हिमाल हेर्दै महोत्सव

दीपक परियार

लेखनाथ — उत्तरतिर अग्ला डाँडा र हिमाल, दक्षिणतिर लमतन्न परेको पोखरा बजारलाई एकैपटक नियाल्न सकिन्छ काहुँडाँडाबाट । सराङकोट जत्तिकै सम्भावना बोकेको यो स्थानमा भने पर्यटकीय गतिविधि शून्यजस्तै छ ।

हिमाल हेर्दै महोत्सव

पोखरा नजिक रहेर पनि ओझेलमा परेको गन्तव्यस्थल चिनाउन स्थानीयले तेस्रो काहुँ धरहरा महोत्सव मनाइरहेका छन् । आफ्नो ठाउँ चिनाउन काहुँडाँडाका बासिन्दाले यसअघि २०६२ र २०६५ मा महोत्सव गरेका थिए । १४ सय ४४ मिटर उचाइमा अवस्थित डाँडामा रहेको भ्युटावरलाई ‘धरहरा’ भनिन्छ ।


विस २०२६ सालमै तत्कालीन अञ्चलाधीश नन्दबहादुर मल्ल र मेजर वीरसिंह गुरुङको सक्रियतामा भ्युटावर निर्माण गरिएको थियो । मौसम खुलेका बेला पोखराका सबै ३३ वटै वडाका कुनै न कुनै भाग डाँडाबाट देख्न सकिन्छ । पोखराबाट लालिगुराँस फुल्ने वन भएको सबैभन्दा नजिकको ठाउँ काहुँडाँडा नै हो । स्याङ्जा, पर्वत, पाल्पा, तनहुँ, लमजुङलगायत जिल्ला काहुँडाँडाबाट देखिन्छन् ।


बाइसे, चौबीसे राज्यका बेला यसलाई कोटका हिसाबले विकास सुरु भएको पोखरा–११ का अध्यक्ष मोहनप्रसाद बास्तोला बताउँछन् । पोखराको सेती नदीपूर्व र विजयपुर नदीपश्चिम काहुँ, कुँडहर, मौला लगायतका जनसमुदायको आस्थाकी धरोहर काहुँकोट देउराली मन्दिरले समेत प्रख्यात भएको उनले बताए ।काहुँडाँडासम्मै कालोपत्रे मोटरबाटो भएकाले पोखराबाट २० मिनेटमै पुगिन्छ ।


पोखरामा फूलबारी र रानीपौवाबाट पुग्न सकिने काहुँडाँडामा यसपटक स्थानीय जनकल्याण क्लब र फूलबारी क्लबको अगुवाइमा मंसिर २८ देखि महोत्सव भइरहेको छ । ४० स्टल रहेको महोत्सव पुस ८ सम्म चल्नेछ ।


महोत्सव मूल आयोजक समिति अध्यक्ष एवं जनकल्याण क्लब काहुँका अध्यक्ष देव गुरुङ काहुँमा पर्यटकीय गतिविधि बढाउन पूर्वाधार निमाण गर्ने महोत्सवको उद्देश्य रहेको बताउँछन् । ‘अहिलेसम्म महोत्सवमा दर्शकको चाप राम्रै छ,’ उनी भन्छन्, ‘डाँडाबाट एकैपल्ट खुलेको हिमाल र पोखरा बजार हेर्न पनि महोत्सव आउने क्रम बढ्दो छ ।’ स्थानीय कृषिजन्य उत्पादन, बट्टाई चरा र टर्कीको मासुको व्यापार मनग्गे भएको उनले बताए ।


महोत्सव संयोजक दामोदर आचार्य रत्यौली र भजन प्रतियोगिताले स्थानीय लोक संस्कृतिको जगेर्ना गर्न मद्धत पुगेको बताउँछन् । महोत्सवमा स्थानीय आमा समूह, भजन समूहले भाग लिएकाले आगामी पुस्ताले सिक्ने अवसर पाएको उनले बताए ।


महोत्सवकै कारण होमस्टेले पनि आम्दानी गरिरहेको उनले सुनाए । महोत्सव पुग्ने दर्शक राष्ट्रिय लोकदोहोरी, भजन चुट्का, रत्यौली, नृत्य, कविता, चित्रकला प्रतियोगितामा रमाउँछन् । विभिन्न स्थानीय कृषि उत्पादनका स्टल महोत्सवमा राखिएका छन् ।


राष्ट्रिय कलाकारको प्रस्तुतिले महोत्सवमा मनोरञ्जन दिलाएको छ । साँझ हुने कन्सर्टमा विभिन्न ब्यान्डको प्रस्तुति रहन्छ । साँझ काहुँडाँडाबाट देखिने पोखराको झिलीमिलीले मनै लोभ्याउँछ ।

प्रकाशित : पुस ३, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?