१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

सैलुनबाटै आत्मनिर्भर

विना थापा

कास्की — धेरै कमाएर सुखको जीवन बिताउने रहर उनलाई पनि लाग्थ्यो तर वैदेशिक रोजगारीबाट फिरेका साथीहरूले पाएका दु:खका कुरा सुन्दा परदेश जाने आँट आएन । 

सैलुनबाटै आत्मनिर्भर

रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमोद नुरुल्लाहले नाइको काम सिके । ‘अरूभन्दा यो काम अलि सजिलोजस्तो लाग्यो,’ उनले भने, ‘जे गरेर भए पनि देशमै आत्मनिर्भर बन्नुपर्छ भन्ने लाग्थ्यो ।’ १० वर्षदेखि पोखराको ट्याक्सीचोकमा सैलुन चलाइरहेका उनलाई अहिले विदेश नगएकोमा पछुतो लाग्दैन ।


‘अरू पेसा गर्न जानिएन,’ उनले भने, ‘महिनाको साढे ७ हजार भाडा तिरेर घरपरिवारलाई खान–बस्न पुगेको छ ।’ उनले सैलुन एक्लै चलाएका छैनन् । तीनजना कामदार पनि राखेका छन् । सिजनमा दैनिक २ हजारदेखि २५ सयसम्म कमाइ हुने उनले बताए । पोखरामा यतिबेला सबै सैलुनले दिने सेवाको मूल्य निर्धारण जिल्लास्तरीय संघले गर्ने गरेको छ ।


कपाल काटेको सय रुपैयाँ, कपाल कलर गरेको ४ सय रुपैयाँ, हेयर स्ट्रेडको कपालअनुसार १५ सयदेखि ३ हजारसम्म र दाह्री काटेको ७० रूपैयाँ लिने गरिएको नुरुल्लाहले बताए । उनले भने, ‘यो एउटा सीप हो, कोही एकैपटकमा सिपालु हुने होइन । गर्दै जाँदा हात दक्ष हुन्छ ।’ कपाल काट्ने पेसालाई हेयको दृष्टिले हेर्ने चलन विस्तारै घटेको उनले बताए ।


एकपटक आफूलाई ठीक लागेको सैलुनमै ग्राहक बारम्बार आउने भएकाले अपेक्षाअनुसारको काम गरिदिन सक्नु ठूलो चुनौती हुने उनको अनुभव छ ।


‘आफूसँग भएको सीपलाई सदुपयोग गरे काम खोज्न विदेश नै जानुपर्छ भन्ने छैन,’ २८ वर्षदेखि पोखराको मुस्ताङचोकमा सैलुन चलाइरहेका बाराका बिगुलाल ठाकुर भन्छन्, ‘झरी, घाम, भन्न परेको छैन । कामले कहिल्यै खाली बस्नु पर्दैन ।’ सिजनमा आफूले मात्रै नभ्याउँदा सहयोगी पनि राख्ने गरेको उनले बताए । उनी नेपाल नाइसंघ कास्कीका अध्यक्ष पनि हुन् ।


‘केही नगरी बस्नुभन्दा केही सीप सिकेर पेसाको रूपमा अघि बढे खान–लाउनमा भौंतारिनु पर्दैन,’ उनले भने, ‘काम कुनै पनि सजिलो हुँदैन तर मेहनत गरे परिवार पाल्न गाह्रो छैन ।’ विदेश गए पनि मेहनत र सीप नभई पैसा नआउने बुझेकाले यो पेसालाई निरन्तरता दिएको उनले बताए । ‘मलाई लाग्छ विदेश जान लाग्ने पैसाले यहीं सीप सिकेर व्यवसाय गरे आत्मनिर्भर नहुने कुरै छैन,’ उनले भने, ‘सैलुन चलाए पनि बेसिजनमा पनि दैनिक हजारदेखि माथि कमाउन सकिन्छ ।’


सिमलचौरको मुम्बै हेयर कटिङ सैलुनमा काम गरिरहेका आलम ठाकुर देख्दा सजिलो जस्तो लागे पनि कपाल काट्ने सीप सिक्न सजिलो नभएको बताउँछन् । ग्राहकको अपेक्षाअनुसार सन्तुष्ट पार्न नाइले आफ्नो पेसामा इमानदार हुनुपर्छ । ‘सिक्छु भनेर लागिपर्नेले सिक्छन् । यदि मसँग यो सीप नभएको भए खानलाउनै गाह्रो थियो,’ उनी भन्छन्, ‘अहिले मैले आफूले खाएर लाएर घरपरिवारलाई पैसा पनि पठाउन सकेको छु ।’


पोखरामा सैलुन सञ्चालकमध्ये अधिकांश तराईवासी छन् । तराईका जिल्लाबाट आएर लामो समयदेखि सैलुन चलाउनेले पोखराको हावापानी बुझेका छन् । सैलुन सञ्चालक र कामदारहरूमध्ये आधाभन्दा बढी भारतीय रहेको ठाकुरले बताए । नाइ संघ कास्कीका अनुसार पोखरामा सैलुन सञ्चालकको संख्या १ सय ५० छ ।

प्रकाशित : पुस १०, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?