३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

पुल निर्माणमा ढिलाइ

निर्माण सुरु भएको ५ वर्ष बित्दा पनि तनहुँतर्फको जग मात्रै खन्ने काम 

दमौली — तनहुँ र चितवन जोड्ने घुमाउनेस्थित त्रिशूली नदीमाथिको पक्की पुलको निर्माणमा ढिलाइ भएको छ । निर्माण सुरु भएको ५ वर्ष बित्दा पनि तनहुँतर्फको जग मात्रै खन्ने काम भएको छ । 

पुल अभावमा स्थानीयले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । दैनिक उपभोग्य वस्तु भारी बोकेर ल्याउनु परेको आबुखैरेनी गाउँपालिका ५ का वडाध्यक्ष पञ्चबहादुर गुरुङले बताए । ‘घुमाउनेमा झोलुंगे पुल छ,’ उनले भने, ‘मान्छेलाई आउजाउ गर्न सजिलो छ, तर, मालसामान ल्याउन समस्या छ ।’


मुग्लिन नारायणगढ सडकबाट गाउँमा ३० केजीको चामल घरमा ल्याउन भरियालाई दुई सय ५० रुपैयाँ भाडा तिर्नुपरेको उनले बताए । पुल समयमा बनाएको भए नारायणगढबाट घरआँगनमा गाडीले मालसामान ल्याइदिन्थ्यो । ठेकेदारलाई छिटो भन्दा छिटो निर्माण कार्य अगाडि बढाइदिन उनले माग गरे ।


नयाँ प्रविधिको पुल भएकाले डिजाइनलाई अन्तिम रूप दिन स्विट्जरल्यान्ड लैजानुपरेकाले ढिलाइ भएको सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी कर्ण केसीले बताए । ‘आर्क ब्रिज’ को पुल हो,’ उनले भने, ‘डिजाइन फाइनल गर्नै ४ वर्ष लाग्यो ।’ त्रिशूली नदीमा पानीको बहाव बढी भएकाले काम गर्न नसकिएको उनको भनाइ छ ।


अघिल्लो वर्ष मुग्लिन नारायणगढ सडक खण्डमा काम भएकाले पनि पुलको निर्माण कार्य अगाडि बढाउन नसकिएको कार्यालयको दाबी छ । उक्त सडक खण्डको त्रिशूली नदी माथिका छेउमा सडकको पर्खाल बनेको छ । यसले पनि पुल निर्माणमा समस्या परेको उनले बताए ।


अब पुल निर्माणका काम थालिने उनको भनाइ छ । एक सय ५ मिटर लम्बाइको उक्त ‘आर्क ब्रिज’ सडक विभागको पुल महाशाखाले ८ करोड २६ लाख रुपैयाँको लागतमा निर्माण गर्न लागेको हो । पुल निर्माणको जिम्मा हेटौंडास्थित मृत सञ्जीवनी निर्माण कम्पनीलाई दिइएको छ । पुल फुटपाथसहित ११ मिटर चौडाइको हुनेछ । दोहोरो लेनको पुलमा ७.५ मिटर गाडी हिँड्ने भाग रहनेछ ।


दमौलीबाट घुमाउनेसम्म सडक बनिसकेको छ । पुल भएमा दमौलीबाट मुग्लिन नपुगी सिधै जान सकिन्छ । पुल निर्माण भए पोखरादेखि नारायणगढ दूरी छोटिन्छ । पुलको निर्माणपछि नारायणगढ जान पोखरा, बागलुङ, पर्वत, बेनी, स्याङ्जा र दमौलीका बासिन्दाले डुम्रे, आँबुखैरेनी र मुग्लिन सडक प्रयोग गर्नुपर्दैन ।


पोखराबाट दमौली, मुग्लिन हुँदै नारायणगढभन्दा दमौली, बुद्धसिंह मार्ग हुँदै नारायगढ २४ किमिले छोटिन्छ । अहिले पनि तनहुँको दमौलीबाट घुमाउनेघाटसम्म नियमितरूपमा साना बस चलेका छन् । तर पुल नहुँदा ती सवारी नारायणगढ–मुग्लिन सडकखण्डसम्म पुग्न सक्दैनन् । दमौलीदेखि घुमाउनेसम्म ३२ किमि दूरी छ । सामान्य ग्राभेल अवस्थामा रहेको यस मार्गको स्तरोन्नतिको काम भइरहेको छ ।

प्रकाशित : पुस १, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?