ढोरपाटन–सालझण्डी सडक : चर्चा मात्रै, निर्माण थालिएन

प्रकाश बराल

बागलुङ — आगलागीको घटनामा घर ध्वस्त भएपछि ढोरपाटन नगरपालिका–९ का जितबहादुर विश्वकर्मा नयाँ बनाउने सुरसारमा छन् । उनले जे ल्याउनु परे पनि बुर्तिबाङ झरेर खरिद गर्नुपर्छ । घर बनाउने ठाउँसम्म सडक राम्रो छैन । 

ढोरपाटन–सालझण्डी सडक : चर्चा मात्रै, निर्माण थालिएन

ट्रयाक मात्रै खुलेको सडकमा बलजफ्ती ट्रयाक्टर चल्छ । तर, बाटो अप्ठ्यारो भएको भन्दै ट्रयाक्टरले भाडा चर्को लिन्छन् । पिठ्युँमा बोकेर लैजान सम्भव छैन । निर्माण सामग्रीकै बराबरी ढुवानी भाडा पर्ने भएपछि बनाउने नबनाउने उनलाई दोधार छ ।


यस्तो समस्या उनलाई मात्रै होइन ढोरपाटन, बोबाङ र फलियाघरका बासिन्दा धेरैको यस्तै समस्या छ । वर्षौंदेखि चर्चामा रहे पनि ढोरपाटन–सालझण्डी सडक निर्माणमा ढिलाइ हुँदा उनीहरूले यस्तै सास्ती खेपिरहेका छन् । सडककै अभावमा ढोरपाटनका किसानले आलु फलाएर सहजै बजार पठाउन पनि सकेका छैनन् । किसानको सास्ती बढेपछि जनप्रतिनिधिले पनि यो सडकको निर्माणमा दबाब दिन चासो बढाएका छन् ।


हेलिकप्टर चढेर सिकारका लागि जाने विदेशी सिकारीबाहेकका सबै पर्यटकले पनि ढोरपाटन घुम्न जाँदा सास्ती खेप्छन् । सडक चिप्लो र ग्रेड नमिलेकाले दुर्घटनाको खतरा बढी छ । बोबाङ, फलेघर र रुद्रताल क्षेत्रमा बाटो चिप्लो र जोखिम छ । साँघुरो ट्रयाक, उकालो र चिप्लोले धेरै सवारी दुर्घटनामा परेको स्थानीय सवारी चालक खगेन्द्र विश्वकर्माले बताए ।


‘वर्षात्मा पानी पर्दा र हिउँदमा हिमपात हुँदा ढोरपाटन जानै सकिँदैन’ विश्वकर्माले भने, ‘बचाएर सवारी चलाउनै नसकिने बाटो छ ।’ ग्रामीण सडकको ट्रयाक खुलेकै बाटोलाई आधार बनाएर सालझण्डी–ढोरपाटन आयोजनाले काम अगाडि बढाएको आयोजना प्रमुख होमबहादुर केसीले बताए । हिउँदमा सडकको स्तरोन्नति गर्ने भने पनि अहिलेसम्म काम सुरु नभएकाले स्थानीय र पर्यटकले सास्ती खेपेका हुन् ।


ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीले सडकको अवस्थाबारे आयोजनामा चासो राख्दा पनि ढिलाइ भएको टिप्पणी गरे । ‘मैले भनिरहेको छु, नगरपालिकाको बजेटले गर्न सकिँदैन, आयोजनाले आलटाल गरिरहेको छ’ नेपालीले भने, ‘जनताको पक्षमा काम गर्नेभन्दा ढिलाइ, कमिसन र नाफाका लागि गर्नेबाट विकास अवरुद्ध भएको छ ।’ आयोजना छिटो सक्न केन्द्रीय र प्रदेश सरकारमा धाएको उनले बताए । राष्ट्रिय आयोजना भएकाले संघीय सरकारले गर्ने भने पनि कति अधिकार प्रदेशले खोज्दा काममा अवरोध आएको उनले टिप्पणी गरे ।


आयोजनाले भने बजेट अभावमा काममा ढिलाइ भएको बताएकोछ  । ‘हामीसँग तीन वर्ष देखि बजेट घट्दो दरमा छ, त्यसैले सोचेजति काम गर्न सकेका छैनौं’ केसीले भने, ‘तत्काल खुलेको ट्रयाकलाई फराकिलो बनाउने र नाली काट्ने योजना भए पनि बजेट निकासा भएको छैन ।’


हाल खुलेको ट्रयाकमध्ये बागलुङ खण्डको ४० किमि बढी जोखिमको छ । दर्लिङ, देवीस्थान, बुर्तिबाङ हुँदै ढोरपाटन पुग्ने सडक जोखिम भएको केसीले बताए । ट्रयाक खोल्ने पहिलो वर्ष २५ करोड बजेट परेकोमा गत वर्ष २२ करोड र चालु वर्षलाई १८ करोड रुपैयाँ मात्र विनियोजन भएको उनले बताए । आयोजनाले भने हरेक वर्ष अर्घाखाँचीतर्फ मात्र काम गरेको नेपालीले आरोप लगाए ।


आयोजना प्रमुख केसीले भने चालु वर्ष बुर्तिबाङदेखि ढोरपाटनको ३० किमि खण्डलाई केन्द्रित गर्ने बताए । ‘बजेट निकासामा ढिलाइ हुने क्रमले काम अगाडि बढाउन नसकेको हो’ उनले भने, ‘आगामी वर्षात्सम्ममा सडक सहज बनाउने भनेका छौं ।’ यो खण्डको डीपीआरका लागि परामर्शदाता नियुक्त भइसकेकाले कामले तीव्रता पाउने उनले बताए ।


घुम्तीहरू फराकिलो बनाउने र ग्रेड मिलाउने आयोजनाको पहिलो चरणको काम हो । नगरप्रमुख नेपालीले आयोजना प्रमुखलाई बोलाएर काम गर्न आग्रहसमेत गरेका थिए । ढोरपाटन हिँडेका सयौं पर्यटक सडक समस्याले बुर्तिबाङबाटै फर्कन बाध्य भएको नेपालीले टिप्पणी गरे ।


ढोरपाटनदेखि सालझण्डी १ सय ९५ किमि दूरी पर्छ । यो सडक बनेमा लुम्बिनी आएका सबै पर्यटक ढोरपाटन ल्याउन सकिन्छ । हाल सन्धिखर्कसम्मको सडक मात्र स्तरीय छ । सन्धिखर्कदेखि ढोरपाटनको १ सय ३५ किमि खण्डमा ठूलो लगानी आवश्यक पर्ने केसी बताउँछन् ।

प्रकाशित : पुस ९, २०७५ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?