घरमै नागरिकता

कान्तिपुर संवाददाता

लमजुङ — नन्दकला अधिकारी थापा पुस १० बाट ७६ वर्ष पूरा भइन् । मर्स्याङ्दी गाउँपालिका–६ ठूलीबेंसी गाउँकी यी वृद्धामा घरायसी काम गर्ने जाँगर अझै तन्नेरीजस्तै छ । एउटै समस्या उनलाई गाडी चढ्न मन लाग्दैन । 

दुई वर्षयता आँगन नजिकै बाटो भएर बेंसीसहरसम्म मोटर चल्छ । मोटर चढ्ने भनेपछि उनलाई डर र रिंगटा दुवै लाग्छ । नागरिकता बनाउन सदरमुकाम लैजान उनका परिवारले धेरै प्रयास गरे । ‘बेंसीसहर जाऊँ भन्दा जान्न भन्नुहुन्छ । गाडी लाग्छ, डराउँछु भन्नुहुन्छ । २ घण्टाको बाटो हो । तैपनि आमा मान्नुभएन,’ साइँला छोरा मोहन थापाले भने, ‘माथि बाहुनडाँडामा टोली आउँदा पनि जान मान्नु भएन । भत्ताका लागि पनि नागरिकता बनाउनुपर्छ भन्दा उल्टै मलाई पाल्न सक्दैनस् भन्नुभयो आमाले । यत्तिकै बसियो । नागरिकता बनेन ।’

आउजाउकै गाह्रोले त्यसै बसेकी नन्दकला एकाबिहानै घरमा आएका नौला मान्छेको समूहले ‘तपाईंको नागरिकता ल्याइदिएका छौं’ भन्दै पसेपछि दंग परिन् । जुठेल्नामा भाँडा धुँदै गरेकी उनी घरभित्र पसिन् । पति टोपबहादुर थापा, छोरा मोहनलगायत जम्मा भए । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, अनुसन्धान अधिकृत सुरेश थापासहितले लगेको नागरिकताको अभिलेख राख्ने ढड्डा खोलेर नन्दकलालाई सहीछाप गर्न लगाए ।

अनि प्रमुख जिल्ला अधिकारीकै सहीछापको नागरिकता दिए । ‘आजसम्म घाम लागेको थिए । मैले नागरिकता पाएर हो कि क्या हो, घाम लाग्यो त,’ हँसिलो अनुहारमा उनले भनिन्, ‘नागरिकता पाएपछि अब भत्ता पाउने होला नि ।’ राम्रो मान्छे आएर नागरिकता दिएपछि घाम लागेको उनले बताइन् । नागरिकता पाएपछि उनले ओल्टाईपल्टाई एकछिन एकोहोरो हेरिरहिन् र राखिन् ।

प्रशासन कार्यालयले नन्दकला अधिकारी थापालाई बिहीबार १९९९ पुस १० को जन्ममिति कायम गरेर नागरिकता प्रदान गरेको छ । गण्डकी प्रदेशका सांसद धनञ्जय दवाडी र संविधानसभा सदस्य जमीन्द्रमान घलेले वृद्ध आमाले हालसम्म नागरिकता नभएको बताएपछि प्रजिअ ढकालले यसबारे चासो लिएका हुन् ।

स्थानीय अगुवा बाहुनडाँडाका चित्रबहादुर घिमिरे र साइँला छोरा मोहनको सहयोगमा घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रजिअ ढकालले बताए । नन्दकलालाई नागरिकता दिलाउन उनका पति टोपबहादुर थापाले सनाखत गरेका छन् । ‘नागरिकता नहुँदा ६ वर्ष भत्ता छुट्यो । नागरिकता पाएपछि अब भत्ता पाइने होला नि’ नन्दकलाका पति टोपबहादुरले भने । नागरिकता दिलाउन कागजपत्र बुधबार नै ठिक्क बनाइएको थियो । यसका लागि घिमिरे र साइँला छोरा थापा बेंसीसहरमा खटिएका थिए ।

प्रजिअलगायत टोलीलाई नन्दकला आफैंले पकाएर खान दिइन् । ‘म आउन नसक्दा क्या दु:ख पाउनुभो । मीठोमसिनो छैन । राम्ररी खानुहोला । राम्रो काम गर्नुहोला’ प्रजिअ टोलीलाई उनले भनिन् ।

प्रकाशित : पुस २७, २०७५ ०९:४७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मनास्लु घुम्ने पर्यटक बढे

गत वर्षको तुलनामा १०.२८ प्रतिशतले पर्यटक वृद्घि 
कान्तिपुर संवाददाता

गोरखा — मनास्लु संरक्षण क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या गत वर्षको तुलनामा १०.२८ प्रतिशतले वृद्घि भएको छ । सन् २०१७ मा ६ हजार ९ सय २८ पर्यटकले मनास्लु संरक्षण क्षेत्रको भ्रमण गरेका थिए ।

सन् २०१८ मा पर्यटक संख्या ७ हजार ६ सय ४० पुगेको मनास्लु संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।

‘गत वर्षभन्दा यो वर्ष ७ सय १२ जना बढी पर्यटक आए,’ आयोजना प्रमुख नरेन्द्र लामाले भने, ‘अनुकूल मौसमले पनि पर्यटक संख्या बढेको हो ।’ मनास्लु क्षेत्र भ्रमण गर्नेमा जर्मन र फ्रान्सका पर्यटक धेरै छन् । नेदरल्याण्ड, ब्राजिल, स्पेन, अर्जेन्टिना, जोर्डन, फिनल्याण्ड, उरुग्वे, पोल्याण्ड, जापान, चीन, टर्की, अमेरिका र दक्षिण अफ्रिकाका पर्यटक भ्रमणका लागि आउने गरेका छन् । एम–क्यापले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१८ मा सार्क राष्ट्रका ८६ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका छन् ।

सार्कबाहेकका राष्ट्रका ७ हजार ५ सय ५४ पर्यटकले उत्त क्षेत्रको भ्रमण गरेको लामाले बताए । एमक्यापअन्तर्गतको जगतस्थित पर्यटक जाँच चौकीले पदयात्रा मार्ग भएर जाने पर्यटकको विवरण संकलन गर्दै आएको छ । ‘यति आउँछन् भन्ने लक्ष्य नै नराखे पनि ८ हजारजनासम्मले भम्रण गर्छन् कि भन्ने थियो । लगभग पर्यटक आए,’ उनले भने, ‘अघिल्ला वर्षहरूको तथ्यांक हेर्दा वर्षैपिच्छे पर्यटकको आगमन दर बढेको छ ।’ सन् २०१८ मात्र पर्यटक प्रवेश शुल्कबापत १ करोड ६९ लाख ७१ हजार ५ सय ४० रुपैयाँ राजस्व संकलन भएको प्रमुख लामाले बताए ।

प्राकृतिक र सांस्कृतिक हिसाबले उक्त क्षेत्र मनमोहक रहेकाले पर्यटकको संख्यामा बर्सेनि वृद्घि भएको उनले दाबी गरे । संरक्षित जंगलमा पाइने लोपन्मुख प्रजातिका वन्यजन्तु, चराचुरुंगी, गुम्बा, हिमश्रृंखला र वातावरणले उत्त क्षेत्रमा पर्यटक तान्ने गरेको स्थानीय बताउँछन् । मार्च, अप्रिल र मे तथा अक्टोबर र नोभेम्बरलाई मनास्लु संरक्षण क्षेत्र भ्रमणको उपयुक्त समय मानिन्छ ।

संरक्षण क्षेत्रअन्तर्गत नुव्री र चुम उपत्यका पर्यटकको रोजाइमा पर्ने गरेका छन् । ८ हजार १ सय ६३ मिटर उचाइको मनास्लु हिमालय आरोहण गर्ने पर्यटक पनि उक्त क्षेत्रमा आउने गरेका छन् । ५ हजार २ सय मिटर उचाइको लार्केपास गरेर मनाङ निस्कने पर्यटकहरू पनि उक्त क्षेत्र पुग्ने गरेका छन् । सामान्यतया आठ दिनमा लार्के पास गर्न सकिन्छ ।

विदेशी पर्यटकको मात्रै अभिलेख राख्ने गरे पनि उक्त क्षेत्र पुग्ने आन्तरिक पर्यटकको संख्या पनि बढ्दै गएको एमक्यापले जनाएको छ । विदेशीलाई प्रवेशमा निषेध मनास्लु क्षेत्रलाई सरकारले सन् १९९५ देखि मात्रै भ्रमणका लागि खुला गरेको हो । त्यसयताबर्सेनि पर्यटकको आगमन दर बढेको छ ।

खुला गरिएयता हालसम्म ५२ हजार ५ सय ८९ पर्यटक उक्त क्षेत्र पुगेका एमम्यापको तथ्यांकमा छ । ‘भूकम्प गएको वर्ष पदमार्ग असुरक्षित हुँदा पर्यटक संख्या घटेको थियो,’ प्रमुख लामाले भने, ‘पदमार्गको सुधार भएसँगै अहिले पर्यटकको संख्यामा वृद्घि हुँदै गएको छ ।’ चुमनुव्री गाउँपालिका अन्तर्गतको ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार, सिर्दिवास र सामागाउँलाई समेटेर मनासलु संरक्षण क्षेत्रका रूपमा विकास गरिएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रका धेरैजसो ठाउँमा सडक सञ्जाल पुगेर पदयात्रा मार्गको दूरी छोट्टिएपछि धेरै पर्यटकको रोजाइमा मनासलु क्षेत्र पर्न थालेको पर्यटन व्यवसायीको भनाइ छ । मनास्लुको ठूलो क्षेत्रमा अझै सडक पुगेको छैन । एमक्यापलगायतका संघसंस्थाले बर्सेनि पदमार्गको सुधारसँगै पूर्वाधार विस्तारलगायतका काम गरेपछि यहाँ भ्रमण गर्ने पर्यटकलाई सजिलो भएको छ । अझै उक्त क्षेत्रको पदमार्गको सुधारको आवश्यकता रहेको स्थानीय बताउँछन् ।

चुम उपत्यका पुग्ने पदमार्गमा वर्षायाममा भीरबाट ढुंगा झरिरहने र पहिरोले पदमार्ग कटान गर्दा असुरक्षित हुने छेकम्पारका लोप्साङ लामाले बताए ।

प्रकाशित : पुस २७, २०७५ ०९:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT