कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

लापसे जाँच्ने ‘टेस्ट किट’

लागूऔषध प्रयोगकर्ताको पहिचान गरी दुर्व्यसन रोक्न टेस्ट किट 
प्रयोगकर्ताले ६ महिनाअघि लागूऔषध सेवन गरेको भए पनि किटले देखाउने 

लेखनाथ — लागूपदार्थ सेवन (लापसे) गरे/नगरेको जाँच्न कास्कीको रूपा गाउँपालिकाले टेस्ट किट भित्र्याएको छ । गाउँपालिकाले एक महिनाअघि भित्र्याएको टेस्ट किटको परीक्षणसमेत गरिसकेको छ । 

बेलायतको एटलास मेडिकल कम्पनीद्वारा उत्पादित किट जिल्ला प्रहरी कार्यालयमार्फत गाउँपालिकामा भित्रिएको हो । गाउँपालिका अध्यक्ष नवराज ओझाले लागूऔषध प्रयोगकर्ताको पहिचान गरी दुव्र्यसनी रोक्न टेस्ट किट खरिद गरेको बताए । प्रतिकिट १ सय ५० रुपैयाँ तिरेर पहिलो चरणमा २ सयवटा ल्याएको उनले जनाए ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख आनन्दलाल जोशीका अनुसार गर्भवती परीक्षण किटजस्तै देखिने उक्त यन्त्रमा पिसाव राख्नुपर्छ । ड्रपरले केही थोपा पिसाव राखेपछि लागूपदार्थ प्रयोगकर्ता भए ‘पोजेटिभ’, नभए ‘नेगेटिभ’ देखाउँछ । ‘सी’ मा एउटा रातो घेरा देखिए पोजिटिभ हुन्छ । ‘सी’ र ‘टी’ दुवैमा रातो घेरा देखिए नेगेटिभ हुन्छ । गर्भवती परीक्षण किट र यसमा ठयाक्कै उल्टो छ । ‘यसले खासगरी गाँजा सेवन गरेनगरेको देखाउँछ,’ जोशीले भने, ‘अन्य प्रकारका लागूऔषध प्रयोग गरेनगरेको पनि परीक्षण गर्न मिल्छ ।’ प्रयोगकर्ताले ६ महिनाअघि लागूऔषध सेवन गरेको भए पनि किटले देखाउँछ ।

गाउँपालिकाले एक महिनाको अवधिमा लागूऔषध प्रयोगकर्ता विद्यार्थीको पहिचान गरेको छ । गाउँपालिकाभित्रका १० माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा पढ्ने २ सय विद्यार्थीको ‘लापसे’ जाँच गरेको छ । जसमध्ये २४ विद्यार्थीले लागूऔषध प्रयोग गरेको भेटिएको छ । तीमध्ये ९ मा पढ्ने ९ र १० मा पढ्ने १५ छात्र छन् । गाउँपालिकाले बिहीबार देउरालीको विश्वशान्ति माविमा आयोजना गरेको दुव्र्यसनी तथा लैंगिक हिंसाविरुद्ध विद्यालयस्तरीय सचेतना कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरेको हो ।

स्वास्थ्य शाखाले ३ सय ५२ विद्यार्थीको रगत, सुगर, प्रोटिन, पीएच जाँच्ने क्रममा विद्यार्थीको पिसावको नमूनासमेत संकलन गरेको थियो । लागूऔषध प्रयोगकर्ता विद्यार्थीको नाम भने गाउँपालिकाले सार्वजनिक गरेको छैन । विद्यालयस्तरका कार्यक्रम गरेर सचेत गराइरहेको छ ।

गाउँपालिका अध्यक्ष नवराज ओझाले अहिले किटको बारेमा जानकारी गराएर ६ महिनापछि पुन: जाँच गर्ने बताए । ‘त्यतिखेर पनि लागूऔषध प्रयोग गरिरहेको भेटिए विद्यार्थीका अभिभावकसँगै कुरा गर्छौं,’ उनले भने, ‘त्यतिले पनि नभए पुन:स्र्थापना केन्द्रमा लैजान पहल गर्छौं ।’ उनले गाउँपालिकामा लागूऔषध दुव्र्यसनीको उतिसारो समस्या नभए पनि प्रयोगकर्ता शून्यमा झार्न किट भित्र्याएको जनाए । ‘विद्यालयबाट सुरु भएको यो अभियान स्थानीय युवा क्लब र टोलसम्म पुग्छ,’ उनले भने, ‘छोराछोरीको लापसे परीक्षण गराउन चाहने अभिभावक गाउँपालिकाबाट सित्तैमा किट पाउँछन् ।’

नेपालमै पहिलोपल्ट रूपामा किट भित्र्याएको उनको दाबी छ । ‘लागूऔषध दुव्र्यसनको डरलाग्दो अवस्था छैन,’ उनले भने, ‘सम्भावित घटनालाई रोक्न यो कदम चालेका हौं ।’ उनले अर्कोपल्ट जाँच गर्दा प्रयोगकर्ता शून्यमा झार्न विद्यालयस्तरीय सचेतना कार्यक्रम गरिरहेको उल्लेख गरे । गाउँपालिकाले गाँजा खेती फँडानीलाई पनि प्राथमिकतामा राखेको छ ।

कास्की प्रहरी प्रमुख ओमबहादुर रानाले किटको प्रयोग सम्भवत: रूपा गाउँपालिकाले नेपालमै पहिलोपल्ट गरेको बताए । गाउँपालिकाको भीरचोकमा रहेको चन्द्रप्रभा मावि र देउरालीको विश्वशान्ति माविमा बिहीबार सचेतना कार्यक्रममा उनले विद्यार्थी र अभिभावकसँग अन्तरक्रिया गरे । उनले कास्कीमा लागूऔषध दुव्र्यसनी प्रमुख समस्याका रूपमा देखिएकाले सचेत रहन आग्रह गरे । उनले कास्कीको त्रिवर्षीय अपराध तथ्यांकसमेत प्रस्तुत गरे ।

तथ्यांकअनुसार सबैभन्दा धेरै अपराध लागूऔषधसँग सम्बन्धित छन् । लागूऔषध दुव्र्यसनमा फस्ने १६ देखि २५ वर्ष उमेर समूहका धेरै छन् । ‘साथीको लहैलहैमा धेरै दुव्र्यसनमा फसिरहेका छन्,’ उनले भने, ‘रमाइलो गर्ने नाममा छोराछोरी बिग्रिरहेको अभिभावकले पनि ख्याल पुर्‍याउनुपर्छ ।’

सचेतना कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले मुख्यत: अभिभावक र शिक्षकको रेखदेख राम्रो

हुँदा विद्यार्थीले सही बाटोमा हिँड्न प्रेरणा मिल्ने बताए ।

प्रकाशित : पुस २७, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?