कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘कहिले आउँछ पानी ?’

स्याङ्जा — बिहान उठ्नेबित्तिकै डोकोमा गाग्री बोक्ने उनको ठेक्काजस्तै हो । घरबाट आधा घण्टाको दूरीमा सानो खोला छ । जाँदा–आउँदा एक घण्टा समय लाग्छ । 

हरेक रात उदाउँदो दिनको पानी बोक्ने सपनासँगै निदाउने यहाँका स्थानीय खानेपानीको समस्यामा छन् । हिउँद होस् वा वर्षा । बाह्रै महिना बोकेको पानीमा आत्मर्निभर बन्नुपर्छ ।

यो समस्या हरिनास गाउँपालिकाको हो । खानेपानी व्यवस्थापनको बहानामा बर्सेनि सरकारको ठूलो रकम खर्च हुन्छ तर यहाँका स्थानीयको दिनचर्या भने फेरिएको छैन् । हरिनास–३ की पुनम भुजेल भन्छिन्, ‘हाम्रो गाउँमा खानेपानीको ठूलो समस्या छ । घरमै खानेपानी आउँछ कि भन्ने आसैआसमा जीवन बित्ने भयो ।’


उनी दिनहुँ बिहानको समय पानी बोक्ने ठेक्का भएको बताउँछिन् । घरबाट आधा घण्टाको दूरी भए पनि एक गाग्री पानी ल्याउँदा एक घण्टा बित्ने हुँदा अन्य काम प्रभावित बन्ने गरेको उनले बताइन् । हिउँदको समयमा खोला–खोल्साको पानी सुक्ने पिरलो उस्तै छ । गाउँमा खानेपानीका लागि पाइप बिछ्याइएको छ ।


‘पानी आउँछ भन्दै पाइप बिच्छ्याएको वर्षौं भयो,’ स्थानीय हीरामाया परिवार भन्छिन्, ‘खै यी पाइपमा पानी कहिले आउने हो ?’ यहाँका महिलाको भन्दा फरक दैनिकी नभएको बताउने उनले खानेपानीका लागि बारम्बार सम्बन्धित निकायमा माग गरेको बताइन् । उनका अनुसार स्थानीयको माग कसैले सुनेनन् । ‘नसुनेका हुन् कि हाम्रो समस्या नबुझेका हुन् ?’ उनले प्रश्न गरिन् ।


हरिनासको यो गाउँमा खानेपानी व्यवस्थाबारे हालसम्म सरकारी तथा गैरसरकारी कसैको पनि ध्यान पुगेको छैन । सोही ठाउँकी धनमाया क्षत्रीको पनि समस्या उस्तै हो । बिहानीको उज्यालोसँगै पानीको सपना सज्जिएको बताउने उनले मानिसको लागि मात्र नभई चौपायाका लागि पनि पानी बोकेर नै पुर्‍याउनुपर्ने बताउँछिन् ।


‘नुवाइधुवाइ त खोलामा नै गरिन्छ’ उनले भनिन, ‘चौपायाका लागि पनि पानी बोक्नै पर्‍यो । घरवरिपरि थोरथोरै खेती लगाइएको हुन्छ । तरकारीमा राख्ने पानी पनि बोक्नुपर्छ ।’ उनले वर्षातको समय आकाशे पानीको भरमा जीवन बिताउनुपर्ने बताइन् ।


वर्षातको समयमा आउने पानीलाई ट्यांकीमा जम्मा गरेर प्रयोग गर्ने गरेको स्थानीयको भनाइ छ । वर्षातको भेलपानीलाई पोखरी बनाई रोकावट गरी तरकारी र चौपायाको लागि प्रयोग गरिने स्थानीय डम्बरबहादुर क्षत्री बताउँछन् । ‘हामीलाई त आकाशे पानी पर्दा साह्रै खुसी लाग्छ’ उनले भने, ‘झरी पर्‍यो भनेर अरू आत्तिन्छन्, हामी अब बाँच्ने भयौं भनेर हौसिन्छांै ।’ उनले खानेपानीको समस्याका कारण यस ठाउँका बासिन्दाको दैनिकी कहिलै नफेरिने बताए ।


खानेपानीको व्यवस्था नभएसम्म यहाँको अन्य विकासमा सम्भावना नरहेको उनी बताउँछन् । ‘यहाँका बासिन्दा विकास भन्ने शब्दबारे नै अनभिज्ञ छन्,’ उनले थपे । यहाँका स्थानीय विद्यालयमासमेत खानीपानी बोकेर पुर्‍याइन्छ ।


विद्यार्थीहरू आफ्नो झोलामा अनिवार्य पानीको बोतल लिएर जाने गर्छन् । गाउँकै एक मात्र माहिमा माध्यामिक विद्यालयमा पनि पानीको हाहाकार हुँदा निकै समस्या भएको प्रध्यानाध्यापक भवानी थापा बताउँछिन् । ‘पानी बोकेर स्कुल चलाएका छौं,’ उनी भन्छिन्, ‘स्कुल एउटा सामाजिक संस्था हो तर खानेपानीको व्यवस्थापन गर्न सकिएको छैन ।’


उनले सामाजिक संघ/संस्थाहरूमा खानेपानी सहयोग गर्ने सरकारी र गैरसरकारी संस्थाको ध्यान विद्यालयतर्फ गइदिए बालबालिकालाई ठूलो राहात मिल्ने बताइन् । बालबालिकाको सेवा नै धर्म रहेको बताउँदै उनी भन्छिन्, ‘हातमा कापी–कलम लिएर आउनसमेत नसक्ने साना भाइबहिनीलाई पानी खुवाउन नपाउँदा पीडा हुन्छ ।’ खानेपानी व्यवस्थापनका लागि स्थानीय सरकारसमक्ष हारगुहार गरेको बताइन् ।

प्रकाशित : पुस १०, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?