कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

५२ वडा समेटेर सुन्तला क्षेत्र

पर्वत, म्याग्दी र बागलुङका ७ वटा स्थानीय तहका ५२ वडा समेटेर सुन्तला जोन कार्यक्रम
दिप्ती सिलवाल

पर्वत — सुन्तला उत्पादनका पकेट क्षेत्रका रूपमा मानिएका धौलागिरिका तीन जिल्लाका विभिन्न वडा समेटेर प्रवद्र्धनका एकीकृत कार्यक्रम सुरु भएका छन् ।

५२ वडा समेटेर सुन्तला क्षेत्र

पर्वतको जलजला गाउँपालिका, म्याग्दीको बेनी नगरपालिका, अन्नपूर्ण, रघुगंगा, मालिका गाउँपालिका, बागलुङको बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकालाई समेटेर सुन्तला जोन बनाउन लागिएको हो ।


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पर्वत, म्याग्दी र बागलुङका सातवटा स्थानीय तहका ५२ वडा समेटेर जोन कार्यान्वयन हुन लागेको हो । कृषिमा आधुनिक प्रविधि भित्र्याएर उन्नत जातको कृषि प्रणालीमार्फत आत्मनिर्भरता बढाउने उद्देश्यले चार वर्षअघि सुरु भएको परियोजनाअन्तर्गत तरकारी तथा फलफूलमा सुपरजोन, जोन, ब्लक र पकेट क्षेत्रमा विशेष कार्यक्रम सुरु भएको छ । कार्यक्रमअन्तर्गत जोन कार्यान्वयन हुनका लागि कम्तीमा ५ सय हेक्टर जमिनमा खेती गरिएको हुनुपर्छ । तीन जिल्लाका ५२ वडामा करिब १ हजार ५ सय हेक्टरमा खेती गरिएको अनुमान छ ।


जोन कार्यान्वयन गर्न हालै म्याग्दीको बेनीमा सुन्तला जोन कार्यान्वयन इकाइ कार्यालय सञ्चालनमा ल्याइएको छ । इकाइ प्रमुख वरिष्ठ कृषि अधिकृत बमबहादुर थापाका अनुसार सुन्तला जोन ८ वर्षसम्म सञ्चालन हुनेछ । ‘भर्खरै कार्यक्रम सुरु भएकाले तथ्यांक लिने काम गरिरहेका छौं,’ उनले भने, ‘आगामी वर्षदेखि क्षेत्र विस्तारका काम गर्नेछौं ।’


जोन कार्यान्वयन इकाइ कार्यालयले अभिमुखीकरण, तथ्यांक संकलन, सुन्तला समिति गठन र जोन सञ्चालक समिति गठन भइसकेको छ । उत्पादन वृद्धिका लागि बिरुवा बढाउन व्यावसायिक किसानलाई तालिम सञ्चालन सुरु गरिसकेको जोन सञ्चालक समितिका अध्यक्ष खिमबहादुर थापाले बताए ।


जोनमा म्याग्दीको बेनी नगरपालिका, रघुगंगा, मंगला, अन्नपूर्ण र मालिका गाउँपालिका, बागलुङ जिल्लाका बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका तथा पर्वतको जलजला गाउँपालिकाका ५२ वटा वडालाई समेटिएको छ । कार्यक्रममार्फत नर्सरी स्थापना, बिरुवा उत्पादन, प्राविधिक सहयोग, कृषि बजार केन्द्र स्थापना, प्रशोधन केन्द्र, संकलन तथा ग्रेडिङ गर्ने गोदाम, सिँचाइ, कृषि औजार, यन्त्र उपकरण, प्रदर्शनी र बजारीकरणलगायतका क्षेत्रमा सहयोगका कार्यक्रम छन् ।


‘जोनका कृषकलाई ५० देखि ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराउने व्यवस्था हुन्छ,’ कृषि ज्ञानकेन्द्रका प्रमुख वासुदेव रेग्मीले भने, ‘अनुदान जोन इकाइ समितिको सिफारिसअनुसार हुन्छ ।’ कार्यक्रमको मर्मअनुसार जोनका कार्यक्रम अघि बढे आठ वर्षभित्र अहिलेको उत्पादन तीन गुणाले बढ्ने उनले दाबी गरे ।


ज्ञानकेन्द्रको पर्वतस्थित कार्यालयले पर्वत र बागलुङमा कृषिमा काम गरिरहेको छ । अहिले पर्वतको जलजलाबाट वार्षिक ४ करोडको सुन्तला उत्पादन हुन्छ । म्याग्दीको बेनी, मालिका, रघुगंगा, अन्नपूर्ण र मंगलाबाट वार्षिक १२ करोडको सुन्तला उत्पादन र बिक्री हुन्छ । बागलुङको बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाबाट ८ करोडको सुन्तला बिक्री हुने गरेको छ ।


बेनी नगरपालिकाको भकिम्ली, बास्कुना, बागलुङ नगरपालिकाको भकुन्डे र सिगाना, काठेखोला गाउँपालिकाको रेश र बिहुँ, जलजला गाउँपालिकाको बाँसखर्क, मल्लाज, शालिजा र वनौमा कार्यक्रम लागू हुने भएको छ । यसैगरी रघुगंगा गाउँपालिकाको बेग, भगवती, पीप्ले, मंगलाको कुहुँ, बाबियाचौर, बरन्जा र अर्मन, मालिकाको देवीस्थान र बिम पनि जोनमा समेटिएको छ ।


कार्यक्रम सञ्चालन गर्न चालु वर्ष ८४ लाख रुपैयाँ बजेट प्राप्त भएको जोन इकाइ कार्यालयले जनाएको छ । ‘२४/२५ लाख कर्मचारीको तलबभत्तामै खर्च हुन्छ,’ इकाइ प्रमुख थापाले भने, ‘बाँकी रकम पुँजीगतमा खर्च गर्ने हो ।’ सुन्तला जोनमा समेटिएका सबै वडा यसअघि ब्लक र पकेट क्षेत्र हुन् ।


सुन्तलाको व्यावसायिक खेतीमा लागेका यस क्षेत्रका कृषकहरू सुपर जोन बनाउने प्रयास भएकोमा उत्साहित छन् । जलजला–१ बाँसखर्कका भक्तबहादुर पाइजाले सरकारले अनुदान, बजारीकरणको व्यवस्थासँगै कोल्ड स्टोरको व्यवस्था गर्ने हो भने सुन्तलाले प्रदेशको अर्थतन्त्रमा सहयोग पुग्ने दाबी गरे । ‘यहाँका सुन्तला ३ र ५ नम्बर प्रदेशमा पनि बिक्ने गरेका छन्,’ उनले भने, ‘उत्पादन बढाउन सके अरू प्रदेशमा पनि पठाउन सकिन्छ ।’

प्रकाशित : पुस २१, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?