कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

दौड विजेतालाई घोडा चढाएर नगर परिक्रमा

हरिराम उप्रेती

गोरखा — आठ किलोमिटर दुरी ३० मिनेट ४० सेकेण्डमा पार गर्दै म्यान अफ द गोरखा दौडको उपाधि त्रिभुवन आर्मी क्लवका गजेन्द्र राइले हात पारेका छन् ।

दौड विजेतालाई घोडा चढाएर नगर परिक्रमा

दशौँ गोरखा महोत्सवको अवसरमा भएको दौड प्रतियोगितामा ३५ प्रतिस्पर्धीलाई पछि पार्दै राइ विजेता बनेका हुन् ।

शाह वंशीय राजाका संस्थापक द्रव्य शाहले दौड जितेर राजा बनेको इतिहासलाई जिवन्त राख्न महोत्सवको अवसरमा दौड प्रतियोगिता आयोजना गरिएको हो । विजेता राइलाई बिहीबार द्रव्य शाहको प्रतिकात्मक पहिरनसहित पञ्चेबाजा बजाएर नगर परिक्रमा गराइएको छ ।

राष्ट्रिय झण्डासहित घोडामा राखेर नगर परिक्रमा गराइएको दौडका संयोजक रामहरी केसीले बताए । गोरखा दरबार देखि हरमटारीसम्म उनलाई घोडामा राखेर ल्याइएको हो ।

त्रिभुवन आर्मी क्लबकै हेमलाल श्रेष्ठ ३० मिनेट ५५ सेकेण्डमा निर्धारित दूरी पार गर्दै दोस्रो बने । त्रिभुवन आर्मी क्लबकै राजन खत्रीले पस्लाङ देखि गोरखा दरबारसम्मको दौड ३१ मिनेट १७ सेकेण्डमा पार गर्दै तृतीय स्थान हासिल गरेका छन् ।

हरिकुमार रिमाल र कल्याण बाँनिया क्रमश ३१ दशमलव ४७ र ३२ दशमलव ४ सेकेण्डमा दूरी पार गर्दै चौथो र पाचौँ बने । प्रतियोगिताका लागि पस्लाङ चौतारा, विपीचोक बसपार्क हरमटारी ठूलो आँगन हुँदै दरबारसम्मको दूरी तय गरिएको थियो ।

तत्कालीन राजा द्रब्य शाहले विस १६१६ भाद्र २५ गते गोरखाको पस्लाङ चौतारामा नारायणदाश अर्ज्यालबाट राज्यभिषेक गरेका थिए । ‘राज्यभिषेक गरेकै चौताराबाट दौड शुरु गर्‍यौं,’ दौडका संयोजक केसीले भने, ‘१९९८ बाट गोरखा महोत्सव शुरु भएको हो, इतिहासको सम्मान र सम्झनाका लागि महोत्सवमा दौड प्रतियोगिता गर्ने गरेका छौँ ।’

तत्कालीन समयमा दौड जितेर लिगलिगे राजा भएका द्रव्य शाह त्यसपछि गोरखाका राजा भएको इतिहासमा उल्लेख छ ।

प्रतियोगितामा ३६ प्रतिस्पर्धी सहभागी थिए । प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार नगद र पुरस्कारको ब्यवस्था गरिएको केसीले बताए । द्वितीय, तृतीय र सान्त्वनालाई क्रमश: २०, १० र २ हजार ५ सय पुरस्कारको व्यवस्था गरिएको केसीले बताए ।

प्रकाशित : पुस ५, २०७५ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?