कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विकास गाउँतिर, बसाइँ सहरतिर

घरघरै पानीका धारा, बिजुली, सिँचाइ र टोलटोलमा सडक
दिप्ती सिलवाल

दुर्लुङ, पर्वत — अढाइ दसकअघि मोतीप्रसाद श्रेष्ठ अध्यापन गर्न यहाँको काफलचौर माविमा आउँदा गाउँ निकै फोहोर थियो । तत्कालीन समयदेखि नै राजनीतिमा जिल्लाकै अग्रपंक्तिमा आउने दुर्लुङकै क्षेत्रबहादुर गुरुङ उतिबेलै मन्त्री थिए । तर, उनकै घरमा पनि शौचालय थिएन ।

विकास गाउँतिर, बसाइँ सहरतिर

काफलचौरमा उतिबेला करिब ७० परिवारको बसोबास थियो । कसैका पनि घरमा शौचालय थिएनन् । गाउँमा खानेपानी, बिजुली र सिँचाइ आदि कुनै सुविधा थिएन । सामान्य बिरामी पर्दा पनि उपचारका लागि ४ घण्टाको यात्रा गरेर सदरमुकाम कुश्मा पुग्नुपथ्र्यो । गम्भीर बिरामी पर्दा बिरामीको बाँच्ने आसै हुन्थेन ।


अहिले त्यस्तो छैन । घरघरै पानीका धारा छन् । अस्थायी छाप्रामा पनि चिटिक्कका पक्की शौचालय बनेका छन् । एक–दुई घर भएका स्थानमा पनि बिजुलीका फलामे पोलमा तार पुगेको छ । टोलटोलमा सडक छ । खेती गर्न सिँचाइको व्यवस्था छ । तर, गाउँ रित्तिएको छ । दशकअघिसम्म भरिभराउ गाउँमा अहिले फाट्टफुट्ट मात्रै बसोबासी छन् । यदाकदा हुने औपचारिक र जातीय कार्यक्रममा सहभागी हुन बसाइँ सरेर अन्त गएकाहरू गाउँ टेक्छन् । एक/दुई दिनमा फर्किन्छन् ।


‘यहाँ बाटो आउने बेलासम्म सबैजसो परिवार यहीं बस्थे,’ स्थानीय मनबहादुर गुरुङले भने, ‘जब बाटो आयो । गाडी आउन थाले । मान्छे सबै सहर झरे । अहिले दु:खबिमार पर्दा बोकेर लैजाने मान्छे कोही छैनन् ।’ कुनै समय ३७ परिवार गुरुङको बस्ती भएको काफलचौरमा अहिले १२ परिवारको मात्रै बसोबास रहेको उनले बताए ।


गुजुमुज्ज परेको गाउँको बीचमा काफलचौर मावि छ । यसमा पनि बर्सेनि विद्यार्थी संख्या घट्दै गएको शिक्षकहरू बताउँछन् । ‘पहिला बस्ने बेन्च नभएर विद्यार्थी कोच्चिएर बस्थे,’ शिक्षिका राधा श्रेष्ठले भनिन्, ‘अहिले बेन्च खाली–खाली छन् । विद्यार्थी आधा पनि छैनन् ।’ कुनै बेला कक्षा १० सम्म ६ सय जनाभन्दा बढी विद्यार्थीको चाप भएको काफलचौर माविमा अहिले कक्षा १२ सम्म पढाइ हुँदा ३ सयको हाराहारीमा मात्रै विद्यार्थी भएको

उनले बताइन् ।


दुर्लुङमा अधिकांश गुरुङ समुदायको बस्ती छ । हरेक परिवारका युवा वैदेशिक रोजगारीमा छन् । युवा पुस्ता युरोप, अमेरिका र जापान लगायत देशमा गएकाले आम्दानी रामै्र छ । वैदेशिक रोजगारीको आम्दानीबाट सबैजसोले सदरमुकाम कुश्मा, पोखरा, काठमाडौं लगायतका सहरबजारमा घर किनेका छन् । ‘आम्दानी बढेपछि मान्छेका आकांक्षा पनि बढ्छन्,’ स्थानीयवासी एवं पूर्वजिविस सभापति इच्छाबहादुर गुरुङले भने, ‘दुर्लुङवासी शिक्षा र अवसरको खोजीमा बाहिरिएका हुन् । यहाँ सम्भावना भए सबै फर्कन्छन् ।’ गाउँबाट लामो समयअघि बाहिरिएका युवाहरूले जन्मस्थानप्रति चासो देखाउँदै गएको उनले बताए ।


सामाजिक चेतना र राजनीतिक हिसाबले दुर्लुङ अहिले पनि जिल्लाकै अग्रणी गाउँमा पर्छ । राष्ट्रिय राजनीतिमा पुग्ने जिल्लाका मुख्य नेताहरूमा दुर्लुङवासी नै अग्रस्थानमा छन् । संघीय संसदमा जिल्लाबाट प्रतिनिधित्व गर्ने पदम गिरी र लालकाजी गुरुङ दुवैजना दुर्लुङकै हुन् । त्यसबाहेक नेकपा र कांग्रेसका जिल्ला नेताहरूमा अधिकांस दुर्लुङकै छन् । तर, पछिल्लो दशकमा दुर्लुङका सबैजसो बस्ती र खेतीयोग्य जमिन उजाड बन्दै गएको छ । यसप्रति केही सरोकारवाला चिन्तित पनि छन् । ‘विकास भनेको बाटोघाटो र बिजुली मात्रै होइन,’ सामाजिक अभियन्ता ऋषिकेश तिवारीले भने, ‘हिजो बिजुली, बाटो नहुँदा गाउँभरि मान्छे थिए ।

अहिले सबै सुविधा गाउँमा छ तर, मान्छे किन शहर झरे ? त्यसप्रति हामी जिम्मेवार बन्नुपर्छ ।’ दुई दशकदेखि कृषि उद्यममा सक्रिय उनले गाउँका खेतीयोग्य जमिन हराभरा बनाएर टोलटोलमा कृषि उद्यम र घरघरै उद्यमी तयार नगरे गाउँका खेत बारीमा, बारी खरबारीमा, खरबारी झाडीमा परिणत हुने र गाउँका युवाजति खाडीमा जानुको विकल्प नहुने दाबी गरे ।

प्रकाशित : पुस २५, २०७५ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?