कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सिंगो बस्ती नै खानेपानीविहिन

४० वर्षदेखि दैनिक प्रयोग गर्दै आएको खानेपानी मूल विवादले पानी आउन छाडेपछि अर्जुनचौपारी गाउँपालिका–१ माझपाटाका बासिन्दालाई समस्या

स्याङजा — खानेपानीको मुल विवादका कारण सिंगो बस्ती नै चार वर्षदेखि पानीविहीन भएका छन् । ४० वर्षदेखि दैनिक प्रयोग गर्दै आएको खानेपानी आउन छाडेपछि अर्जुनचौपारी गाउँपालिका–१ माझपाटाका बासिन्दालाई समस्या परेको हो । 

भीरकोट नगरपालिका खिलुङमा रहेको मूलबाट बग्ने पानीको विषयलाई लिएर विवाद हुदाँ खिलुङका स्थानीयले पानीमा रोक लगाएका हुन । सोही मुलबाट पुस्तौं पुस्तादेखि प्रयोग गर्दै आएको पानी आउन छाडेपछि यहाँका एकसय ५० घरधुरी पानीको अभावमा दिनचर्या बिताउन बाध्य भएको बताएका छन् । गाग्रीमा बोकेर ल्याएको पानीमा दैनिकी बिताउनुपरेको गुनासो स्थानीयको छ ।


स्थानीय उषादेवी घर्तीका अनुसार खानेपानी समस्याका कारण परिवारको एक जना सदस्य दिनभरि पानी बोक्नमा नै व्यस्त बन्नुपर्छ । दैनिक निर्धक्क पानीको उपयोग गर्न बानी परेका उनीहरू बिहान एक घण्टा धारामा आउने पानी १२ घरधुरीले बाँड्छन् । प्रत्येक टोल–टोलमा एक घण्टा पानी आउने एउटा धारा जोडिएको छ ।


‘त्यो पनि १२ देखि १५ घरले बाँडेर पानी भर्नुपर्छ’ घर्तीले भनिन्, ‘एक गाग्री पानी एक जनाको भागमा पर्दछ ।’


दसैं र तिहारजस्ता चाडपर्वको उमङ्गभन्दा चाडबार्डमा आउने पाहुनापाछालाई शौचालय, सरसफाइमा पानीको उपयोग गर्न नसक्दा मन अमिलो हुने गरेको तितो अनुभव यामबहादुर जिसीसँग छ । उनी भन्छन्, ‘पाहुनालाई पानी छैन भन्न पर्दा इज्जत कति गयो ? भनेर एकपटक सोच्न बाध्य छौं । अझ चाडपर्वको समयमा कसरी दिन गुजार्ने चिन्ता छ ।’


माझपाटाका सर्वसाधारण पानीको अभाव टार्न एक घण्टाको दूरीमा रहेको ओरालो बाटो हुँदै घना जंगलको बीचमा रहेको ठूलो खोलामा पुग्ने गर्छन् । डोकोमा पानीसहितको गाग्री बोकेर ठाडै उकालो बाटो हिँड्नुपर्छ । उज्यालो भएदेखि नै पानीको व्यवस्थापन गर्दागर्दै दिन टर्ने गरेको स्थानीयको गुनासो छ । भान्साकोठादेखि करेसाबारीसम्म एक गाग्री पानीले पुर्‍याउन पर्ने भएपछि नगदेबाली र कृषी उत्पादनमासमेत असर परेको स्थानीय बताउँछन् ।


जिसीका अनुसार यहाँका प्रत्येक घरधुरीमा कृषिमा आत्मर्निभर छन् । सुन्तला पकेट क्षेत्रका रूपमा चिनिएको यो गाउँमा पानीको समस्या हुदाँ अन्य नगदेबालीलाई समेत असर पुगेको स्थानीयको भनाइ छ । खेतीमा आवश्यक पानीको मात्रा पुर्‍याउन नसकेपछि खेतीबाली बिग्रिँदै गएको घर्ती बताउँछिन् ।


‘खेतीपाती नै बिग्रिँदै गएपछि हाम्रो दिनचर्या धान्न धौ/धौ भएको छ’ उनले दोहोर्‍याइन्, ‘पानीको समस्या समाधान भए तरकारी खेती, सुन्तला उत्पादन र अन्य नगदेबालीमा कृषकको आकर्षण बढ्ने थियो ।’ स्थानीय फत्तबहादुर जिसीले यहाँको भूगोल कृषि उत्पादनका लागि उर्वर रहेको बताए । उनले पानीको अभावका कारण भूमिअनुसार खेती उत्पादनबाट फाइदा लिन नसकेपछि युवा पलाएन हुन बाध्य भएको बताए ।


चार वर्षदेखि लिफ्टिङ योजना यत्तिकै

पानीको समस्या निराकरण गर्न निर्माणाधीन लिफ्टिङको कार्य अझै सम्पन्न भएको छैन । आर्थिक वर्ष ०७०/७१ मा सम्झौता भई ०७१ असारबाट माझपाटा लिफ्टिङ खानेपानी योजनाको निर्माण कार्य सुरु गरिएको भए पनि विद्युत् प्राधिकरणको आलटाल र ढिलासुस्तीका कारण समयमा नै सम्पन्न हुन नसकेको स्थानीय बताउँछन् ।


१ करोड ७० लाख लागतमा निर्माण भएको यस योजनाको अन्तिम किस्ता स्वरूप १५ लाख ७६ हजार रुपैयाँसमेत प्राप्त भैइसकेको छ । विद्युत् जोड्ने मिटर जोड्ने काम मात्र बाँकी रहेको फत्तबहादुर बताउँछन् ।


आरकुनाबाट करिब १३ सय मिटरको उचाइमा ल्याइने लिफ्टिङ सम्पन्न भए यहाँका बासिन्दाको जीवनस्तर मात्र नभई कृषि उत्पादन र सिंगो गाउँको नै मुहार फेरिने थियो ।

प्रकाशित : पुस ६, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?