कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

किस्ता फिर्ता गर्दै भूकम्पपीडित

हरिराम उप्रेती

गोरखा — सरकारी अनुदान बुझेर घर नबनाउने भूकम्पपीडितले किस्ता फिर्ता गरेका छन् । पुनर्निर्माण प्राधिकरणले दिएको पुस १५ को समयसीमामा यहाँका १२ भूकम्पपीडितले पहिलो किस्ताको ५० हजार फिर्ता गरेका हुन् । 

किस्ता फिर्ता गर्दै भूकम्पपीडित

किस्ता फिर्ता गर्ने अधिकांशले अन्यत्र बस्नयोग्य घर भएको कारण पेश गरेका छन् । गण्डकी गाउँपालिका–३ का धनबहादुर श्रेष्ठले चितवनमा अर्को घर निर्माण गरिरहेको अवगत गराउदै रकम फिर्ताको निवेदन पेश गरे ।


सरकारले दिएको तीन लाखले नयाँ घर निर्माण गर्न नसकिने कारण देखाउँदै गोरखा नगरपालिका–६ की सन्तमाया श्रेष्ठले शुक्रबार पहिलो किस्ताको ५० हजार फिर्ता गरिन् । ‘सरकारले दिएको तीन लाखले घर बन्दैन ।


आफूसँग पनि पैसा नभएकाले घर निर्माण गर्न नसकेको कारण सरकारी रकम फिर्ता गरेकी छु,’ उनले निवेदनमा खुलाएकी छन् । किस्ता रकम बुझेर घर बनाइरहेका भूकम्पपीडितले पनि सरकारले दिएको तीन लाखले दुइकोठे घर बनाउन नपुग्ने बताउँदै आएका छन् ।


राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधारको कार्यालयका अनुसार समयसीमा सकिँदा केही पीडित किस्ता रकम फिर्ताका लागि निरन्तर सम्पर्कमा छन् । गण्डकी गाउँपालिका–२ ताङलीचोकका भीमबहादुर राना र गीता गुरुङले पहिलो किस्ताको ५० हजार रकम फिर्ता गरेको इकाइका इन्जिनियर शैलेन्द्र भट्टले बताए ।


पालुङटार नगरपालिकाका रामचन्द्र देवकोटा, बाबुराम गिरी, खडगबहादुर थापा, डिलमाया मगर, टेकबहादुर राना र चन्द्रकुमारी रानाले समयसीमाभित्रै रकम फिर्ता गरेका छन् । गण्डकी गाउँपालिकाका सरोजकुमार श्रेष्ठ, धनबहादुर श्रेष्ठ र रणबहादुर श्रेष्ठ, गोरखा नगरपालिकाकी सन्तमाया श्रेष्ठले किस्ता फिर्ता गरेको भट्टले बताए ।


किस्ता फिर्ता गर्न चाहनेले अनुदान सम्झौता नम्बर र कारण खुलाएर इकाइ वा वडा कार्यालयमा निवेदन दिन सक्ने प्रावधान छ । ‘राष्ट्रिय वाणिज्य बैंकमा गएर पैसा जम्मा गरेको भौचर ल्याएपश्चात रकम फिर्ता गरेको प्रमाण दिन्छौँ,’ इञ्जिनियर भट्टले भने ।


राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको गत भाद्र २१ मा बसेको बैठकले घर नबनाउने पीडितलाई किस्ता रकम फिर्ता गर्न समयसीमा दिएको थियो । भूकम्पले क्षतिग्रस्त भएका घरबाहेक सोही वा अन्य स्थानमा बस्न योग्य घर भए झुटा विवरण पेश गरि अनुदान लिए फिर्ताको लागि सार्वजनिक सूचना जारी भएको थियो ।


दोहोरो अनुदान लिनेलाई पनि फिर्ता गर्न भनिएको इकाइका प्रमुख रामशरण आचार्यले बताए । ‘समयसीमा सकियो, किस्ता फिर्ता गर्ने समय थप हुन्छ हँुदैन निर्देशन आएको छैन । अहिले सम्पर्कमा रहेकाहरूले फिर्ता गर्न चाहे फिर्ता हुन्छ,’ उनले भने, ‘अब प्राधिकरणबाट पनि कुनै निर्देशन आउला । झुटा विवरण पेश गरि अनुदान लिएको पाए सरकारी बाँकी सरह असुलउपर हुन्छ ।’


पहिलो किस्ता लगेर घर नबनाउने भूकम्पपीडितको पहिचान गर्न स्थानीय तहलाई भनिएको इकाइले जनाएको छ । ‘लाभग्राही सूचीमा नाम हुने र अनुदान सम्झौता नगर्ने पनि छन्,’ प्रमुख आचार्यले भने, ‘उनीहरूले के कारणले अनुदान सम्झौता गरेनन् । खोजी गर्न स्थानीय तहलाई भनेका छौं ।’


घरको आवश्यकता नहुनेले किस्ता लगेपनि घर नबनाएको हुनसक्ने प्राविधिकहरू बताउँछन् । ‘तीन लाखले नपुग्ने भन्दै घर बनाउन आँट नगर्ने र अहिलेसम्म पनि दोधारमै बस्नेहरू पनि पायौं,’ उनले भने । २०७२ वैशाख १२ को भूकम्पको केन्द्रविन्दु जिल्लामा हालसम्म ४२ हजार ४ सय ४७ घर निर्माण भएका छन् ।


निर्माणाधीन अवस्थामा रहेका ५२ हजार ९ सय ७५ पीडितको खातामा दोस्रो किस्ताको रकम निकासा भएको इन्जिनियर भट्टले बताए । ६५ हजार ६ सय ६७ घर पुनर्निर्माण तथा ५ हजार २ सय ६ लाभग्राही प्रवलीकरण सूचीमा समावेश छन् ।

प्रकाशित : पुस १७, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?