कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

संक्रान्तिमा खाना महोत्सव

पाहुनालाई सडकमै राखेर रैथाने खानाको स्वाद चखाउने योजना

म्याग्दी — बेनीमा माघे संक्रान्तिको मेलाको अवसर पारेर सडक खाना महोत्सव हुने भएको छ । प्राचीन भोट–मधेस (तिब्बत–भारत) चल्ने साल्ट ट्रेड रुटको प्रमुख व्यापारिक केन्द्र बेनीमा लाग्ने व्यापार मेलाको परम्परालाई परिस्कृत संस्कृतिका रूपमा मनाउन खाना महोत्सव गर्न लागिएको आयोजक महिला उद्यमी संघले जनाएको छ ।

म्याग्दी भ्रमण वर्ष अभियानसँगै आन्तरिक तथा बाह्य पाहुनालाई सडकमै राखेर विभिन्न रैथाने खानाको स्वाद दिन खाना महोत्सव गर्न लागिएको हो । सदरमुकाम बेनीको कालीपुल बसपार्कमा आयोजना गरिने सडक खाना महोत्सवमा स्थानीय जातजातिका रैथाने खानाका स्वाद उपलब्ध हुनेछन् ।


माघे संक्रान्ति मेला एवं सडक खाना महोत्सवमा २० हजार पर्यटकलाई भित्र्याउने आयोजकको दाबी छ । महोत्सवमा आन्तरिक पर्यटकलाई आर्कषित गर्न खुला एकल लोकनृत्य, महिला उद्यमशीलता तथा म्याग्दी भ्रमण वर्ष झल्कने दोहोरी गीत र महिला छेलो प्रतियोगिता हुने छ । महोत्सवमा कृषि, हस्तकला तथा स्थानीय उत्पादनको स्टल प्रदर्शनी गरिने भएको छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले आकर्षक नगद पुरस्कार पाउने भएका छन् ।


‘सडक खाना महोत्सवलाई पाहुनाले यहाँको खानाको स्वाद, आतिथ्यता र आत्मीयतालाई सधंै स्मरण गर्न योग्य रहनेगरी तयारीमा छौं,’ महिला उद्यमी संघकी अध्यक्ष सुनीता केसीले भनिन्, ‘महोत्सवको तयारी पूरा भएको छ । म्याग्दीको संस्कार र संस्कृति झल्कने गरी बेनीको पुरानो बजार कालीपुलको सडकमा पाहुनालाई सत्कार गर्न लागेका छौं ।’


दुई नदीको निरन्तर कटानले त्रिकोणाकार रूपमा कुँदिएको बेनी बजार कालीगण्डकी र म्याग्दी नदीको संगमस्थल हो । म्याग्दी सदरमुकाम बेनीको इतिहास भने लामो छ । भारत–भोट व्यापारको केन्द्र रहेको बेनी समृद्ध चौबीसे राज्य पर्वतको राजधानी थियो । चौबीसे राज्य पर्वतको राजधानी रहेको समयावधिलाई यो बजारको स्वर्णकाल मानिन्छ ।

प्रकाशित : पुस २८, २०७५ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?