२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

अन्धगल्छी अब ‘हाइड्रो हब’

घनश्याम खडका

म्याग्दी — संसारकै गहिरो गल्छी अब ‘हाइड्रो हब’ बन्न थालेको छ । अन्धगल्छीबाट बग्ने कालीगण्डकी ऊर्जा नदी र अन्धगल्छीमा अवस्थित अन्नपूर्ण गाउँपालिका क्षेत्र हाइड्रो हब बनेको हो । 

अन्धगल्छी अब ‘हाइड्रो हब’

अन्नपूर्ण हिमश्रृंखलाबीच कालीगण्डकीले बनाएको ६ हजार ९ सय ६७ मिटर गहिरो खोंच नै अन्धगल्छी हो । यो क्षेत्र बेनीबाट मुस्ताङको यात्रामा जाँदा देखिन्छ । अन्नपूर्ण–२ तातोपानी, वडा ३ को दाना र ४ को नारच्याङमा अवस्थित धौलागिरि र अन्नपूर्ण हिमश्रृंखलासँगै यो क्षेत्र पर्छ ।


अन्धगल्छी क्षेत्रमा बग्ने नदी एवं खोलामा साना–ठूला जलविद्युत् आयोजनाहरू निर्माणको लर्को लागेको छ । अन्नपूर्ण गापा–४ नारच्याङमा ४२ मेगावाटको मिस्त्रीखोला, ६ मेगावाटको घलेम्दी खोला र वठा ६ को घारमा १४ मेगावाटको घारखोला गरी कुल ६२ मेगावाटका आयोजना निर्माणाधीन छन् ।


नारच्याङमै ३८ मेगावाटको निलगिरि प्रथम, ६२ मेगावाटको निलगिरि दोस्रो र ९.१४ मेगावाटको सुपर घलेम्दी जलविद्युत् आयोजनाले छुट्टै प्रवेश मार्ग निर्माण गरिरहेका छन् । नारच्याङमै निलगिरि ग्यास्केट २० मेगावाट र १६४ मेगावाटको कालीगण्डकी गर्ज पनि निर्माण हुने भएका छन् ।


प्रस्तावित १ सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्जमा चिनियाँ कम्पनी युनान सिन्हा वाटर कन्जरभेन्सी एन्ड हाइड्रो इन्भेस्टमेन्ट कम्पनीसँग संयुक्त लगानी गर्ने गरी सम्झौता भइसकेको छ । त्यसैगरी अन्नपूर्ण–३ दानामा पर्ने रुप्सेखोला ४ मेगावाट, मध्य–कालीगण्डकी ५० मेगावाट र वडा २ को तातोपानीमा अपर कालीगण्डकी ६५ मेगावाट, वडा ६ को घारमा ६४ मेगावाटको कालीगण्डकी तिप्ल्याङ जलविद्युत् आयोजना सञ्चालन गर्न विद्युत् विकास विभागसँग पीपीए भएको छ ।


‘संसारको सर्वाधिक गहिरो गल्छीमा रहेको हाम्रो गाउँपालिका हाइड्रो हबका रूपमा विकास भइरहेको छ,’ गाउँपालिका अध्यक्ष डमबहादुर पुनले भने, ‘उज्यालो, सभ्य र लगानीमैत्री छौं, अझै बनाउँछौं ।’


कालीगण्डकी र नदी किनारा हुँदै माथि उक्लेको बेनी–जोमसोम–कोरला सडकले बीचबाट चिरा पारेको अन्नपूर्ण गाउँपालिकाले जलविद्युत् र पर्यटनलाई आफ्नो ‘लाइफ लाइन’ मान्ने गरेको छ । गाउँमा जलविद्युत् आयोजनाको लर्को लागेपछि सबैभन्दा बढी लाभ अन्नपूर्ण फेदीको नारच्याङ गाउँले पाएको छ ।


आयोजनासँगै बस्ती–बस्ती मोटरबाटोले जोडिएका छन् । गाउँमा खुलेका सामुदायिक विद्यालयहरूमा शिक्षक दरबन्दीसमेत भौतिक पूर्वाधारमा आयोजनाले सहयोग गरेका छन् ।


आयोजनाबाट नारच्याङका मात्र कम्तीमा तीन सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । आय आर्जनका धेरै अवसर सिर्जना भएका छन् । बाँझो बारीमा तरकारी र फलफूल फल्न थालेका छन् । गिटी, बालुवा र ढुंगाजस्ता स्थानीय स्रोत आयोजनालाई बेचेर वडाले मनग्य आम्दानी गरिरहेको छ । आयोजनामा स्थानीयले काम गरेर सेयरमा लगानीको अवसर पाएका छन् ।


‘आयोजना आएपछि सबै बस्ती मोटरबाटोले जोडिएका छन् । चन्दा मागेर चलेका विद्यालयमा शिक्षकको तलब र भौतिक पूर्वाधार थपिए । काम गर्न सक्नेलाई दैलोमै रोजगारी खुल्यो । पसल थापेर गाउँलेले सामान बेचेका छन्,’ जल सरोकार समूह नारच्याङका अध्यक्ष तेजबहादुर गुरुङले भने, ‘हामीले आयोजनालाई सकेसम्म लचिलो भएर सहयोग गर्‍यौं । आयोजनाहरूले पनि मन खुलाएर सहयोग गरे ।’


जलविद्युत् आयोजनाको लर्को लागेपछि बाँझो भएर बाँदर खेल्ने पाखोबारीले आकर्षक मुआब्जा पाएको छ । मुआब्जा रकमले गाउँलेलाई व्यवसाय गर्ने अवसर दिएको छ । स्थानीयलाई आयोजनाहरूमा सेयर लगानीमा प्रशस्त अवसर जुटेको छ । केही आयोजनाले त स्थानीयका लागि साधारण सेयर खोलेका पनि छन् । स्थानीयले मात्र होइन, गाउँपालिकाले समेत प्रशस्त रोयल्टी पाउने भएको छ ।


जोखिम पनि बढ्यो

जलविद्युत् आयोजनाको हब बनेपछि लाभ मात्र होइन अन्नपूर्ण गाउँपालिका बाढीपहिरोको जोखिममा पनि परेको छ ।


भौगोलिक रूपमा पनि कमजोर भूबनोट रहेको अन्धगल्छी क्षेत्रमा निर्माण भइरहेका दर्जनौं आयोजनाले दैनिक गर्ने ठूला विस्फोटनको कम्पन र लापरबाहीपूर्वक खनिएका सडकबाट निस्केको ढुंगामाटोले बाढी पहिरोको जोखिम थपिएको छ ।


आयोजनाको सुरुङ निर्माणले धेरै पानीका मूल भासिएका पनि छन् । मिस्त्रीखोला आयोजनाको सुरुङ खन्ने क्रममा सतहको पानी भासिएको छ । अन्य क्षेत्रमा पनि यसरी खानेपानीको मुहान सुक्ने जोखिम छ । यति मात्र होइन अन्धगल्छीको माथि घाँसादेखि तल बेनीसम्मै कालीगण्डकीको बहावलाई सुरुङमा बगाउने–निकाल्ने हुँदा अन्धगल्छीमा अवस्थित प्रख्यात तातोपानीको मुहान सुक्ने जोखिम बढेको छ ।


कालीगण्डकी नदीमा पानी बढ्दा तातोपानीको मुहान पनि बढ्ने घट्दा घट्ने हुन्छ । नदीमा पानीको सतहसँगै तातोपानीको मुहान पनि तल–माथि सर्ने हुँदा कालीगण्डकीको पानी सुरुङबाट अन्यत्र लगेपछि नदीमा पानी स्वत: घट्ने भन्दै स्थानीय चिन्तित पनि छन् ।


‘कालीगण्डकीको पानीलाई जलविद्युत् आयोजनाहरूले सुरुङबाट अन्यत्र लग्ने हुँदा बेनी–जोमसोम सडकका आधा दर्जन तातोपानीका मूलहरू सुक्नेछन् । प्राकृतिक स्रोत र सम्पदा नासिने पक्का छ,’ अन्नपूर्ण–२ तातोपानीका सामाजिक कार्यकर्ता श्याम रानामगरले भने, ‘यहाँको ढुंगा–माटो र तातोपानीको स्वभाव हामी पुस्तौंदेखि अनुभव गरेका छौं ।’ अन्धगल्छीको दानादेखि तल तिप्ल्याङसम्मको करिब ६ किमि कालीगण्डकी नदीमा बन्ने जलविद्युत् आयोजनाले यो क्षेत्रको पर्यटनमा जोखिम बढाएको उनले बताए ।

प्रकाशित : पुस ७, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?