कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

माघे संक्रान्तिमा मेलैमेला

मेलामा गाउँघरका हँसिया, बञ्चरो जस्ता सामग्री बढी  बिक्री हुन्छन्

लेखनाथ — माघे संक्रान्ति (माघ १) मा कास्कीका विभिन्न स्थानमा मेला सञ्चलन भइरहेका छन् । गण्डक क्षेत्रमा व्यापार मेलाको जननी मानिने ढुंगेसाँघु मेला यस क्षेत्रको प्रसिद्ध मेला हो । 

पोखराको दक्षिणी भेगमा रहेको ढुंगेसाँघुमा हुने मेला परापूर्वकालदेखि चल्दै आएको जानकार बताउँछन् । विगतमा आयोजकबिनै हुने यो मेला यसपल्ट ढुंगेसाँघु जात्रा मूल व्यवस्थापन समितिले व्यवस्थापन गर्दैछ । मेलामा भजन प्रतियोगिता, कराँते प्रतियोगिता र सांस्कृतिक कार्यक्रम रहनेछन् । बनारसबाट आएका व्रतबन्ध गरेका कन्याले वेद मन्त्र पाठ गर्नेछन् । मेलामै राष्ट्रिय परोपकार महासंघ र ढुंगेसाँघु सीतापाइला आमा समूहले कन्दमूल प्रदर्शन र वितरण गर्दैछन् ।


मेलामा विशेषगरी बाँस र निगालाका चोया, माटाका भाँडा र फलामबाट बनेका सामग्री खरिद–बिक्री गरिन्छ । विगतमा पश्चिममा बागलुङको आकर्षक हुक्कादेखि दक्षिणी भेग बुटबलबाट ल्याइएका फलामका सामग्री र लत्ताकपडा यो मेलामा किन–बेच हुन्थे । मेलामा अझै पनि गाँउघरबाट हँसिया, बन्चरो, खुर्पा र ताप्केजस्ता फलामका सामग्री किन–बेच गर्नेको घुइँचो लाग्छ ।


माघे संक्रान्तिको दिन मेला लाग्ने ढुंगेसाँघु पोखराको अपायक ठाउँमा परे पनि विगतमा विशाल मेला लाग्ने गरेको लेखक गनेश पौडेल बताउँछन् । ‘मेला भर्न पूर्वमा गोरखा र पश्चिममा रिडीसम्मका मानिस आउँथे,’ उनी भन्छन्, ‘ढुंगेसाँघुको मेला नभर्ने कोही हुँदैनथ्यो ।’ काठमाडौं उपत्यकामा इन्द्रजात्राको जत्रो महिमा छ, ढुंगेसाँघुको उत्रै महिमा हुनुपर्नेमा उनको जोड छ ।


‘गण्डक क्षेत्रकै सबैभन्दा ठूलोमध्येको एक मेला भएर पनि आजकाल ढुंगेसाँघुको मेलाले आफ्नो सांस्कृतिक छनक गुमाइसकेको छ,’ उनी भन्छन्, ‘आप्रवासीले स्थानीय समुदायलाई किच्दै गएको हुनाले पोखरा उपत्यकाका सांस्कृतिक पर्व, मेला र सम्पदाहरू समूल नष्ट हुने बाटोमा छन् ।’


कास्कीको पर्यटकीयस्थल सिक्लेसमा पनि माघे संक्रान्तिमा विशाल मेला लाग्छ । मादीगाउँपालिकाको यो गुरुङ बस्तीमा यसपल्ट माघ १ देखि ४ सम्म सिक्लेस माघे मेला हुँदैछ । पुरानो मेलामध्येमा पर्ने सिक्लेस मेलामा ठेला (छेलो) हान्ने खेल प्रमुख आकर्षण हो । आजकल भने छेलोसँगै भलिबल र बास्केटबल प्रतियोगिता पनि हुन्छन् । सिक्लेस युवा क्लबले गर्ने मेलामा अन्तर गाउँस्तरीय सामूहिक नृत्य प्रतियोतिा र विविध सांस्कृतिक कार्यक्रम हुने मेला संयोजक मिलन गुरुङले बताए ।


पर्यटन प्रवद्र्धनसँगै गाउँमा उत्पादित वस्तुको बजारीकरण गराउने उद्देश्यले मेलालाई जोगाएको उनी बताउँछन् । उनका अनुसार परम्परागत रूपमा मानिँदै र पुजिँदै आएको स्थानीय तीर्थस्थलहरू ‘म्हउदु क्यु’ र फैमक्यु’ को प्रचारप्रसार, संरक्षण र विकास गर्न, परम्परादेखि सञ्चालन गरिँदै आएको खुला ठेला (छेलो) प्रतियोगिताको विकास र व्यापक सहभागिता गराउन, आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन गर्न, गाउँमा व्यवस्थित होमस्टे सञ्चालन गर्न, खेलाडीबीच मैत्रीपूर्ण खेल प्रतिस्पर्धा गरी खेलकुदको विकास गर्न, सिक्लेस गाउँलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न, जेहेन्दार विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप छात्रवृत्ति प्रदान गर्न, आफ्नो वेशभूषा तथा रीतिरिवाजको संरक्षण गर्न मेला आयोजना गरिएको हो । पुरानो थलो छाडेर सहर बसाइँ सरेकाहरू मेलाकै अवसरमा गाउँ फर्कन्छन् । पोखराबाट समेत आन्तरिक पर्यटक सिक्लेस पुग्छन् ।


मादी गाउँपालिकाकै भगवतीटारमा पनि माघे संक्रान्तिमा ऐतिहासिक मेला हुने गर्छ । मेलामा भजन चुडका, सोरठी, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, भलिबल, घाटु नृत्य प्रदर्शन, छेलो फाल्ने प्रतियोगिता, रस्साकस्सीलगायत गतिविधि हुन्छन् । तत्कालीन सैमराङ गाविस र माझठाना गाविसको साँधमा पर्ने मादी नदी किनारमा भगवती मन्दिर पर्छ । परम्परागत रूपमा भगवतीको माघे संक्रान्ति मेलामा कास्कीका मादी नदी आसपासका गाउँका अलावा, लमजुङ र तनहुँबाट समेत सहभागी आउँथे । मेला भर्न पुग्नेका बीच कौडा, पासा र गीति–जुहारीजस्ता प्रतिस्पर्धा हुन्थे । ठाडो भाका, चुडकाजस्ता गीतहरू गाइन्थ्यो ।


गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले भगवतीको मन्दिर रहेकाले धार्मिक आस्था राख्नेको ठूलै घुइँचो मेलामा हुने बताए । हाल युवा जनशक्तिको कमी, बसाइँसराइको प्रभाव र आधुनिक प्रविधिले भगवती मेलाको रौनक हराउँदै गएको उनी बताउँछन् । ‘आजभन्दा २ दशकअघिसम्म पनि भगवतीको माघे संक्रान्ति मेलाको ठूलो रौनक थियो,’ स्थानीय इन्द्रप्रसाद गुरुङले भने, ‘त्यसलाई पुनर्जीवन दिने प्रयास हामी गर्दैछौं ।’ उनका अनुसार युवाहरूको सहर पलायनलाई रोक्ने, स्थानीय उत्पादनको बजार प्रवद्र्धन गर्ने, युवालाई कृषिमा ध्यानाकृष्ट गर्ने, पर्यटन प्रवद्र्धन र खेलकुद तथा गीतसंगीतका माध्यमबाट युवाहरूको व्यक्तित्व विकासमा प्रेरणा दिनेलगायत मेलाका उद्देश्य हुन् ।


रूपा गाउँपालिकाको भीरचोकमा पनि वर्षौंदेखि माघे संक्रान्ति मेला हुँदै आएको छ । यो वर्ष स्थानीय ध्रुवतारा क्लबले पुस २९ देखि माघ १ सम्म ‘रूपा मेला’ आयोजना गरेको छ । मेलामा विद्यालयस्तरीय हाजिरीजवाफ, भलिबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रमलगायत गतिविधि हुन्छन् । पोखराको अमरसिंह चौरमा पुस २७ देखि सुरु भएको नवौं पोखरा महोत्सव जारी छ । युनाइटेड क्लबले आयोजना गरेको महोत्सव माघ ८ सम्म चल्नेछ ।

प्रकाशित : माघ १, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?