२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बांगेचौरमा प्यारापिट निर्माण सुरु

बागलुङ — सदरमुकामको बांगेचौर खेलमैदानमा दर्शक बसेर खेल हेर्न मिल्ने प्यारापिट निर्माणको काम सुरु भएको छ । 

बांगेचौरमा प्यारापिट निर्माण सुरु

जिल्ला फुटबल संघले पहिलो चरणका लागि खेलमैदानमा कम्तीमा ५ सय ४० जना दर्शक बसेर हेर्न मिलने प्यारापिटको काम थालेको हो । एन्फाले खेल मैदानका लागि १० लाख रुपैयाँ सहयोग गरेपछि थप ६ लाख रुपैयाँ संकलन गरेर प्यारापिटको काम थालिएको जिल्ला फुटबल संघका अध्यक्ष रामराज गुरुङले बताए । यो मैदानमा ३० मिटर लम्बाई, ६ मिटर चौडाई र ६ फिट उचाईको प्यारापिट बनाइनेछ ।


मैदानमा ३० जना बस्न मिल्ने मञ्च पनि बनाइने योजनामा छ । खुला मैदान भएपनि दर्शक बस्ने स्थान नभएर नियमित भएका खेलमा समस्या भएको थियो । कार्यक्रम गर्दा कुर्सी लगेर अस्थायी मञ्चसमेत बनाएर मात्र कार्यक्रम गर्नुपर्ने बाध्यता छ । ‘जिल्लाकै एक मात्र मैदान भएकाले फुटबल र क्रिकेटसहित मार्सलआर्टलगायत अन्य खेल पनि यहीं हुने गरेका छन्,’ जिल्ला खेलकुद विकास समिति अध्यक्ष धनबहादुर परियारले भने, ‘यो मैदानलाई बहुउपयोगी बनाउनका लागि डीपीआर पनि बनाउने काम सुरु भएको छ ।’


गत वर्षदेखि मेयरकप फुटबलसमेत सञ्चालन भइरहेकोले व्यवस्थित बनाउन थालिएको उनले बताए । समितिकै अगुवाइमा सदरमुकामस्थित बांगेचौर मैदान र ढोरपाटनमा हाई अल्टिच्युट ट्रेनिङ सेन्टरका लागि डीपीआरको काम सुरु भएको हो ।


बांगेचौर मैदानमा सुविधासम्पन्न रंगशाला, प्यारापिट, एथलेटिक्स र कोठाभित्र खेलाइने खेलसमेत समेटेर बृहत् योजना बनाइएको छ । योजना अनुसारको काम गर्न करोडौं लाग्ने परियारले बताए । डीपीआरका लागि २० लाख तत्काल लगानी गर्ने योजना छ । समितिले चालु वर्षभित्रै खर्च गर्नेगरी बागलुङमै कभर्डहल निर्माणका लागि ३० लाख, दुर्लेबेंसी खेल मैदान निर्माण गर्न २० लाख, मदन भण्डारी स्पोर्ट एकेडेमीका लागि २० लाख, बांगेचौर खेल मैदान सम्याउन २० लाख बजेट बाँडफाँड गरिसकेको छ ।


यो चउरको पश्चिमबाट मध्यपहाडी लोकमार्गको ट्रयाक जाने भएकाले प्यारापिट धेरै दर्शक क्षमताको बनाउन अप्ठ्यारो भएको छ । ‘राजमार्गले कति जमिन कसरी काट्छ त्यो हेरेर पूर्ण रंगशाला बनाउने हो,’ अध्यक्ष परियारले भने, ‘राजमार्ग व्यवस्थित भएपछि मात्र चाहेजस्तो प्यारापिट बनाउन सकिन्छ ।’ हाल यो चउरको उत्तरी खण्डमा वर्षौंदेखि माझीहरू अस्थायी टहरा बनाएर बसेका थिए । गत महिना नगरपालिकाले माझी बस्ती निर्माण गरेर हस्तान्तरण समेत गरिसकेको छ । उक्त बस्ती हटाएर मैदान फराकिलो बनाउने योजना समेत समितिको छ ।


रंगाशाला निर्माण भएमा जिल्लामा हुने खेल गतिविधि बढ्ने गुरुङको भनाई छ । ‘जिल्ला, स्थानीय तह र वडा स्तरका फुटबलखेल नियमित खेलाउने चाहना भए पनि मैदानको अव्यवस्थाले सकिएको छैन’ गुरुङले भने, ‘व्यवस्थापनका लागि सहयोग थप गर्न सकियो भने केही समयमै आर्कषक रंगशाला निर्माण हुनेछ ।’ डीपीआर बनेपछि दाताको खोजी गर्न सजिलो हुने उनको भनाइ छ । यहाँ व्यवस्थित शौचालय निर्माण, खानेपानीको व्यवस्थापन र खेलाडीको लागि ड्रेसिङ कोठा बनाउने काम पनि सुरु भएको छ ।

प्रकाशित : माघ १, २०७५ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?