२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

काठेपोलले दुर्घटनाको जोखिम

पर्वत — कुश्मा नगर क्षेत्रभित्र धेरै ठाउँमा दशक पुराना काठेपोल छन् । मक्किएका यस्ता पोलले दुर्घटनाको जोखिम बढाएको छ । 
कुश्मा–१२ ठूलीपोखरीका अधिकांश टोलमा काठेपोलकै कारण विद्युतीय जोखिममा परेको स्थानीयले बताएका छन् ।

काठेपोलले दुर्घटनाको जोखिम

सामुदायिक विद्युतीकरण उपभोक्ता समितिद्वारा झण्डै एक दशक अघि विद्युतीकरण गरिएका काठका पोल मर्मत र परिवर्तन नगर्दा झण्डै ५०० परिवार जोखिममा परेको स्थानीयवासीले बताएका छन् ।


घर नजिकैबाट गरिएको विद्युतीकरणका पोल जीर्ण भएर ढल्न लाग्दा कतिबेला मानवीय वा पशु चौपायाको क्षति हुने हो भन्ने त्रासमा बस्नुपरेको स्थानीय दीपक सापकोटाले बताए । ‘काठका पोल फेर्न धेरैपटक विद्युत् कार्यालयमा गयौं,’ उनले भने, ‘कसैले वास्तै गरेका छैनन् । हामीले बाँसका टेका लगाएर धानिएको छ ।’ सम्बन्धित निकायको ध्यान जान नसक्दा भाँचिएका र जीर्ण बनेका पोल टुलुटुलु हेरेर बस्नुको विकल्प नभएको उनले बताए ।


काठे पोल भाँचिएर दुर्घटनाको जोखिम बढेपछि स्थानीय जनज्योति प्राविका विद्यार्थी बढी जोखिममा परेको विद्यालयले जनाएको छ । विद्यालय हाताबाटै तानेको थ्रि फेज लाइनको पोलसमेत भाँचिन लागेको विद्यालयले जनाएको छ । हावाहुरीको मौसम सुरु भएकोले कतिबेला पोल भाँचिएर विद्यार्थीलाई करेन्ट लाग्ने हो भन्ने त्रास बढेको अभिभावक सन्तोष सुवेदीले बताए ।


काठेपोल बदल्नका लागि तत्काल सामुदायिक विद्युतीकरण समिति र वडा कार्यालयले ध्यान दिनुपर्ने स्थानीयको माग छ । कुश्मा नगरपालिका–१२ का अध्यक्ष राजेन्द्र पौडेलले लामो समय पोल परिवर्तन नहुँदा जोखिम बढ्दै गएको बताउँदै पोल परिवर्तनका लागि नगरपालिकाले पहल गरेको बताए । वडामा मात्रै झण्डै २ सय पोल परिवर्तन गर्नुपर्ने भएकाले त्यसको व्यवस्थापनमा नगरपालिकास्तरसम्म कुरा चलेको बताए ।


त्यस्तै कुश्माको वडा नम्वर १, २, ३, ८, ९, १३ र १४ वडामा समेत करिब दुई हजार काठेपोल जीर्ण हुँदै गएको स्थानीयले बताएका छन् । नगरपालिकाले अघिल्लो वर्ष नै काठेपोल बदलेर फलामे पोल गाड्ने योजना बनाएको भए पनि सबै वडामा एकैसाथ बदल्न नसकिएको नगरप्रमुख रामचन्द्र जोशीले बताएका छन् । ‘एउटा पोल खरिद गर्न १७ हजार हाराहारी लाग्दोरैछ,’ उनले भने, ‘नगरको सबै बजेट विद्युत्मै लगाउन सकिँदैन । अत्यावश्यक स्थानमा प्राधिकरणसँग सल्लाह गरेर बदलेकै छौं ।’


विद्युत् प्राधिकरणको कुश्मा वितरण केन्द्रले पनि जोखिम बढी भएका स्थानमा प्राविधिक कर्मचारी खटाएरै पुराना पोल मर्मत र विद्युतीकरण सुधार गरिरहेको जनाएको छ । प्राविधिक प्रमुख हेम शर्माका अनुसार धेरै विद्युतीय चाप हुने क्षेत्रमा बढेको जोखिम कम गर्न केबल व्यवस्थापन सुरु भएको बताए ।


उनले नगरपालिकाको ४, ५ र ६ नम्बर वडाहरूबाट सुरु भएको काम क्रमश: अन्य वडाहरूसम्म पुर्‍याइने जानकारी दिए । केन्द्रीय प्रसारण लाइनको पहुँचको अभावमा समुदाय र प्रत्येक घरधुरीबाट आर्थिक संकलन गरेर विद्युतीकरण गरे पनि त्यसको पारदर्शिता कायम नहुँदा समेत विद्युतिय जोखिम बढ्दै गएको उपभोक्ताहरूको गुनासो छ ।

प्रकाशित : माघ १, २०७५ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?