१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

२ विधेयक प्रदेशसभामा

प्रदेश सहकारी सम्बन्धमा व्यावस्था र वर, पीपल र चौतारो संरक्षण तथा व्यावस्थापन गर्न बनेका विधेयक प्रदेशसभामा प्रस्तुत

पोखरा — प्रदेशसभाको विधायन समितिले सामान्य संशोधनसहित प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रदेशसभामा बिहीबार प्रस्तुत गरेको छ ।

२ विधेयक प्रदेशसभामा

समितिका सभापति मोहनप्रसाद रेग्मीले बिहीबारको प्रदेशसभा बैठकमा विधेयकमाथि दफावार छलफल भएको र सरोकारवालासँग अन्तरक्रियासमेत भएको बताए । विधेयक भदौ ३१ को प्रदेशसभा बैठकले दफावार छलफलका लागि विधायन समितिमा पठाएको थियो ।


सहकारी मूल्य मान्यता र सिद्धान्त अनुरूप सर्वसाधारण वा समुदायमा छरिएर रहेको पुँजी, प्रविधि, ज्ञान, सीप, श्रम र प्रतिभालाई स्वावलम्बन तथा पारस्परिकताका आधारमा एकीकृत गरी सदस्यरूको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नयन एवं समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्न भन्दै प्रदेश सरकारले सहकारी विधेयक ल्याएको हो ।


समुदायमा आधारित सदस्य केन्द्रित, लोकतान्त्रिक, स्वायत्त र स्वशासित संगठनको रूपमा सहकारी संस्थाको दर्ता, सञ्चालन, नियमन तथा प्रवद्र्धन गर्ने उद्देश्य विधेयकको छ । प्रदेशसभामा पेस भएका मध्ये सहकारी विधेयक सबैभन्दा ठूलो हो । ४९ पृष्ठको विधेयकमा १ सय ३ दफा छन् । वर, पीपल र चौतारो संरक्षण तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई पनि विधायन समितिले बिहीबारकै प्रदेशसभा बैठकमा प्रतिवेदनसहित पेस गरेको छ ।


सार्वजनिक तथा निजी स्थानमा रहेका वर, पीपललगायत महत्त्वपूर्ण वृक्ष र चौतारो तथा यीसँग सम्बन्धित कुवा, कुण्ड र पोखरी मास्न नपाइने भन्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले विधेयक ल्याएको हो । विधेयकमा सबै स्थानीय तहले त्यस्ता वृक्ष र स्रोतको अभिलेख राख्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।


सार्वजनिक स्थानमा भएका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, वातावरणीय एवं प्राकृतिक प्रकोप न्यूनीकरणका हिसाबले महत्त्वपूर्ण स्रोत भएकाले संरक्षणमा जोड दिँदै विधेयक ल्याइएको हो । सार्वजनिक, निजी वा जुनसुकै जग्गामा प्राकृतिक रूपमा उम्रिएका तथा रोपिएका वर, पीपल, समी, सोमी, लाँकुरी, कदम, आँपजस्ता रूख र चौतारो तथा यीसँग सम्बन्धित कुवा, कुण्ड र पोखरीसमेत संरक्षण सूचीमा छन् । विधेयक असोज १ को बैठकले दफावार छलफलका लागि विधायन समितिमा पठाएको थियो ।

बागलुङ निर्वाचन क्षेत्र नम्बर २ (ख) खाली

जनमोर्चाका प्रदेशसभा सदस्य टेकबहादुर घर्तीमगरको गत मंसिर २७ मा निधन भएपछि बागलुङ–२ ‘ख’ निर्वाचन क्षेत्र सांसदविहीन भएको छ ।


सभामुख नेत्रनाथ अधिकारीले प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यको निधनले उक्त क्षेत्र रिक्त हुन पुगेको सभालाई जानकारी गराए । संविधानको धारा १८० (च) अनुसार निर्वाचन क्षेत्र रिक्त भएको सूचना प्रदेशसभा नियमावलीको दफा १८५ बमोजिम सभामुखले सभासमक्ष जानकारी गराएका हुन् । कलेजोको रोगबाट पीडित ४७ वर्षीय घर्तीमगरको भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो ।

प्रकाशित : पुस २७, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?