भरिया र गाइडको कुपनबाटै करोड

मनास्लु संरक्षण क्षेत्र प्रवेश गर्ने भरिया र गाइडका कुपनबाट १ करोड संकलन

गोरखा — मनास्लु संरक्षण क्षेत्र (एमक्याप) प्रवेश गर्ने भरिया र गाइडका लागि लागू गरिएको कुपनबाट झन्डै एक करोड रुपैयाँ संकलन भएको छ ।

यसअघिका वर्षमा पदमार्गमा विदेशी पर्यटकसँग आउने भरिया र गाइडले नि:शुल्क खाने बस्ने गर्दा वार्षिक लाखौं रकम घाटा परेको गुनासो बढेपछि असोज १ बाट कुपन ‘सिस्टम’ लागू गरिएको थियो ।


यहाँ कुपन व्यवस्थापनका लागि मनास्लु पर्यटन व्यवस्थापन संयुक्त उपसमितिले जिम्मा पाएको छ ।

‘कुपन लागू नहुँदा गाइड र पोर्टरले कतै नि:शुल्क खान बस्न पाउँथे, कतै बढी पैसा तिर्नुपथ्र्यो, थोरै रकम लिएर म्यानेजमेन्ट गरौं भनेर कुपन सिस्टम लागू गरेका हौँ,’ संयुक्त उपसमितिका अध्यक्ष गणेश कार्कीले भने । गत चैत १६, साउन २२ र भदौ ७ बैठक बसेर कुपन सिस्टम लागू गर्ने निर्णय गरिएको हो ।


एमक्यापअन्तर्गतको पर्यटक जाँच चौकी जगतले पदयात्रा मार्ग भएर जाने पर्यटकको विवरण संकलन गर्दै आएको छ ।


पर्यटकको विवरण दर्ता गरेपछि नजिकैको संयुक्त उपसमितिको कार्यालय पुगेर टिकट काट्नुपर्ने नियम राखिएको छ । भ्रमण अवधिको आधारमा भरिया र गाइडले एकमुष्ट रकम जगत काउन्टरमा बुझाउनुपर्ने कार्कीले बताए । ‘एक छाक खानाको दुई सयका दरले लिने गरेका छौं, दैनिक चार सयको कुपन लिएर प्याकेजमा बस्न पाउँदा सहुलियत पनि भयो, असोज १ यता तीन हजार तीन सय ९८ गाइड र पोटरले कुपन लिएका छन्,’ उनले भने, ‘साढे दुई महिनामै एक करोड संकलन भयो ।’


संकलित रकम पुस १२ गते होटल व्यवसायीको बैठक बसेर बाँडफाँट गर्ने उनले बताए । ‘काउन्टरका दुई कर्मचारीलाई तलब, घर भाडा मसलन्द खर्च छुट्टाउँछौँ, उनले भने, ‘संरक्षण क्षेत्र आउँदा पोर्टर र गाइडहरू बिरामी परिहाले खर्च मिल्ने गरी कोष बनाउने योजनामा पनि छौं, त्यसबाहेकको रकम व्यवसायीलाई नै बाँडफाँट गर्ने हो ।’ केही रकम प्रचारप्रसार र होटल व्यवसायीलाई तालिमका लागि छुट्टयाउने योजना रहेको उनले बताए ।


समितिले असोज १ बाटै लागू हुने गरी पदमार्गका होटलको मेनुमा एकरूपता ल्याएको जनाएको छ ।

‘मेनु एउटै नहुँदा केही होटलमा कम, केहीमा बढी मूल्य लिने गरेको थियो,’ उनले भने, ‘१० स्थानलाई क्याटागोराइज गरेर ढुवानी मूल्यको आधारमा मेनु बनाएका छौं ।’ भौगोलिक विकटता र सडक सञ्जालले नछोएको उक्त क्षेत्रमा खच्चडबाट ढुवानी गरेर दैनिक उपभोग्य सामग्री स्थानीयले उपभोग गर्दै आएका छन् ।


ढुवानी भाडाकै कारण दूरीका आधारमा मूल्य निर्धारण गर्दा फरक परेको आयोजनाले जनाएको छ । आयोजना क्षेत्रभित्र रहेको जगत सल्लेरीदेखि, सिर्दिवास फिलिम हुँदै सामागाउँको धर्मशाला र छेकम्पारसम्मका होटलमा भिन्न/भिन्न सामग्रीका फरक/फरक मूल्य निर्धारण गरिएको छ ।


चुमनुव्री गाउँपालिका अन्तर्गतको सात वडामा छुट्टा–छुट्टै व्यवस्थापन उपसमिति गठन गरेर संयुक्त उपसमितिको निर्णय कार्यन्वयन तथा व्यवस्थापन गरिएको छ ।


मनास्लु पदमार्ग क्षेत्रमा ८० देखि सय साना–ठूला होटल छन् । सन् २०१८ मा सात हजार एक सय ३४ पर्यटकले मनास्लु संरक्षण क्षेत्रको भ्रमण गरेको एमम्यापका छाङदोर्जे लामाले बताए । ‘विदेशी पर्यटकसँग कम्तीमा दुई जना भरिया र गाइड आउँछन्, पहिलोपटक कुपन सिस्टम लागू भएको छ, यो निकै प्रभावकारी रहेको पाएका छौं,’ लामाले भने ।


मार्च, अप्रिल र मे तथा अक्टोबर र नोभेम्बरलाई मनास्लु संरक्षण क्षेत्र भ्रमणको उपयुक्त समय मानिन्छ । मनास्लु आरोहण र लार्केपास पर्यटकको रोजाइमा पर्ने गरेको छ ।


गोरखाको चुमनुव्री गाउँपालिका अन्तरगत पर्ने ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार, सिर्दिवास र सामागाउँ गाविसका पर्यटकीय क्षेत्र मनासलु संरक्षण क्षेत्रभित्र पर्छन । यहाँ १० लाखदेखि करोडसम्म लगानीका होटल सञ्चालनमा छन् ।

प्रकाशित : पुस १, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?