कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बढेन पुनर्निर्माणको गति

भूकम्पपीडित हिउँद र वर्षा बारीको कान्लाको टहरामा बिताउँदै 

स्याङ्जा — महाभूकम्पको करिब चार वर्ष पुग्यो । भूकम्पबाट स्याङ्जामा मानवीय क्षति नभए पनि भौतिक क्षति भएको थियो । भूकम्प गएपश्चात् पुनर्निर्माणका लागि जुटेको यतिका समय बितिसक्दा पनि कामले गति भने लिन सकेको छैन ।

भूकम्पको क्षेत्रमा काम गर्नका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ समिति गठन भए पनि काम ढिला भएको छ ।


घर भत्किएपश्चात् टहरा हालेर बस्दै आएका पीडितको समय फेरिए पनि अवस्था भने फेरिएको छैन । हिउँद र वर्षा बारीको कान्लामा बनाइएको टहरामा बिताएका छन् । घर बनाउनका लागि सरकारले अनुदानको व्यवस्था गरे पनि वास्तविक पीडित भने अनुदानबाट पिछडिएका छन् । नक्कली पीडितले पुराना र बस्न छाडिएका घर देखाएर सहयोग लिएका छन् ।


भूकम्प गएको लामो समयपछाडि पुनर्निर्माण प्राधिकरणको कार्यालय खुल्नु र समयमा प्राविधिक जिल्ला नआउनु नै प्रमुख कारण देखाइएको छ । इकाइ समितिका प्रमुख प्रवीण ढकाल भन्छन्, ‘जिल्लामा प्राविधिकको संख्या अझै कमी छ । पर्याप्त प्राविधिक नआउँदा सोचेअनुरूप काम गर्न सकिएको छैन । कामको गति बढाउन चाहे पनि कहिले के मिल्दैन कहिले के ।’ उनले भूकम्पबाट कम प्रभावित जिल्ला भएकाले पनि काम सुस्त गतिमा गएको बताए । ‘कम प्रभावित जिल्ला भएकाले नै कार्यालय ढिला स्थापना भएको हो’ उनले थपे, ‘जिल्लाका एघारवटा स्थानीय तहमा प्राविधिक अझै पुगेका छैनन् । गल्याङ नगरपालिका र हरिनास गाउँपालिकाले अझै पनि प्राविधिक माग गरिरहेका छन् । अन्य स्थानीय तहमा पनि केही काम चलाउन मात्र छन् ।’ उनले भूकम्प पीडितले राहतका लागि गर्नुपर्ने प्रक्रिया झन्झटिलो हुँदा पनि काम ढिला भएको बताए ।


कार्यालयका अनुसार पहिलो किस्ता लिनेहरू अझै बाँकी छन् । तेस्रो किस्ता भने बल्ल लैजान सुरु गरिएको छ । हालसम्म ८ जनाले मात्र तेस्रो किस्ता लगे । तीन लाख रुपैयाँ लिनयोग्य भूकम्पपीडितमध्ये जिल्लामा ८ हजार तीन सय ६५ जनाले लगे । दुई हजार एकसय ५ जनाले दोस्रो किस्ता लगेका छन् । प्रवलीकरणमा रहेका ५ सय ६७ मध्ये प्रथमले चारसय ७९ ले अनुदान रकम लगेका छन् । पहिलो किस्ता लैजानेको लागि समयसीमा खुलेको कार्यालयले बतायो ।


जिल्लामा कति भूकम्पतपीडितको घर निर्माण भए भन्ने इकाइ समितिमा कुनै अभिलेख छैन । कार्यालय प्रमुख ढकालका अनुसार तेस्रो किस्ता नलगेसम्म र प्राविधिकले एकिन डाटा नदिएसम्म कति घर निर्माण भए भन्नेबारे भन्न सकिँदैन ।


‘हाम्रो कार्यालयको अनुमान अनुसार तीन हजारको हाराहारीमा घर निर्माणाधीन अवस्थामा छन्’ उनले दोहोर्‍याए, ‘दुई हजार २५ सय घरको निर्माण कार्य सम्पन्न भएका छन् ।

लाभग्राही सूचीमा परेर सम्झौता गर्न बाँकी लाभग्राहीले स्थानीय तहमा सम्झौता गरी प्रथम किस्ताका लागि समयसीमा खुला गरिएको छ । दोस्रो किस्ताका लागि पुस मसान्तसम्म समयसीमा खुलेको थियो ।’ लाभग्राहीबाट बारम्बार गुनासो आउने क्रम अझै पनि जारी छ । वास्तविक भूकम्पपीडित भएर पनि छुटेकाहरूको हकमा फारम भर्ने र सर्वेक्षण गर्ने कार्य सुरु भएको कार्यालयले जनाएको छ । लाभग्राहीको सूचीमा नाम समावेश भएर वैदेशिक रोजगारीका लागि जानेको संख्या थुप्रै छ । कार्यालयका अनुसार कतिपय लाभग्राहीको मुत्यु भएको छ । कतिलाई जानकारी नै छैन भने पुरानो घरमा बसोबास गर्दै आएकाहरू नयाँ घर बनाउनतर्फ आकर्षित भएका छैनन् ।


स्याङ्जामा ८ हजार ७ सय ६६ पीडित ३ लाख रुपैयाँ पाउनयोग्य छन् । प्रबलीकरणको सूचीमा ५ सय ६७ जना रहेको प्राधिकरणले जनाएको छ । लाभग्राही सूचीमा नपरेको भन्दै ४९ सय ३९ जनाले गुनासो फारम भरेका छन । संकलित गुनासो फारम केन्द्रमा सिफारिस गरिएको प्राधिकरणले जनाएको छ ।


पहिलो किस्ता ५० हजार रुपैयाँ बुझेपछि लाभग्राहीले घर बनाउन थाल्ने, ढोका र झ्याल राखेपछि दोस्रो किस्ताबापतको १ लाख ५० हजार पाउने र अन्त्यमा छानो छाएपछि अन्तिम किस्ता १ लाख रुपैयाँ पाउने प्रावधान रहेको छ । त्यति मात्र होइन उनीहरूले क्षतिग्रस्त घर अनिवार्य रूपमा भत्काएको हुनुपर्छ ।

प्रकाशित : पुस ११, २०७५ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?