झाडी फाँडेर पिकनिक स्थल

दिप्ती सिलवाल

पर्वत — झाडीले ढाकेको जंगल एकाबिहानैदेखि साँझसम्म दर्जन बढी महिला–पुरुष मिलेर फँडानी गरिरहेका छन् । कुश्मा–५ को बडागाउँ सामुदायिक वन क्षेत्रमा सरसफाइ सुरु गरेको महिनादिन पुगिसकेको छ ।

झाडी फाँडेर पिकनिक स्थल

अग्ला र लामा पुलले मुलुकभर चर्चा बटुलेको कुश्मालाई चिनाउने अर्को नयाँ उपाय निकाल्दै समितिले सामुदायिक वन क्षेत्रमा ‘पिकनिक स्पट’ बनाउन थालेको हो । बडागाउँमा फैलिएको उक्त सामुदायिक वनको एउटा भागमा झरेका पात पतिंगर पन्छाउन थालिएको छ । बडागाउँ सामुदायिक वन उपभोक्ता समितिको सक्रियतामा वनभोजस्थल बनाउन थालिएको हो । अग्ला पुलको नजिकै रहेको वनले ढाकेको क्षेत्रलाई खुला बनाएर पिकनिक स्पट बनाइने समितिले जनाएको छ ।


वन क्षेत्रबाटै बागलुङको बलेवा, पर्वतकै फलेवास–४ मुडिकुवा र कुश्मा–९ कटुवाचौपारीमा निर्मित अग्ला पुल हेर्न र पुलको बीचमा बसेर तस्बिर खिचाउन दैनिक दुई सयको हाराहारीमा पर्यटक आउने गरेका छन् । हिउँदको समयमा वनभोज खानेहरूको पनि लर्को लाग्ने गरेको छ । बडागाउँ–कैया र बडगाउँ–सिर्सुवा झोलुंगे पुल हेर्न यही वनको बाटो भएर आउनुपर्छ । सामुदायिक वन क्षेत्रभित्रै बनेका पुल तरेर अधिकांश पिकनिक टोली खुला चौर खोज्दै जाने गरेका छन् ।


सामुदायिक वन समितिले वनक्षेत्रमै रमाउने वातावरण सृजना गर्नका लागि यहाँ वनभोज स्थलसँगै पार्क बनाउने योजना समेत बनाएको छ । वन क्षेत्रमै देवीको मूर्ति बनाएर पर्यटकलाई आकर्षित गर्ने योजना रहेको समिति अध्यक्ष मानकुमारी गिरीले बताइन् । ‘यो बाटो हुँदै धेरै टोली पिकनिक खान मुडिकुवा र बलेवा पुग्छन्,’ उनले भनिन्, ‘पार्क बनाएर पिकनिक स्पटका रूपमा विकास गर्न सकियो भने आम्दानी बढाउन सकिन्छ । कुश्माको पहिचान पनि बढ्छ ।’


वन अहिले तितेपाती, वनमारालगायत स–साना रुख र पात पतिंगरले ढाकिएको छ । विगत १५ वर्षदेखि साना–साना रुख, झाडी, बुट्यान र पतिंगर सफाइ भएको थिएन । अहिले समितिमा आबद्ध करिब ५० जना दैनिक आलोपालो गरी फँडानी गर्ने, बुट्यान हटाउने, पतिगंर थुपारेर जलाउने काममा सक्रिय छन् । वनको २८ हेक्टर क्षेत्रफललाई समेटेर वनभोजस्थल, पार्किङ र शिवका मूर्ति राख्ने कार्यक्रम रहेको वन समूहका पूर्वअध्यक्ष हरिप्रसाद शर्माले बताए । ‘अहिलेसम्म कसैले चासो देखाएकै थिएन,’ उनले भने, ‘पुल बनेपछि यहाँको महत्त्व बढ्दै गयो । अब यसलाई बेवारिसे छाड्नुहुन्न भनेर हामी खटेका हौं ।’


पिकनिक स्पट बनाउनका लागि समूहले कुश्मा नगरपालिका र प्रदेश सरकारसँग पनि रकम माग गरेको उनले बताए । कुश्मा नगरपालिकाले हालै सार्वजनिक गरेको नगरको गुरुयोजनामा समेत बडागाउँमा पार्क बनाउने कुरामा सरोकारवाला एकमत भएका छन् । गुरुयोजना निर्माणमा सक्रिय सहरी विकास विभागका योजनाकारहरूले समेत कुश्माको पर्यटकीय विकासका लागि बडागाउँमा फनपार्क बनाउन सुझाएपछि सामुदायिक वनका सदस्यहरू खुसी भएका छन् ।


‘सहरी विकास गुरुयोजनामा यहाँको पार्क समेटिएकोमा खुसी लागेको छ,’ पूर्वअध्यक्ष तेजेन्द्र पौडेलले भने, ‘वन जोगाउन गरेको संघर्ष बल्ल काम लागेको छ ।’ २०४० सालअघि उजाड रहेको जंगल अहिले हराभरा हुनुमा बडागाउँवासीको ठूलो योगदान रहेको उनले बताए । वन समूहले पहिलो चरणमा पार्कसहित पूर्वाधार निर्माण गर्न करिब ३० लाख खर्च लाग्ने अनुमान गरेको छ ।

प्रकाशित : पुस २९, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?