१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

शपथ खुवाउन माग गर्दै मनाङे प्रदेशसभामा 

लालप्रसाद शर्मा

पोखरा — आफूलाई प्रदेशसभा सदस्यको रुपमा शपथ खुवाउन कुनै पनि कानुनले रोकतोक नलगाएको भन्दै दीपक मनाङे गण्डकी प्रदेशसभामा आएका छन् । उनले सभामुख नेत्रनाथ अधिकारीलाई सोमबार भेटेर आफू लामो समयसम्म कुरेको र अब कुर्न नसक्ने भन्दै छिटो निर्णय दिन अनुरोध गरेका थिए ।

शपथ खुवाउन माग गर्दै मनाङे प्रदेशसभामा 

बिहान ११ बजे प्रदेशसभामा सचिवालयमा पुगेका गुरुङले सभामुख अधिकारी, उपसभामुख सिर्जना शर्मालगायतसँग भेटेका थिए । उक्त अवसरमा कुनै पनि कानुनले आफूलाई शपथ खानबाट नरोकेको बताउँदै उनले बढी समय कानुनी कुरामै खर्चिएका थिए ।


शपथ छिटो गराउने या नगराउने हो भने लिखित रुपमा दिनुपर्ने उनको भनाई थियो । ‘शपथ नखुवाए पनि म राजीनामा दिन्छु । मलाई नेता हुनु छैन,’ सभामुख अधिकारीसँग गुरुङले भने, ‘संघीय संसदमा जेलमा परेको मान्छेले शपथ खान हुने । म ज्यानमारा वा अन्य कुनै ठूलो अपराधमा संलग्न व्यक्ति नभएको र जेलमुक्त समेत भइसकेकाले शपथ खुवाउनुस् ।’


मनाङेसँगको कुराकानीपछि सभामुख अधिकारीले शपथ खुवाउने नखुवाउने विषयमा फेरी परामर्श थालेका छन् । उनलाई आएको राय सुझावमा एकरुपता छैन । कानुनी कुरा पनि स्पष्ट नहुँदा विषय जटिल भएको अधिकारीको भनाई छ । ‘यस विषयमा म फेरी छलफलमा छु । भोली (मंगलबार) सम्ममा एउटा निर्णयमा पुगिनेछ,’ सभामुख अधिकारीले भने ।


स्रोतहरुका अनुसार मनाङेको शपथ हुने सम्भावना बढेको छ । उनले सभामुख लगायतसँगको भेटमा ‘दमदार’ रुपमा कानुनी व्याख्या गरेका थिए । उनको प्रस्तुतिपछि सभामुख लगायत केही मन्त्री र सांसदहरु समेत सकरात्मक देखिएका छन् ।


सभामुख अधिकारी कार्यव्यवस्था परामर्श समितिको आइतबारको बैठककका सहभागी सदस्यले कानुन अनुसार जान सुझाव दिएपछि तत्काल शपथ नखुवाउने निष्कर्षमा पुगेका थिए । यसको समाचार सार्वजनिक भए लगत्तै सोमबार बिहान ३ बजे गुरुङ पोखरा आएका थिए ।


सभामुख लगायतसँगको भेटपछि मनाङेले दुई सय प्रतिशत् ‘कन्भिन्स’ गराएको दाबी गरे । ‘मेरो समानुपातिक पद होइन, प्रत्यक्ष निर्वाचितको प्रमाणपत्र भएको सदस्य हुँ’ सञ्चारकर्मीसँग उनले भने, ‘राजदूत र कुनै संस्थाको जिएम बनाउन लागे जस्तो गरिएको छ ।’


२०७१ को मुद्दा चुनावका बेला खोज्नुपर्नेमा अहिले खोजिएको भन्दै उनले शपथ नगराए पनि सर्वोच्चमा जाने कुनै योजन नभएको सुनाए । उनले छलफलमा कानुनका सबै कुरा प्रष्टाएको बताए ।


मेरो सपथप्रति कसैलाई चित्त नबुझे ऊ अदालत जाने हो भन्दै उनले आफ्नो कैद सजाय पनि पुरा भएको बताए । ‘छलफलका क्रममा सबैजना सकरात्मक देखे । लिखित रुपमा मागेको छु’ उनले भने, ‘शपथ नगराए अदालत नभई अख्तियार जानेछु ।’ उनले कर्मचारीको कारण देशको हालत खराब भएको र परिवर्तनको अनुभूति हुन नसकेको बताए ।


रौतहटका एक मेयर जेलमुक्त भएर हेलिकप्टरमा गएर बिदासमेत दिएको प्रसंग उल्लेख गर्दै मानाङेले आफूले मनाङमा बिदा नदिएको बताए । उनले शपथ आफ्नो अधिकार भएकाले मुख्यमन्त्रीसँग कुनै सरोकार नरहेको जिकिर गरे । उनले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायत सांसदसँग पनि भेटघाट गरेका थिए । गत वर्षको प्रदेशसभा निर्वाचनमा उनी मनाङ (ख) बाट स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भएका थिए ।

प्रकाशित : पुस २३, २०७५ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?