१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

हेर्दा हेर्दै आएन जहाज !

आश गुरुङ

लमजुङ — करिब ५ वर्षपछि हिमाली जिल्ला मनाङमा हवाईजहाज आउने खबरले स्थानीय खुसीसँगै दंग थिए । पुस २४ (मंगलबार) को पर्खाइमा उनीहरू माथिल्लो मनाङको हुम्डेस्थित विमानस्थल वरपर घुम्थे ।

हेर्दा हेर्दै आएन जहाज !

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पुस ८ मा नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूसँग बैठक बसेर मनाङमा उडान नियमित गराउने निर्णय गरेका थिए ।


चिसोले अधिकांश मनाङी सहर झरे पनि गाउँमा भएका र सहर झरेका समेत गाउँ गएर हवाईजहाजमा आउने पाहुना स्वागतको तयारीमा जुटे । ‘हेर्दाहेर्दै जहाज त आएन । हामी प्रतीक्षा गर्नेमात्रै भयौं,’ मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले भने, ‘पहिले पनि आउँछ भन्दै थिए । आएन । अब पनि आउँछ वा आउँदैन, निश्चित छैन ।’


मंगलबार आउने भनिएको जहाज नआउने भनेर सोमबार निर्णय भएको जानकारी पछि मात्रै थाहा पाएको उनले बताए । ‘आज (मंगलबार) को मौसम नहेरी हिजै (सोमबार) नआउने निर्णय गर्‍यो रे,’ उनले भने, ‘आज त यहाँ आकाश खुल्ला छ । रन–वेको सबै हिउँ बिहानै पग्लिसक्यो । नआउने निर्णय भएपछि आएन होला ।’


प्राधिकरणले मंगलबार समिट एयरको लेट जहाजलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित १९ यात्रु लिएर मनाङको हुम्डे विमानस्थल ओराल्ने तयारी गरेको थियो । तर, सोमबार हिमपात भएपछि प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बैठक नै बसेर उडान स्थगित गरेको मन्त्री विकास लम्सालले बताए । ‘प्राधिकरणका प्राविधिकले उडान गर्न कठिनाइ हुने खबर पठायो । हामीले फ्लाइट क्यान्सिल गर्‍यौं,’ उनले भने ।


हुम्डेमा हवाई उडान तत्काल भर्न सकिने वा नसकिनेबारे प्राविधिक अध्ययन गर्न नागरिक उड्डयन प्राधिकरणबाट दुईजना प्राविधिक खटिएका थिए । प्राधिकरणका प्रबन्धक एटीसी (एयर ट्राफिक कन्ट्रोलर) सूर्यबहादुर खत्रीका अनुसार सोमबारको हिमपातका कारण अर्को सूचना जारी नभएसम्म उडान रद्द भएको छ । यसअघि प्राधिकरणको हुम्डे प्रमुख भई ६ वर्ष मनाङ बसेर काम गरिसकेका उनले उडानका लागि धावनमार्ग तयार रहेको र मौसमकै कारण रद्द भएको बताए ।


‘धावनमार्गमै हिउँ जम्यो । ४ देखि ६ इन्चसम्म हिउँ थियो । गहिरो ठाउँमा आधा फुट जमेको थियो,’ उनले भने, ‘यस्तो ठाउँमा अहिले उडान गर्दा जोखिम हुनसक्छ भन्ने सल्लाह दियौं ।’ उनका अनुसार ५ वर्षअघि उडान हुँदाको समय यही बेला उडान रोक्ने गरिएको थियो ।


‘अहिले पर्यटक हुँदैनन् । स्थानीय झरिसके । हिमपात हुने समय । हामीले पहिले पनि यही समय २ महिना रोक्थ्यौं । मनसुनमा २ महिना रोक्थ्यौं । अन्य समय साताको २ दिन उडान हुन्थ्यो,’ उनले भने । यहाँ नेपाल एयरलाइन्सको ट्वीनअटर जहाजले उडान भर्दै आएको थियो । यहाँ डोर्नियरले पनि उडान भर्न सक्ने उनले बताए ।


मन्त्री लम्सालले अहिले लगातार हिमपात हुने र मौसमको पूर्वआकलन गर्न नसक्दा उडान हुन नसक्ने समयमा गर्ने गरी निर्णय गरिएको बताए । ‘३ दिन मौसम राम्रो थियो । उडान भर्ने दिन नजिकिँदै गर्दा हिमपात भयो,’ उनले भने, ‘प्राधिकरणबाट खटेर गएका प्राविधिकले अहिलेलाई उडान गर्न गाह्रो छ भनेपछि पछि हट्यौं ।’ पर्यटकीय सिजनमा साताको २ उडान भर्ने गरी योजना बनाएको र सम्भवत: फागुनदेखि उडान गरिने उनले बताए ।


नागरिक उड्डयन प्राधिकरणले आव ०६९/७० मा ९ करोड रुपैयाँ खर्च गरी यसअघिको ६ सय मिटरको धुले धावनमार्गलाई विस्तार गरी ९ सय मिटर ल्यापटप (कालोपत्रे) गरेको थियो । त्यतिबेला तत्कालीन मन्त्री तथा प्राधिकरणका अधिकारी चढेर मंसिरमा धावनमार्गमा परीक्षण गरिएको थियो । त्यसयता निगमको जहाज नआएको स्थानीय बताउँछन् ।


कालोपत्रेअघि निगमले सातामा २ पटक पोखरा–मनाङ र मनाङ–पोखरा नियमित उडान भर्दै आएको थियो । हरेक वर्ष असार १६ र पुस १६ देखि मौसममा आएको खराबीले २/२ महिना सूचना जारी गरेरै हवाई उडान बन्द गर्दै आएको थियो । पोखरा–मनाङ वा मनाङ–पोखरा हुँदा २५ मिनेट लाग्छ ।


३ हजार ३ सय ३० मिटर (११ हजार १ सय ४५ फिट) उचाइको हुम्डे विमानस्थलमा २०३९ साल असोजबाट उडान सुरु गरिएको थियो । उडान एकाएक रोकिएपछि चक्रीय अन्नपूर्ण पदमार्गका आन्तरिक तथा विदेशी पर्यटक र स्थानीय समस्यामा परेका छन् । मोटरबाटो पुगेसँगै स्थानीय ४ वर्षयता जीपमार्फत ओहोरदोहोर गर्न थालेका छन् ।


प्रकाशित : पुस २५, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?