सडक खन्न हतार, बनाउन आलटाल

फराकिलो बनाउने, खानेपानी पाइप बिछ्याउने, ढल निर्माण र मर्मत गर्ने बहानामा खनेका सडकमा पानी परेका बेला हिलो र घाम लागेका बेला धूलोको सास्ती

स्याङ्जा — सिदार्थ राजमार्गअन्तर्गत स्याङ्जा सडकखण्डमा विभिन्न बहानामा पटक–पटक सडक खनिन्छन् । कहिले फराकिलो बनाउने, कहिले खानेपानीको पाइप बिछ्याउन, ढल निर्माण तथा मर्मतका लागि र कहिले टालटुलसँगै गिट्टी छाप्ने बहानामा सडक भत्काउने गरिन्छ । खनिएका सडक भने समयमै पुनर्निर्माण कहिल्यै गरिँदैन । 

सडक खन्न हतार, बनाउन आलटाल

यसले गर्दा पानी परेको बेला हिलो र घाम लागेको बेला धूलोको सास्ती बेहोर्न स्थानीयवासी बाध्य छन् । पटकपटक खनिएका सडक समयमै मर्मत नभएपछि खाल्डाखुल्डी बढेका छन् । सामान्य पानी पर्नेबित्तिकै सडक आहालमा परिणत हुने गरेको छ । राजमार्गअन्तर्गत स्याङ्जा र कास्कीको सिमाना कुबिन्डेदेखि पाल्पा जिल्ला जोड्ने राम्दीसम्म सडकको अवस्था दर्दनाक छ ।

राजमार्गअन्तर्गत स्याङ्जामा पाँचवटा स्थानीय तह पर्दछन् । यस जिल्ला अन्तर्गत राजमार्गको प्रत्यक्ष रेखदेख सडक डिभिजन कार्यालय पोखराले गरेको हुन्छ । डिभिजन कार्यालय र स्थानीय तहबीच सहकार्यमा राजमार्गका घुम्ती कटान गरिएको हो । विशेषगरी ठूला र घुमाउरा घुम्ती काट्ने बहानामा फेदीखोला, जिल्ला सदरमुकाम पुतलीबजार र जिल्लाकै ठूलो व्यापारिक केन्द्र वालिङ नगरपालिकाभित्रका बजारलाई लक्षित गरी सडक विस्तार गरिएको छ । तर, सडकबाट माटो, ढिस्का फाल्ने काम भने गरिएको छैन ।


यसो त निर्माण कार्यको बहानामा राजमार्गमा नै निर्माणाधीन सामग्री राखिएको हुन्छ । जसका कारण दुर्घटना बढ्नुका साथै पैदल यात्रुले सास्ती भोग्नुपरेको स्थानीय बताउँछन् । सडक फराकिलो बनाउन डोजर प्रयोग गरेदेखि हिलो र धूलोको सास्ती व्यहोर्नुपरेको वालिङ नगरपालिका–८ निवासी सुशील अर्याल बताउँछन् ।


‘राजमार्ग ८ मिटर कायम गर्ने उद्देश्यले सडक चक्लाइएको भए पनि समयमै व्यवस्थित गर्न नसक्दा हिलो र धूलोमा बस्नुपरेको छ’ उनले भने, ‘वर्षातको समयमा घुम्ती काट्ने, घरका पेटी भत्काउने कार्य त भयो तर हालसम्म भत्काइएका घरटहरा बनाउन, सडकबाट माटोढुंगा फाल्न र आवश्यकताअनुसार नाली बनाउने र सडक पिच र ढलानसँगै सडकमा झुन्डिएका घर व्यवस्थित भएनन् ।’ उनले सडक खन्न हतार गरे तापनि बनाउनका लागि सम्बन्धित निकायले नै आलटाल गरेको आरोप लगाए ।


पानी पर्नेबित्तिकै खाल्डाखुल्डीमा पानी जम्ने कारणले गर्दा तीव्र गतिमा गुडेर आएका सवारीसाधनले पैदलयात्रुलाई पानी छ्यापिदिने गर्छन् । महिला, बालबालिका, वृद्धवृद्धा, विद्यार्थी हिलो र धूलोको निकै मारमा पर्ने गरेको उनले गुनासो गरे । ‘विद्यालय जाने समयमा पानीले छ्यापेर विद्यार्थीको स्कुल ड्रेस नै निथु्रक्कै भिजाइदिन्छन्’ उनले भने, ‘ती विद्यार्थीका लागि गर्न त केही सकिँदैन तर देख्दा धिक्कार लाग्छ । सडकभरि खाल्डाखुल्डी मात्र छन् ।’


खाल्डाखुल्डी पुर्ने बहानामा डोजर लगाएर माटो राखिदिने भएकाले पनि घुम्ती कटान नगरिएका स्थानमा समेत धूलो र हिलोको समस्या रहेको स्थानीयको भनाइ छ । स्याङ्जामा मात्रै करिब १५ वटा ठूला घुम्तीहरू कटान गरिएको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ । इन्जिनियर प्रेमप्रकाश खत्रीका अनुसार गत आर्थिक वर्षमा सडक मर्मत तथा सम्भारका लागि विनियोजित रकम बचेकाले सोही रकम घुम्ती कटानमा सदुपयोग गरिएको हो ।


‘वर्षामा सडक खनिए पनि हिउँदमा मर्मत गर्ने लक्ष्य हो’ खत्री भन्छन, ‘यसका लागि छुट्टै बजेट विनियोजित हुनुपर्छ । वर्षातको समयमा जोखिम स्थानको मात्र नाली उकास्ने, सडकमर्मत गर्ने गरिएको छ ।’ यसो त स्थानीय सरकार पनि सडक फराकिलो बनाउन डोजर प्रयोग गर्छन् तर बनाउनतर्फ ध्यान दिएका छैनन् । जिम्मेवार निकाय सडक डिभिजन कार्यालय भएकाले पनि स्थानीय तह मौन भएको हुनसक्ने समाजका अगुवा बताउँछन् ।


डिभिजन कार्यालयले रकम सहयोग गरे पनि स्थानीय तहले डोजर, चालक र तेलको व्यवस्थापन गरेको वालिङ नगरप्रमुख दिलीपप्रताप खाँड बताउँछन् । पुतलीबजार नगरप्रमुख सीमा क्षत्रीका अनुसार सडक फराकिलो बनाउनका लागि आवश्यकताअनुसार बजेट नगरपालिकाले पनि खर्च गरेको छ ।


वालिङ, पुतलीबजार र फेदीखोलाको बजार आसपासमा सडक चक्लाइएको हो । नखनी नहुने र आवश्यक परेका स्थानमा खन्न पाइन्छ । स्थानीय तहले यो नियम बनाएर काम अगाडि बढाएको बताएको छ । राजमार्गमा डोजर लगाउँदा मापन नगरेका कारण र ग्रामीण भेगमा लैजानका लागि बिनास्वीकृति खनिएका सडकका कारण थप जोखिम बढेको छ । ढुंगा झुन्डिएको अवस्थामा रहँदा राजमार्गमा ओहोरदोहोर गर्दासमेत जोखिम मोल्नुपर्ने पुतलीबजारका स्थानीय व्यवसायी रविन केसी बताउँछन् ।


प्रकाशित : पुस १८, २०७५ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?