सामूहिक खेतीमा दुर्गमका महिला 

लगानी, उत्पादन र बजारीकणमा सहज देखेपछि जिल्लामा सामूहिक खेती गर्ने प्रचलन बढ्दै
घरमा नै बसेर अर्थाेपार्जन गर्न सकिने भएपछि महिला व्यावसायिक खेतीतर्फ आकर्षित

हरिनाश, स्याङ्जा — समूहमा मिलेर काम गर्दा लगानीको त्यति समस्या नपर्ने । मल, बीउ ल्याउन पनि झन्झटिलो नहुने । उत्पादित वस्तु सहजै बजार पुर्‍याउने सकिने । यस्तैयस्तै फाइदाका बावजुद पछिल्लो समय जिल्लामा सामूहिक खेती गर्ने प्रचलन बढेको छ ।

व्यक्ति/व्यक्ति मिलेर होस् या संघ–संस्था । कुनै गाउँमा भने सिंगो बस्ती नै एक–आपसमा मिलेर सामूहिक खेती गर्दै आएका छन् ।


सामूहिक खेतीतर्फ पुरुष मात्र होइन महिलाको पनि उत्तिकै आकर्षण बढेको छ । जुनसुकै व्यवसायमा सरकारी तवरबाट अनुदानको व्यवस्था हुने, प्राविधिक सहयोग पाउने भएपछि व्यवसायतर्फ आकर्षण बढेको हो । घरमा नै बसेर अर्थाेपार्जन गर्न सकिने र घरपरिवार सहजै पाल्न सकिने बताउँदै महिला व्यवसायिक खेतीतर्फ लागेका हुन् ।


पछिल्लो समय महिला आर्थिक रूपमा सबल बन्न थालेपछि सामूहिक रूपमा व्यवसायमा लागेको हरिनाश गाउँपालिका–३ की मीठू लम्साल बताउँछिन् । हरिनाश–३ चिसापानीका महिला समूह बनाएर व्यावसायिक तरकारी खेतीमा जुटेका छन् । गत वर्षदेखि विभिन्न जातका तरकारी खेतीसँगै सामूहिक रूपमा कुखुरा व्यवसायसमेत गर्दै आएका यहाँका महिला उत्साहित छन् ।


हरिनाश कृषि समूह स्थापना गरेर जिल्ला प्रशासन कार्यालयमा २०७४ मा दर्ता गरी ३२ जनाको समूहले व्यावसायिक तरकारी खेती गरेको समूहकी उपाध्यक्ष लम्सालले बताइन् । समूह महिलाको मात्र हो तर सहयोग पुरुषले पनि गरेका छन् ।


प्रतिव्यक्ति २० हजार रुपैयाँको दरले संकलन गरी ७ लाखको लगानीमा व्यवसाय सुरु गरिएको लम्सालले जानकारी दिइन् । ‘दिनभरि घरमा नै बस्नुभन्दा केही व्यवसाय गर्नुपर्‍र्यो भन्ने योजनाका साथ हामी महिला दिदीबहिनी व्यावसायिक रूपमा तरकारी तथा कुखुरापालन व्यवसायतर्फ लागेका हांै’ लम्साल भन्छिन्, ‘गत वर्षबाट सुरु गरिएकाले यो व्यवसायमा कत्तिको फाइदा हुन्छ भन्ने अझै जानेका छैनांै । यस विषयमा हामी नयाँ छाैं’ स्थानीय धु्रव लम्सालको १२ रोपनी क्षेत्रफलको खेतबारी भाडामा लिएर व्यवसाय सुरु गरिएको लम्साल बताउँछिन् ।


उनका अनुसार वार्षिक ९० हजार रुपैयाँ जग्गाधनीलाई बुझाउनुपर्छ । काँक्रा, विभिन्न जातका बोडी, सिमी, भिन्डी, करेला, घिरौंला, गोलभेंडालगायतका विभिन्न प्रकारका खेती लगाइएको छ । त्यस्तैगरी १ रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा ८ सय ब्रोइलर जातका कुखुरापालन गरिएको छ । व्यवसाय सुरु गरेदेखि पहिलो लटमा २६ किलो काँक्रा बिक्री गरिएको समूहकी सदस्य धनमाया क्षत्री बताउँछिन् । उनका अनुसार प्रतिकिलो ५० रुपैयाँमा बिक्री गरिएको हो ।


बाहुन, क्षत्री, दलित, मगरलगायत विभिन्न जातका महिला आफूलाई आम्दानी हुनेगरी समूहमा मिलीजुली व्यवसाय थालेको समूहकी अर्की सदस्य हीरामाया परियार बताउँछिन् । ‘महिलाले मात्र काम गर्ने भनिए तापनि पुरुषलाई पनि मिसाइएको छ,’ उनले भनिन्, ‘सहयोगको आवश्यक ठानी पुरुषलाई मिसाइएको हो ।’ पुरुषहरूले टनेल बनाउने, बाँस गाड्ने र जमिन खन्ने काममा सहयोग गर्छन् । अन्य काम हामी आफैं गर्छाैं ।’


कुखुराको स्याहारसुसार, दानापनी, तरकारीहरूको गोलमेड, बीउबिजन ल्याउने रोप्नेजस्ता कामहरू महिलाहरू मिलेर गर्छन् । समूहमा भएको मुनाफा सबैले बराबरी हिस्सा पाउँछन् । सुरु–सुरुमा सोचेजस्तो मुनाफा नभए पनि यो व्यवसायलाई निरन्तरता दिइने समूहकी अर्की सदस्य पुनम भुजेल बताउँछिन् । ‘जग्गा खेतीयोग्य रहेनछ,’ भुजेलले भनिन्, ‘दु:ख गर्‍यो–गर्‍यो सन्तोषजनक फल छैन । पहिलो लटमा त परिश्रम र लगानी मात्र खेर गयो तर पनि हामी हरेस खाएका छैनौं । माटो परीक्षण गरेर व्यवसाय गर्ने योजना छ ।’ उनले माटोले साथ नदिएसम्म कुनै प्रकारको तरकारी उत्पादनमा समस्या आउने बताइन् ।


व्यवसायलाई निरन्तरता दिनका लागि माटो परीक्षण गरी सोही वार्डको अर्को स्थानमा ७ रोपनी जग्गा भाडामा लिई काम गर्ने योजना समूहको छ । ‘नयाँ लिइने जग्गामा बाख्रा, बँगुर र माछा पाल्ने योजना छ’ उपाध्यक्ष लम्सालले दोहोर्‍याइन्, ‘व्यवसाय गरेपछि फाइदा हुनेगरी गर्नुपर्छ । समूहमा पनि हामी धेरै जना छौं । सबै एकमत भएर एकजुट हुने हो भने हरिनाश गाउँपालिका मात्र होइन सिंगो जिल्ला नै यहाँ उत्पादित वस्तुमा निर्भर हुने थियो ।’ उनले उत्पादित वस्तु बिक्रीका लागि बजारको समस्या रहेको बताइन् ।


यहाँका स्थानीयलाई स्याङ्जाका स्थानीय बजारभन्दा पनि तनहुँको दुलेगौंडा बजार नजिक पर्दछ । यहाँका बासिन्दाको किनमेल र बिक्री गर्ने बजार नै दुलेगौंडा हो । साढे दुई घण्टाको बाटोको यात्रापछि आउने दुलेगौंडा बजार नै यस गाउँपालिकाको मुख्य आधार बनेको छ । सानो चीज किन्नुपरे पनि दुलेगौंडा नै पुग्नुपर्ने स्थानीय बताउँछन् ।


स्थानीयका अनुसार स्याङ्जामा कानुनी र सरकारी कामबाहेक अन्य कामका लागि जावतजावत हुँदैन । धान, मकै, कोदो उत्पादित हुने यो ठाउँमा बाँदरको पनि उस्तै समस्या छ । रुखो माटोका कारण अन्य खेती उत्पादन नहुने स्थानीय पर्शुराम लम्साल बताउँछन् ।


हरिनाश कृषि समूहले ३ रोपनी क्षेत्रफलमा काँक्रा लगाएको छ । बिक्री हुने बेलाको काँक्रो लगेर बेच्ने बजारको अभावले गाउँमा नै सस्तोमा दिनुपरेको गुनासो कृषकको छ । ‘दु:ख त परकै कुरा हो बीउको समेत मूल्य नउठ्दो रहेछ’ उपाध्यक्ष लम्साल भन्छिन्, ‘बजारको साह्रै समस्या छ ।’


यो समूहले मास बोडी डेढ रोपनी क्षेत्रफलमा लगाएको छ भने, मिटर र मन्दिरा बोडी एक/एक रोपनीमा, भिन्डी र गोलभेडा एक/एक रोपनीमा लगाइएको छ । यस्तैगरी करेला र घिरौंला डेढ/डेढ रोपनी क्षेत्रफलमा लगाइएको छ ।’ यत्तिका तरकारी फलेपछि बिक्रीका लागि बजारको समस्या छ भन्दै समूहले स्थानीय बजारको माग गरेको बताइएको छ ।


स्थानीय सरकारले कृषकहरूको समस्यालाई मध्यनजर गर्दै ढुवानीको लागि व्यवसस्थापन गरिदियोस् भन्ने अपेक्षा कृषकको छ । मिश्रित जातका समुदायका महिलाहरूले व्यावसायिक रूपमा गरेको यो तरकारी खेती यस गाउँपालिकाकै ठूलो र नमुना खेती हो ।


स्थानीय तहबाट अनुदानको व्यवस्था भइदिए अझै क्षेत्रफल बढाउन सकिने समूहले बताएको छ । स्थानीय तहबाट पनि कृषकका लागि अनुदान, बीउ–बिजन, माटो परीक्षणमा सल्लाह, सुझाव र सहयोगका साथै तरकारी खेतीबारे तालिक र राम्रो प्राविधिकको आवश्यक रहेको कृषक बताउँछन् ।


व्यापारीको ठग्ने प्रवृत्ति

६ महिना पहिले काउली लगाउने योजना लिएको हरिनाश कृषि समूहले दुलेगौंडा बजारबाट काउलीको बीउ मगायो । काउलीको बीउको माग गर्दा कृषकले तोरीको बीउ पाए ।


‘काउलीको बीउ जमाउँदा तोरी उम्रियो’ समूहकी उपाध्यक्ष मीठू लम्साल भन्छिन्, ‘तोरी उम्रिएपछि मात्र हामीले बल्ल काउली होइन रहेछ भनेर चिन्यौं ।’ यसरी बीउ नै फरक पर्दा व्यमवसायिक रूपमा लगाउने भनिएको खेती नलगाइएको उनले बताइन् ।


यस्तैगरी भक्तपुरे काँक्राको बीउ माग गर्दा खिर्राको बीउ परेको अनुभव कृषकलाई छ । करेलाको बीउ माग गर्दा घिरौंला र घिरौंलाको बीउ माग गर्दा फर्सिको बीउ हात परेको गुनासो कृषकले गरे । व्यापारीले लापारबाही तरिकाले आफूखुसी बीउ पठाइदिँदा समयमा खेती लगाउन यहाँका कृषकले पाएका छैनन् ।

‘व्यवसायका रूपमा गरिने खेती समयमा लगाउन नपाउँदा ठूलो समस्या पर्दो रहेछ’ लम्सालले थपिन् । व्यापारीले कृषकलाई सीधै ठगेको अरोप उनको छ । जान– आउन समस्या हुने र गाडीमा बीउ मगाउनुपर्ने, कृषक बजार झर्दाको दिनमा बीउ नपाइने हुदाँ पहिले नै पैसा भुक्तानी गरी छाड्ने र व्यापारीले बीउ पठाइदिने सर्तमा कृषकहरू फर्किने गर्छन् । जसका कारण कृषकले चाहेको बीउ–बिजन हात पार्न सक्दैनन् ।

प्रकाशित : पुस ९, २०७५ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?