कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विकास पर्खंदै मुस्लिम बस्ती

खानेपानी १ घण्टा टाढाबाट ल्याउनुपर्ने बाध्यता
सिँचाइ अभावमा खेत बाँझै
बस्तीमा जाने सडक जीर्ण 
प्रकाश बराल

बागलुङ — उमेरले ७० पुगेका नूर महम्मद एक घण्टा परबाट गाग्रीमा पानी बोकेर ल्याउँछन् । खाने र सरसफाइका लागि दैनिक ५ देखि ७ पटक पानी खेप्नुपर्ने उनको बाध्यता छ । 

विकास पर्खंदै मुस्लिम बस्ती

बागलुङ नगरपालिका १२ अमलाचौरको बनबोटको मुस्लिम बस्तीका अहिम मियाँ, मुनिर खाँ, मोहमत जानलगायत बुढ्यौलीमा पानी खेप्न बाध्य छन् । यहाँ नजिकमा पानीको धारो छैन । खोल्सामा पुगेर खेप्ने बाध्यताबाट उनीहरूले अहिलेसम्म छुटकारा पाउन नसकेको गुनासो गरे ।


नियारमारे भन्ने स्थानको पुरानो मुहानबाट उनीहरूले पानी खेपिरहेका हुन् । पुरानो ट्यांकी समेत फुटेकाले सुक्खा मौसममा पानीको हाहाकार हुन्छ । मुस्लिम समुदाय चौबीसे राजाको पालादेखि यहाँ बसेका हुन् । २०६३ को राजनीतिक परिवर्तनपछि आदिवासी, लोपोन्मुख र दलितको अधिकारबारे धेरै बहस भए पनि यो बस्तीमा परिवर्तनको अनुभूति हुन सकेको छैन । अहिले यहाँ २० घर मुस्लिम बस्छन् । केही हुनेखानेहरू व्यापार भन्दै कुश्मा र बागलुङ बजार झरे ।


तर यहाँ स्थायी बसोबास गर्नेहरूलाई दैनिकी कटाउन सधैं सास्ती छ । वर्षौंदेखि खानेपानीको योजना माग गरे पनि सुनुवाइ नभएको महम्मदले बताए । ‘चुनाव आउँदा मुस्लिम बस्तीमा खानेपानी ल्याइदिने, सडक बनाउने र सिँचाइको व्यवस्था गर्ने भन्दै नारा लगाउँछन्,’ उनले भने, ‘अहिले कोही फर्केर आएका छैनन् ।’ यहाँ खानेपानीसहित सिँचाइको समेत अभाव छ । सिँचाइ अभावमा किसानले खेती लगाउन नसकेको गुनासो गरे ।


मुख्य बस्तीदेखि १ किमि परको दूरीमा रहेको मुस्लिम बस्ती बेवास्तामा परेको स्पष्टै देखिन्छ । गाउँभरि सडकको सञ्जाल खनिए पनि यो बस्ती जाने बाटो जीर्ण छ । यहाँ रहेको मदरसा बाँसका खपटाले बारिएको छ ।


२५ जना बालबालिका पढ्ने यो विद्यालयका लागि १ जना महमम्द इसुप मियाँ मात्र शिक्षक हुन् । आर्थिक अवस्था कमजोर भएकाले उच्च शिक्षा पढेका गाउँमा कोही छैनन् । ‘पढेलेखेका युवा कोही छैनन्, विकास कोसँग गएर माग्ने हो थाहा पाइएन,’ उनीहरूले गुनासो गर्दै भने, ‘पानीको सुविधा भए पनि धेरै सहयोग पुग्ने थियो ।’ पानीकै अभावमा बारीमा तरकारी फलाउन नसकेको उनीहरूले गुनासो गरे । वर्षात्मा तरकारी फलाए पनि हिउँदे तरकारी लगाउन नपाएको मियाँले बताए ।


आर्थिक अवस्था कमजोर भएकाले अधिकांशले ज्याला मजदुरी गरेर जीवन कटाइरहेका छन् । यहाँ एउटा मस्जिद छ । वर्षौअघि बनेको यो मस्जिदको मर्मत गर्न समेत बजेट अभाव भएको उनीहरूले बताए । ‘सरकारी खर्चले केही वर्ष अघि चिहानघाट बनाएका थियौं, अरू सेवा सुविधा पाएका छैनौं,’ मियाँले भने, ‘योजना कहिले बन्छ, कहिले बजेट आउँछ भन्ने हामीले थाहा पाउन सकेका छैनौं ।’ धार्मिक पर्वमा गरिने ध्यान, पूजाका लागि व्यवस्थापन खर्च पनि उनीहरूले नपाएको गुनासो गरे ।


पढेलेखेका युवा नभएकाले विकासमा विभेद भएको उनीहरूको गुनासो छ । नगरपालिकाको वार्षिक कार्यक्रममा भने मुस्लिम बस्तीका समस्याबारे लेखिएको वडाध्यक्ष गुरुदत्त पाठकले बताए । ‘समस्याबारे हामीले बोलेका छौं, तर उनीहरू माग्न नआएपछि काम त्यति भएको छैन,’ उनले भने, ‘कतिपय बजेट सदरमुकामका टाठाबाठाले लगेर कार्यक्रम गरेका छन् ।’


आर्थिक अवस्था राम्रो भएका र व्यापार गरेका मुस्लिमका बालबालिकाले भने सदरमुकामका राम्रा विद्यालयमा पढेका छन् । उनीहरूले योजना पारेर काम पनि गरिरहेका छन् ।

प्रकाशित : पुस १, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?