अन्नपूर्णका खोलामा जथाभावी

हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सनले सञ्चालन गरेको क्रसरले नदीजन्य पदार्थको लापरबाहीपूर्वक उत्खनन, आयोजना बाहेकका अन्य क्षेत्रमा गिटी–बालुवा बिक्री
कान्तिपुर संवाददाता

म्याग्दी — यहाँ निर्माणाधीन जलविद्युत् आयोजनाले वातावरण संरक्षणका प्रावधान मिच्दै काम गरिरहेको पाइएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माणकर्ता समूहले यस्तो गरेको हो । 

आयोजनालाई निर्माण सामग्री उपलब्ध गराउन ठेकेदार कम्पनी हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सनले सञ्चालन गरेको क्रसरले वैधानिक प्रक्रियाविपरीत नदीजन्य पदार्थको लापरवाहीपूर्वक उत्खनन गरेको, आयोजनाबाहेकका अन्य क्षेत्रमा गिटी, बालुवा बिक्री गरेको र स्थानीय सरकारलाई कर छलेको भेटिएको हो । मिस्त्रीखोला अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) भित्र पर्छ ।

Citizen


‘सूचना आएपछि हामीले स्थलगतरूपमा बुझ्न लगाएका हौं, वातावरणीय प्रावधान मिचेर काम गरेको बुझिएको छ,’ प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भने, ‘काम गर्न इजाजत दिइएको विवरणसहित हामीले आयोजना र एक्यापलाई सोधेका छौं ।’
आफ्नो क्षेत्रभित्र निर्माणाधीन आयोजनाले गर्ने गतिविधिले पर्ने वातावरणीय असरको नियमन एक्यापको जिम्मेवारी हो । उक्त आयोजना आफ्नो जिम्मेवारीमा उदासीन रहेको आरोप स्थानीयको छ ।

अन्नपूर्ण गाउँपालिकाको ४, ५ र ६ वडा अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्छन् । ‘गाउँपालिकाभित्रका प्राकृतिक वस्तु तथा पदार्थ बिनामूल्य उत्खनन भइरहेको छ,’ अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेलले भने, ‘हामी सबै नदी तथा खोलाको वातावरणीय प्रभाव मूल्यांकनअनुसार करको दायरामा ल्याउने तयारीमा छौं । अब सबैखाले व्यवसाय अनिवार्य दर्ता गराई करको दायरामा ल्याउँछौं । अटेर गरे कारबाही पनि गर्छौं ।’

मिस्त्रीखोला जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा प्रभावित अन्नपूर्ण–४ नारच्याङमा असर न्यूनीकरण र सामाजिक विकास कार्यक्रम सञ्चालन गर्न ३ करोड १६ लाख रुपैयाँ खर्च गर्न सुझाइएको छ । तर, आयोजनाले आफ्नै वातावरणीय प्रभाव प्रतिवेदनको पनि पालना गरेको छैन । आयोजनाले प्रभावित क्षेत्रमा २ सय ६७ वटा विभिन्न प्रजातिका रूख फँडानी गरे पनि शोधभर्ना स्वरूप गर्नुपर्ने वृक्षरोपण गरेको छैन । एउटा रूख काटे बराबर चार बिरुवा रोपेर हुर्काउनुपर्ने नियम छ ।

आयोजनाले सर्वसाधारणले झट्ट देख्ने सामाजिक विकासतर्फ स्थानीय विद्यालयमा शिक्षकको तलबभत्ता, हेल्थपोस्ट, युवा क्लबको खेलमैदान र आमा समूहको भवन जस्ता पूर्वाधारमा मात्र खर्च गरेको छ । ‘वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनले तोकेअनुसार नै हामीले असर न्यूनीकरण र सामाजिक विकास कार्यक्रम चलाएका छौं । आयोजनाले काटेका रूखको सट्टामा ५ सय बिरुवा रोपे पनि डढेलोले खाएको हो । फेरि रोप्ने योजनामा छौं,’ आयोजनाका वातावरण इकाइ प्रमुख रामकुमार खडकाले भने, ‘जैविक विवधिता संरक्षणको क्षेत्रमा हामीले वनस्पतिविज्ञ समेतको टोली झिकाएर यहाँको अध्ययन गराएका छौं । भौतिक वातावरणमा बाढीपहिरो नियन्त्रणमा बढी खर्च भएको छ ।’

प्रतिवेदनमा जैविक वनस्पतिको नर्सरी स्थापना गर्ने भनिए पनि आयोजनाले झन्झटिलो भएको भन्दै आएको छ । वातावरणविद् खडकाले वातावरण अनुकूलन हुने वनस्पतिको नर्सरी बनाई बिरुवा रोप्ने भनिए पनि समय अभावले बिरुवा हुर्काउन असम्भव भएको दाबी गरे ।

यसैबीच संघीय सरकारले हालै मिस्त्रीखोला जलविद्युत आयोजनाको निर्माणकर्ता रोबस्ट इनर्जी लिमिटेडलाई पावरहाउस रहेको नारच्याङबाट ४ किमि परको दानास्थित सबस्टेसनसम्म १३२ केभीए प्रसारण लाइन जोड्न ७ हेक्टर सरकारी जग्गा स्थायी रूपमा प्रयोग गर्न र थप १ सय ९३ वटा रूखबिरुवा काट्न अनुमति दिएको छ । ‘ट्रान्समिसन लाइनतर्फको वातावरणीय प्रभाव मूल्यांकन हुँदैछ,’ आयोजनाका वातावरण इकाइ प्रमुख खडकाले भने, ‘हाइटेन्सन लाइन बस्ती नजिकै पर्ने र केही सल्लोका रूख काट्नुपर्ने हुन्छ ।’

नारच्याङमा नीलगिरि र अन्नपूर्ण साउथ हिमालबाट झर्ने नीलगिरि, रेले र घलेम्दी मिसिएपछि बन्ने मिस्त्रीखोलामा आधा दर्जन जलविद्युत् आयोजना छन् । ५ मेगावाटको घलेम्दी र ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् निर्माण सम्पन्न हुने अन्तिम चरणमा छन् ।

मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको रोबष्ट इनर्जीले सोही खोलामा निर्माण गर्ने ३८ मेगावाटको नीलगिरि प्रथम, ६२ मेगावाटको नीलगिरि दोस्रो र छुट्टै कम्पनीले निर्माण गर्ने ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजनाले पनि वातावरणीय प्रभाव मूल्यांकनबिनै धमाधम प्रवेश मार्ग निर्माण गरिरहेका छन् ।

आयोजनाको प्रवेश मार्ग निर्माण गर्दा निस्केका ढुंगा–माटो लापरबाहीपूर्वक फाल्दा भोजपत्र, गोब्रेसल्ला, लोठसल्ला र गुराँस लगायतका रूखसँगै निगालोका झाडी मासिएको स्थानीयले बताएका छन् । निगालाको झाडी हिमाली कालो भालुको वासस्थान पनि हो । मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माता रोबस्ट इनर्जीले आयोजनाको क्याचमेन्ट एरियामा जैविक विविधताको अध्ययन गर्दा मनाङ र मुस्ताङमा मात्र पाइने गुराँसको एक प्रजाति यहाँ फेला परेको थियो ।

प्रकाशित : पुस २७, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्

घरमै नागरिकता

कान्तिपुर संवाददाता

लमजुङ — नन्दकला अधिकारी थापा पुस १० बाट ७६ वर्ष पूरा भइन् । मर्स्याङ्दी गाउँपालिका–६ ठूलीबेंसी गाउँकी यी वृद्धामा घरायसी काम गर्ने जाँगर अझै तन्नेरीजस्तै छ । एउटै समस्या उनलाई गाडी चढ्न मन लाग्दैन । 

दुई वर्षयता आँगन नजिकै बाटो भएर बेंसीसहरसम्म मोटर चल्छ । मोटर चढ्ने भनेपछि उनलाई डर र रिंगटा दुवै लाग्छ । नागरिकता बनाउन सदरमुकाम लैजान उनका परिवारले धेरै प्रयास गरे । ‘बेंसीसहर जाऊँ भन्दा जान्न भन्नुहुन्छ । गाडी लाग्छ, डराउँछु भन्नुहुन्छ । २ घण्टाको बाटो हो । तैपनि आमा मान्नुभएन,’ साइँला छोरा मोहन थापाले भने, ‘माथि बाहुनडाँडामा टोली आउँदा पनि जान मान्नु भएन । भत्ताका लागि पनि नागरिकता बनाउनुपर्छ भन्दा उल्टै मलाई पाल्न सक्दैनस् भन्नुभयो आमाले । यत्तिकै बसियो । नागरिकता बनेन ।’

आउजाउकै गाह्रोले त्यसै बसेकी नन्दकला एकाबिहानै घरमा आएका नौला मान्छेको समूहले ‘तपाईंको नागरिकता ल्याइदिएका छौं’ भन्दै पसेपछि दंग परिन् । जुठेल्नामा भाँडा धुँदै गरेकी उनी घरभित्र पसिन् । पति टोपबहादुर थापा, छोरा मोहनलगायत जम्मा भए । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, अनुसन्धान अधिकृत सुरेश थापासहितले लगेको नागरिकताको अभिलेख राख्ने ढड्डा खोलेर नन्दकलालाई सहीछाप गर्न लगाए ।

अनि प्रमुख जिल्ला अधिकारीकै सहीछापको नागरिकता दिए । ‘आजसम्म घाम लागेको थिए । मैले नागरिकता पाएर हो कि क्या हो, घाम लाग्यो त,’ हँसिलो अनुहारमा उनले भनिन्, ‘नागरिकता पाएपछि अब भत्ता पाउने होला नि ।’ राम्रो मान्छे आएर नागरिकता दिएपछि घाम लागेको उनले बताइन् । नागरिकता पाएपछि उनले ओल्टाईपल्टाई एकछिन एकोहोरो हेरिरहिन् र राखिन् ।

प्रशासन कार्यालयले नन्दकला अधिकारी थापालाई बिहीबार १९९९ पुस १० को जन्ममिति कायम गरेर नागरिकता प्रदान गरेको छ । गण्डकी प्रदेशका सांसद धनञ्जय दवाडी र संविधानसभा सदस्य जमीन्द्रमान घलेले वृद्ध आमाले हालसम्म नागरिकता नभएको बताएपछि प्रजिअ ढकालले यसबारे चासो लिएका हुन् ।

स्थानीय अगुवा बाहुनडाँडाका चित्रबहादुर घिमिरे र साइँला छोरा मोहनको सहयोगमा घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रजिअ ढकालले बताए । नन्दकलालाई नागरिकता दिलाउन उनका पति टोपबहादुर थापाले सनाखत गरेका छन् । ‘नागरिकता नहुँदा ६ वर्ष भत्ता छुट्यो । नागरिकता पाएपछि अब भत्ता पाइने होला नि’ नन्दकलाका पति टोपबहादुरले भने । नागरिकता दिलाउन कागजपत्र बुधबार नै ठिक्क बनाइएको थियो । यसका लागि घिमिरे र साइँला छोरा थापा बेंसीसहरमा खटिएका थिए ।

प्रजिअलगायत टोलीलाई नन्दकला आफैंले पकाएर खान दिइन् । ‘म आउन नसक्दा क्या दु:ख पाउनुभो । मीठोमसिनो छैन । राम्ररी खानुहोला । राम्रो काम गर्नुहोला’ प्रजिअ टोलीलाई उनले भनिन् ।

प्रकाशित : पुस २७, २०७५ ०९:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्