट्ट आउने ग्राहकको डकुमेन्ट टाइप गर्ने, र्‍यापिङ गर्नेलगायत काम गरी व्यवसायलाई निरन्तरता दिएका छन् । ‘प्रविधिले व्यवसाय ओरालोमा पुर्‍याएको हो,’ उनले भने, ‘साइबर विस्थापितै भयो ।’

प्रकाशित : मंसिर २९, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?