तिलिचो सुनसान

हिउँ र चिसाले तिलिचो कोही जान सक्दैनन्
पर्यटक आवागमन नहुने समय भएकाले तल्लो क्षेत्र र चिया तथा कफी पसलसमेत बन्द
आश गुरुङ

लमजुङ — संसारकै सबैभन्दा उचाइको ताल तिलिचो पुग्न सजिलो छैन । साहसिक पदयात्रा रुचाउनेहरू ४ हजार ९ सय १९ मिटरमा अवस्थित मनाङको यात्रा तिलिचोको सुन्दरता हेर्नकै लागि पुग्छन् ।

तिलिचो सुनसान

दुई महिनाअघि तिलिचो तालछेउ भीडभाड थियो । साँघुरा बाटामा पालो कुरेर विदेशी तथा स्वदेशी पर्यटक हिँड्थे । विदेशी पर्यटकको गन्तव्य बन्दै आएको तिलिचो ताल पछिल्लो समय स्वदेशी पर्यटकको समेत गन्तव्य बन्दै आएको छ ।


स्थानीयका अनुसार २ महिनाअघि दैनिक ३ सय बढी पर्यटक पुग्ने तिलिचोमा अहिले दैनिक एक जना पनि पर्यटक पुग्दैनन् । केही बाटोबाटै फर्किन्छन् । मौसम सफा भए विदेशी पुग्छन् । स्वदेशी शून्यप्राय: रहेको स्थानीय बताउँछन् । तिलिचो ताल मनाङ ङिस्याङ गाउँपालिका ९ मा पर्छ ।


आकाश सफा र नीलो देखिने ताल चिसोका कारण अहिले जमेको छ । वरपर हिउँले ढाकिएको छ । हिउँ परेका बेला बाटो भिरालो भएकाले हिँड्न कठिनाइ छ । ‘हिउँ र चिसाले तिलिचो कोही जान सक्दैनन् । अहिले घुम्ने मौसम होइन,’ तिलिचो बेसक्याम्प र श्रीखर्कमा होटल चलाउँदै आएका कर्म ढण्डु गुरुङले भने, ‘दुई महिनाअघि त टुरिस्ट कति थियो कति । अहिले सुनसान छ ।’


आन्तरिक पर्यटकको आवागमन ठप्प भए पनि अझै विदेशी पर्यटक फाट्टफुट्ट जाने गरेको उनले बताए । बेसक्याम्पका रहेका तीनमध्ये हिजोआज एउटा मात्रै होटल सञ्चालनमा छ । श्रीखर्कका तीनवटै होटल बन्द छन् । ‘धेरै ठण्डीमा पर्यटक हुँदैनन् । म एक महिनादेखि काठमाडौंमा छु । होटल बन्द छ,’ उनले भने । पर्यटक आवागमन नहुने समय भएकाले यतिबेला तल्लो क्षेत्र र ठाउँठाउँका चिया तथा कफी पसलसमेत बन्द रहेको उनले बताए ।


मनाङमा मोटरबाटो पुगेसँगै केही वर्षयता आन्तरिक पर्यटकको रोजाइमा तिलिचो परेको छ । ३ वर्षयता खाङसारसम्म मोटरबाटो पुगेपछि आन्तरिक पर्यटक ह्वात्तै बढेको स्थानीय बताउँछन् । तिलिचोमा फिल्मका गीत तथा म्युजिक भिडियो छायांकन समेत हुँदै आएको छ । मनाङ ङिस्याङ गाउँपालिका ९, खाङसारका अध्यक्ष रिन्जेन दोर्जे गुरुङका अनुसार असोज/कार्तिकमा विदेशी र स्वदेशी पर्यटक आधाआधी जस्तो गरी दैनिक तिलिचो ताल जान्थे । ‘दिनदिनै ३ सयसम्म पर्यटक पुग्ने तिलिचोमा अहिले को जाने ? निकै चिसो छ । ताल सबै हिउँले पुरिन थालेको छ । अहिले त के नै देखिन्छ र ?’ उनले भने । हिउँ परे पनि बाटाको हिउँ भने पग्लिएको उनले बताए ।


गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार गाउँपालिकाभित्रका करिब ७० प्रतिशत मानिस काठमाडौं तथा सहरबजार झरिसकेका छन् । पर्यटकीय मार्गका होटलसमेत धेरै बन्द छन् । थोरैले पर्यटकलाई सेवा दिइरहेका छन् । उनका अनुसार पर्यटकीय सिजनमा स्वदेशी पर्यटक जिप रिजर्भ गरेर आउँछन् । मोटरसाइकलमा साथी मिलेर आउँछन् । ‘अहिले गाउँठाउँमै चिसो छ । हिमालमा जान सकिँदैन । चिसोले पर्यटक नआएका हुन्,’ उनले भने ।


माथिल्लो मनाङ सडक सञ्जालमा जोडिएपछि स्वदेशी पर्यटक बढी आउने गरेको उनले बताए । ‘पहिलेको भन्दा अहिले बाटो राम्रो छ । तर, यो बेला हिउँ पर्ने भएकाले केही भत्काउँछ, कतै बाटो नै देखिँदैन । खासगरी यो बेला जाने पनि होइन,’ उनले भने, ‘अब फागुन चैतपछि भने जान मिल्छ । राम्रो देखिने त असोज र कार्तिकमै हो । धेरैजसो पर्यटक त्यही बेला तिलिचो पुग्छन् ।’


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख बाबुलाल तिरुवाका अनुसार चक्रीय अन्नपूर्ण पदमार्गको मनाङसम्म आइपुग्दा अहिले दैनिक १०/१५ जना पर्यटक देखिन्छन् । यसमा पनि कोही तिलिचो र थोराङ्ला पास (५,४१६ मि.) गरेर मुक्तिनाथ हुँदै जोमसोम, म्याग्दी वा घोरेपानी भएर पोखरा जान्छन् । ‘हिउँ परे न तिलिचो जान सकिन्छ न थोराङ्ला नै । मौसम सफा भएपछि मात्रै जाने हो । हिउँसँग खेल्न सक्नेहरू भने जान सक्छन्,’ उनले भने ।


अहिले हिउँ पर्ने मौसम भएकाले पर्यटकलाई दैनिक र साप्ताहिक मौसमी विवरणबारे जानकारी गराउँदै आएको उनले बताए । उनका अनुसार मौसम पूर्वानुमानबारे समेत जानकारी गराइँदै आएको छ । ‘सेप्टेम्बर, अक्टोबरमा दैनिक ३ सय विदेशी नै आउँछन् । आधाआधी तिलिचो जान्छन् । स्वदेशी पर्यटकको पनि ओइरो लाग्छ । दैनिक ३ सय बढी तिलिचो पुग्छन्,’ उनले भने, ‘अहिले दिनमा एकजना पर्यटक पनि पुगेका छन् वा छैनन्, भन्न सकिन्न । तिलिचोतिर खासै जाँदैनन् ।’


विश्वकै उत्कृष्ट गन्तव्य चक्रीय अन्नपूर्ण पदमार्ग र यसको पनि प्रमुख गन्तव्यका रूपमा तिलिचोलाई लिने गरिन्छ । स्थानीयका अनुसार तिलिचो संसारमै चलेको नाम र उच्च स्थानमा भएर पनि पर्यटक आउन रुचि राख्छन् । ‘चारैतिर हिमाल छन् । तिलिचोबाट नीलगिरि, खाङ्सार, मुक्तिनाथ लगायत हिमाल देखिन्छन् । हिमाललाई छोउँछोउँ जस्तै लाग्छ । हिमाल हेर्न विदेशी र स्वदेशी हुरुक्कै हुन्छन् । बिदाको समय एकपटक तिलिचो पुग्नैपर्छ भनेर स्वदेशी पर्यटक आउने गर्छन् । अहिले त सबै चिसोले को आउनु र ?’


तिलिचो ताल पुग्न ५ हजार २ सय मिटरको भन्ज्याङ पार गर्नुपर्छ । विश्वकै सबैभन्दा उच्च ठाउँमा रहेको भन्दै तिलिचो तालमा नेपाली राजनीतिका शिखरपुरुष मानिएका स्व. गिरिजाप्रसाद कोइरालाको अस्तु सेलाइएको थियो । त्यसअघि ०५० सालमा तत्कालीन एमालेका तत्कालीन महासचिव मदन भण्डारीको अस्तुलाई पनि तिलिचो तालमा सेलाइएको थियो । स्थानीयका अनुसार केही धनाढ्य व्यक्तिहरू हेलिकप्टर चार्टर गरी तिलिचोमा पुग्छन् । आफन्तको अस्तु सेलाउन आउँछन् ।


मनाङको चामेबाट खाङसार वा २ किलोमिटर पर तारे गुम्बासम्म जिप चल्छ । चामेबाट खाङ्सारसम्म ३५ किलोमिटर कच्ची सडक छ । तिलिचो बेसक्याम्प (४,१५० मि) हिँडेर जान ४ घण्टा लाग्छ । खाङसारबाट सवारी चलाउन दिइएको छैन । बेसक्याम्पबाट तिलिचो पुग्न करिब ४ घण्टा लाग्छ । स्थानीयका अनुसार काठमाडौं, पोखरा, चितवन लगायत ठाउँबाट सबेरै हिँडेका मानिसहरू रातसाँझ खाङसार वा तारे गुम्बा पुग्छन् । नत्र बाटोमा बसेर अर्को दिन बेसक्याम्प, श्रीखर्क र हिँड्न सक्नेहरू खाङसार नै आइपुग्छन् । बेसक्याम्पसबाट तिलिचो पुगेर पुन: बेसक्याम्प आएर बस्ने गरेको स्थानीय बताउँछन् ।

प्रकाशित : पुस २९, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?