१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

८० वर्षीयको नागरिकता बनेन

‘न घर न त आफन्त र वंशज खुल्ने कुनै कागज नै छ । कानुनी प्रक्रिया पुर्‍याउन गाह्रो परेरै उनको नागरिकता बन्न नसकेको हो’
विना थापा

कास्की — उनको बैंस लेकमा अर्काका बस्तुभाउ चराउँदै बित्यो । तन्नेरीछँदा खान–सुत्न पाए अरू थोक चाहिएको थिएन । 

८० वर्षीयको नागरिकता बनेन

जीउमा बल घटेपछि गोतामे कान्छा भनिने ८० वर्षीय प्रसाद गौतम लेकबाट झरेका छन् ।

न घर छ, न सहोदर आफन्त । अहिले नागरिकता मात्रै भएको भए पनि वृद्धभत्ताको सहारामा हात–मुख जोर्न सकिने रहेछ भन्ने थाहा भएको छ । बोली प्रष्ट छैन ।


बलको काम गरिखाने ज्यान पनि छैन । यतिबेला नातामा टाढाका भाञ्जा पर्ने पोखरा–२३ हर्पणका कमल पराजुलीले उनलाई सहारा दिएका छन् । माछापुच्छ्रे गाउँपालिका–१ का गौतमका लागि नागरिकता बनाइदिने प्रयास नभएको पनि होइन ।


तर, न उनका मातापिताको पत्तो छ, न दाजुभाइ जीवित नै छन् । जनप्रतिनिधि र कर्मचारी उनको सनाखत गरिदिनेको अभावमा नागरिकता बनाइदिन प्रमाण नपुग्ने तर्क गर्छन् । पराजुलीले पनि मामाको नागरिकताका लागि प्रयास नगरेका होइनन् तर कर्मचारीले प्रमाण अभाव बताउँदै कागज फर्काइदिने गरेका छन् ।


बुबाआमाको नाम हिमलाल र बाटुली हो भन्ने गौतमलाई सम्झना छ । ‘हामी तीन भाइ हौं,’ उनले भने, ‘माइला दाइ र मैले बिहे नै गरेनौं । दाजुहरू बितेपछि म एक्लो भएँ ।’ शरीरमा तागत होउन्जेल उनलाई नागरिकताको आवश्यकता परेको थिएन । ‘माथि लेकमै धेरै वर्ष गोठमा बसियो, तल गाउँका मान्छेसँग संगत पनि भएन,’ उनले भने, ‘तल झरेपछि थाहा पाइयो, बूढो भइएछ । सहारा चाहिने रहेछ, घर पनि चाहिने रहेछ ।’


उनलाई गाउँपालिका अध्यक्ष र वडाध्यक्षले पनि नचिनेका होइनन् तर कागजमा चिन्छौं भन्ने साक्षी बसिदिनेको अभावमा नागरिकताको प्रमाणपत्र बन्न सकेको छैन । ‘मैले नागरिकता बनाइदिन कति कोसिस गरें तर भएन,’ पराजुलीले भने, ‘पहिले–पहिले सचिवकहाँ धाइयो । नयाँ व्यवस्थापछि वडाध्यक्षकहाँ पनि पुगेको हो । वंशजको प्रमाण नपुग्ने भन्दै बनाइदिएनन् ।’


पराजुलीपत्नी विष्णुमायाले पनि धेरै प्रयास गरेको बताइन् । ‘नभएको प्रमाण कहाँबाट ल्याउने ?,’ उनले भनिन्, ‘उहाँको घर भए, सहोदर आफन्त भए पनि बन्ने रहेछ । नभएका आफन्त कता खोज्न जाने ?’ पछिल्लोपटक पराजुली दम्पतीले गौतमलाई नागरिकता दिलाउन माछापुच्छ्रे–१ का वडाध्यक्ष वीरेन्द्र गुरुङलाई भेटेका थिए । प्रमाण नपुगेका कारण प्रयास गरेर पनि दिलाउन नसकिने स्थिति रहेको जवाफ पाएका थिए ।


‘वडाले सिफारिस पठाएका कागजातमा री–चेक आइरहन्छ,’ वडाध्यक्ष गुरुङले भने, ‘उनलाई सनाखत गर्ने मान्छे नै भएनन् ।’ स्थानीयलाई साक्षी राखेर जिल्ला प्रशासनले नागरिकता दिन मिल्ने जानकारी पठाए केही गर्न सकिने उनले बताए । ‘गोतामे कान्छालाई म राम्रैसँग चिन्छु तर यतिबेला उनको ठेगाना लेख्न घर छैन,’ गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ भन्छन्, ‘न घर न त आफन्त र वंशज खुल्ने कुनै कागज नै छ । कानुनी प्रक्रिया पुर्‍याउन गाह्रो परेरै उनको नागरिकता बन्न नसकेको हो ।’


कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले प्रमाण पुर्‍याउने कुनै पनि कागजात ल्याउन सके नागरिकता बनाइदिन सकिने बताए ।

प्रकाशित : पुस १२, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?