कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पर्यटकको आवागमन बढेपछि निजीस्तरबाट संग्रहालय थपिँदै

दीपक परियार

लेखनाथ — बुटवलकी दीक्षा मल्ल कास्कीको घान्द्रुक घुम्न पुगिन् । पाँच साथीसहित पुगेकी उनले गाउँमा संग्रहालय खोज्दै हिँडिन् । उनले सामाजिक सञ्जालमा गुरुङ पोसाकमा सजिएकी साथीको फोटो देखेकी थिइन् ।

पर्यटकको आवागमन बढेपछि निजीस्तरबाट संग्रहालय थपिँदै

उनलाई पनि त्यसरी नै फोटो खिच्नु थियो । घान्द्रुक डाँडागाउँमा रहेको ‘घान्द्रुक कल्चरल म्युजियम’ पुगिन् । संग्रहालयको अवलोकन गरिन् । गुरुङ पोसाकमा फोटो खिचिन् ।


घान्द्रुक पुग्नेहरू संग्रहालयको अवलोकन गर्न पुगेकै हुन्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोगमा घान्द्रुकमा पहिलोपल्ट संग्रहालय खुलेको हो । संग्रहालयमा पर्यटकको चाप बढेपछि निजी लगानीमा धमाधम संग्रहालय खुल्न थालेका छन् ।


संग्रहालयमा गुरुङ समुदायसँग सम्बन्धित पुराना सरसामान प्रदर्शनीमा राखिएको हुन्छ । भांग्रा, बख्खु, पटुकी, घलेक, चोलो, शिरबन्दी, कछाड, स्टकोटलगायत गुरुङ पोसाक संग्रहालयमा राखिन्छन् । गुरुङ पोसाक लगाएर फोटो खिच्न पाहुनाले रुचाउँछन् ।


घान्द्रुकमा मात्रै गुरुङ संग्रहालयको संख्या ४ पुगिसकेको छ । पछिल्लो पल्ट घान्द्रुकको पुरानो गाउँ डाँडागाउँमा ध्रुव गुरुङ र अमृतमान गुरुङले सांस्कृतिक संग्रहालय सञ्चालनमा ल्याएका छन् । विगत ३८ वर्षदेखि डाँडागाउँमा सांग्रिला होटल सञ्चालन गरिरहेका ध्रुवले भाञ्जा अमृतमानको पुरानो घरलाई सदुपयोग गर्दै गतवर्ष संग्रहालय बनाए ।


उनले केही आफ्नै घरबाट, केही भाञ्जाको घरबाट र केही अन्य आफन्तको घरबाट पुराना सरसामान संकलन गरे । संग्रहालयमा जिजुबाजेको पालाको काठको मदुस राखिएको छ । भोजभतेरमा पानी राख्न प्रयोग हुने तामाको राेंचे, भात पकाउने तामाकै खर्गुन, गुन्द्रुक साँध्ने फाङ, पिठो हाल्ने डालोजस्ता पुराना भाडाकुँडा संग्रहालयमा छन् ।


ऊन धुने पैंकै, लडाइँमा प्रयोग हुने तरबार, शिकार खेल्न प्रयोग गरिएको भरुवा बन्दुक संग्रहालयमा सजाएर राखिएका छन् । संग्रहालयको अवलोकन गर्न प्रवेश शुल्क तिर्नुपर्छ ।


संग्रहालय सञ्चालक ध्रुव गुरुङ संस्कृतिको संरक्षणसँगै आम्दानी पनि हुने भएकाले संग्रहालय खोलेको बताउँछन् । ‘टाढा–टाढाबाट आउने पर्यटकले पुराना सामान देख्दा अचम्म मान्छन्,’ उनी भन्छन्, ‘गाउँ घुम्न आउनेलाई भुल्ने ठाउँ पनि भएको छ ।’ उनका अनुसार संग्रहालय पुग्ने धेरै विद्यार्थी हुन्छन् ।


घान्द्रुकसम्मै मोटरबाटो पुगेपछि शैक्षिक भ्रमणमा जाने विद्यार्थी बढेका छन् । घान्द्रुक पुग्ने विद्यार्थी संग्रहालय पुगेकै हुन्छन् । विदेशी पर्यटकले पनि चाख मानेर अवलोकन गर्छन् । पर्यटकीय मौसममा एक संग्रहालयमा एक सयसम्मले अवलोकन गर्ने उनले बताए । अर्का सञ्चालक अमृतमान गुरुङ काठमाडौंमा व्यवसाय गर्छन् । गाउँको मध्यभागमा भएको घर भत्किनुभन्दा संग्रहालय बनाउन उचित ठानेर मामाको योजनामा साथ दिएको उनी बताउँछन् ।


कास्कीका अन्य गुरुङ गाउँमा संग्रहालय खुल्ने क्रम बढदो छ । एक्यापकै सहयोगमा पर्यटकीय गाउँ सिक्लेसमा अन्नपूर्ण इको म्युजियम सञ्चालनमा छ । स्थानीय रहनसहन, खानपान, वेशभुषा झल्काउने सामग्री संग्रहालयमा छन् । गुरुङका तीन पुरोहित घ्याब्रे, लामा र पच्युको प्रतिमाले पर्यटकको ध्यान खिच्छ । संरक्षणसम्बन्धी जानकारी दिने सामग्री पनि संग्रहालयमा राखिएका छन् ।


एक्याप क्षेत्रका लमजुङको भुजुङ, घलेगाउँ, कास्कीकै ल्वाङ र मुस्ताङको जोमसोममा पनि संग्राहालय छन् । एक्यापले इलाका संरक्षण समितिमार्फत संग्रहालय खोल्न सहयोग गरिरहेको संरक्षण अधिकृत ऋषि बरालले बताए ।


‘स्थानीय संस्कृति र पर्यावरणसम्बन्धी जानकारी दिने सामग्री संग्रहालयमा राखिएका छन्,’ उनी भन्छन्, ‘यसले पर्यटकीय आकर्षण थपेको छ नै स्थानीयलाई आयआर्जनको माध्यम पनि बनेको छ ।

प्रकाशित : पुस ३, २०७५ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?