स्याङ्जा — उनी पहिला तरकारी खेती गर्थिन् । उत्पादित तरकारीलाई बजार अभाव हुँदै गयो । त्यसै बस्नु पनि भएन । त्यसैले आँधीखोला गाउँपालिका ४ की सीता शर्मा पौडेलले मौरी पाल्न थालिन् । मौरीपालनमा रमाउन थालेको ७ वर्ष भयो ।
‘मह उत्पादनलाई बजार समस्या छैन,’ ५४ वर्षीया उनले भनिन्, ‘भारी बोकेर बजार झर्नु पनि पर्दैन । ग्राहक मह खोज्न घरमै आउँछन् ।’ उनको घर समुद्री सतहबाट १६ सय ५० मिटर उचाइमा पर्छ । लेक भएकाले पनि यहाँ उत्पादित मह गुणस्तरीय छ ।
यतिबेला उनकोमा मौरीसहितका १४ र मौरी हाल्ने तयारीका १० घार छन् । गाउँको खेतबारीमा प्रांगारिक मलको प्रयोग, हरिया वनजंगलमा फुल्ने फूलले महको गुणस्तर बढ्ने उनले बताइन् ।
उनले अघिल्लो वर्ष डेढसय किलो मह उत्पादन गरिन् । एउटा घारबाट वर्षमा तीनदेखि चार पटकसम्म मह निकालिन्छ । एकपटकमा प्रतिघार चारदेखि ६ किलो मह उत्पादन हुन्छ । यस वर्ष मह उत्पादन घटेको सीता बताउँछिन् । ‘मौसमका कारण मौरीको संख्या घट्यो,’ उनले भनिन्, ‘मौरी एकबाट अर्को घार गर्दै बाहिरिए र मह उत्पादन गर्न सकेनन् ।’
मौरीपालनमा उनको लगानी जम्मा ६० हजार हो । उनले मह बिक्रीबाट ६ लाख रुपैयाँ आम्दानी गरेको बताइन् । उनका अनुसार गत वर्षसम्म मह र मह राख्ने भाँडोसहित प्रतिकिलोलाई एक हजार रुपैयाँमा बिक्री गरिन्थ्यो । यो वर्षदेखि ग्राहकले भाँडो आफैं ल्याए प्रतिकिलो एकहजार र भाँडोसहित मह दिनुपरे प्रतिकिलोलाई १ हजार २५ रुपैयाँ पर्ने उनले बताइन् ।
उनको व्यवसायमा श्रीमान् रुकुमदत्तले पनि सघाउँछन् । मिहेनतसाथ काम गरे मौरीबाट नियमित र राम्रो आम्दानी गर्न सकिने उनले बताए । अझै घार थपेर व्यवसाय बढाउने योजना बढाउने योजना उनीहरूको छ । पौडेलजस्तै ६० वर्षीय लीलबहादुर क्षेत्री पनि व्यावसायिक मौरी कृषक हुन् ।
उनकोमा अहिले ५ घार छन् । यिनै घारबाट यस वर्ष ३५ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको उनले बताए । ‘पहिला मह उत्पादनबाट आम्दानी हुन्छ भन्ने विश्वास लागेन,’ उनले भने, ‘व्यावसायिक रूपमा भन्दा पनि देखासिकी गरेर घार हालेको थिएँ । यसको महत्त्व ग्राहक घरमा नै आउन थालेपछि अहिले बल्ल बुझेको छु ।’
उनले आगामी दिनमा व्यावसायिक रूपमै घारको संख्या उत्पादन गर्ने लक्ष्य रहेको बताए । सोही ठाउँका ४९ वर्षिय रामबन्धु पौडेल, जीवनकुमार पौडेल, भुवानीप्रसाद पौडेल र दुर्गादत्त लामिछाने पनि मौरीपालनका व्यावसायिक कृषक हुन् ।
प्रकाशित : पुस १, २०७५ १०:१४