कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

दृष्टिविहीनलाई यात्रामा सकस

बिना थापा

कास्की — कालो चश्मा सेतो छडी लिएर बसलाई हात तेर्स्याउँछन् । चालकले बस रोक्छन् । उक्लेपछि छडीधारी उभिन बाध्य हुन्छन् । अपांगता भएकाका लागि बसमा आरक्षित सिट भए पनि सपांगले नछाडिदिएपछि उनीहरू चुप लागेर सकपूर्ण यात्रा गरिरहेका भेटिन्छन् । 

दृष्टिविहीनलाई यात्रामा सकस

‘आफ्नो साधन छैन, बसमै आवतजावत गर्नुपर्छ,’ दृष्टिविहीन लक्ष्मी परियारले भनिन्, ‘नगरबसमा मान्छेको भीड हुने नै भयो । बुझेर सिट छाड्नु कहाँ गयो, छाडिदिन आग्रह गर्दासमेत हामीलाई नै अप्ठ्यारो छ, भन्छन् ।’


विवाद गर्नुभन्दा असजिलो भए पनि नबोली यात्रा गर्ने गरेको उनले बताइन् । घाँटीछिना पामेदेखि हल्लनचोकसम्म नगरबसमा झुन्डिएर आइपुग्दा गाह्रो हुने उनको अनुभव छ ।


‘खासमा गाडीका स्टाफले अरू पेसेन्जरलाई अनुरोध गरे मान्थे होलान्,’ उनले भनिन्, ‘त्यसरी अनुरोध गरेर सिट मिलाइदिने स्टाफ र आफ्नो सीट छाडेर हामीलाई बस भन्ने पेसेन्जर निकै कम भेटिन्छन् ।’ यात्रामा असुविधा भए पनि बोल्दा विवाद हुने सम्झेर आफू चुप लाग्ने उनले बताइन् ।


पोखरामा नगर बसको सुविधा छ । सबैमा भित्र जेष्ठ नागरिक, महिला र अपांगता भएकाका लागि सिट आरक्षित रहेको सूचना पनि छन् । यस्ता बसमा यात्रा गरिरहनेमध्येकी अर्की दृष्टिविहीन हुन् लज्जावती रानाथारू । ‘सुरुमा कहाँ समातेर उभिने भन्ने नै अलमल हुन्छ,’ उनी भन्छिन्, ‘दयालु परेछन् भने सिट छाडेर हामीलाई बसाउँछन् । तर, धेरैपल्ट सजिलै बस्न पाइँदैन ।’


अधिकार पाउनुपर्छ भनेर दृष्टिविहीनले सम्बन्धित निकायमा कराउनुभन्दा समाजले बुझेर सिट छाड्ने बानी पार्नुपर्ने उनले बताइन् । ‘हरेक कुरामा प्रशासनले कडाइ गरेपछि मात्रै सबैले मान्ने बानी कसरी पर्छ ?’ उनी भन्छिन्, ‘कति ठाउँमा त सजिलो पनि छ । हामीलाई सिट दिने, बाटो कटाइदिने मद्दत पनि मिल्छ तर, सबैको बानी उस्तै हुँदैन ।’ सार्वजनिक सवारीमा अपांगता भएकाहरूको सुविधामा ध्यान दिइनुपर्ने उनले बताइन् ।


नगरवसका सहचालक सोमबहादुर घलेको अनुभवमा यात्री थरीथरीका हुन्छन् । ‘आरक्षित सिट होस् नहोस्, कोही–कोही आँखा नदेख्ने र अपांग चढ्दा झट्टै सघाउने खालका हुन्छन्,’ उनले भने, ‘कोही–कोही सिट मरे छाड्न मान्दैनन् ।’


गाडीका कर्मचारीले सम्झाए कहिलेकाहीं झगडा नै पर्ने स्थिति हुने उनले बताए । ‘यो त मानवीयताको कुरा हो, कसले कसलाई सम्झाइरहनु पर्ने हो र,’ उनले भने, ‘अरूका कुरा जान्दिनँ । महिला, बूढाबूढी र अपांगलाई सिट मिलाइदिन मचाहिँ सहयोग नै गर्छु ।

प्रकाशित : पुस १२, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?