कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

४ विधेयक पेस गर्ने निर्णय

पोखरा — गण्डकी प्रदेश सरकारले एकैसाथ चार विधेयक प्रदेशसभामा लैजाने भएको छ । प्रदेश सरकार मन्त्रीपरिषदो सोमबारको बैठकले विभिन्न मन्त्रालयअन्तर्गतका ती विधेयक लैजाने निर्णय गरेको हो । 

४ विधेयक पेस गर्ने निर्णय

मन्त्रिपरिषद्का प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतका अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत प्रदेश औद्योगिक व्यवसाय र ताल संरक्षण तथा विकास प्राधिकरण विधेयक प्रदेशसभामा लगिनेछ ।


यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र सामाजिक विकास मन्त्रालयको सुर्तीजन्य पदार्थ, नियन्त्रण र नियमन गर्न बनेको विधेयक पनि लगिनेछ । ‘चार विधेयक एकैदिन प्रदेशसभामा लैजाने निर्णय भयो,’ मन्त्रिपरिषद् बैठकपछि बस्नेतले भने, ‘माघ ४ गतेभित्र प्रदेशसभा सचिवालयमा दर्ता हुनेछन् ।’


हिउँदे अर्थात् विधेयक अधिवेशनमा एउटै विधेयक नपठाएर प्रदेशसभालाई बिजनेसविहीन बनाउन लागेको समाचार सार्वजनिक भइरहँदा प्रदेश सरकारले विधेयक लैजाने निर्णय गरेको हो ।


प्रदेश औद्योगिक व्यवसाय विधेयकले प्रदेशभित्र लगानीको वातावरण, उत्पादन वृद्धि र सुदृढ अर्थतन्त्रलाई जोड दिएको छ । ताल संरक्षण विधेयकमा भने प्रदेशभित्रका सबै ताल, पोखरी, कुण्डको संरक्षण र विकास गर्दै पर्यटकीय महत्त्वका बनाउने योजना समेटिएको छ ।


बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन कार्यविधिलाई स्वीकृत गरेको छ । कार्यविधिमा एक करोडभन्दा कम लागतका योजना उपभोक्ताले निश्चित प्रतिशत जनसहभागिता जनाई विकास निर्माणका कामहरू गर्न सक्ने व्यवस्था छ । सार्वजनिक खरिद ऐनअन्तर्गत रहेर कार्यविधि ल्याइएको मन्त्री बस्नेतले बताए ।


मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव धर्मराज कुइँकेलले संघीय सरकारले कानुन नबनाइदिँदा प्रदेशमा धेरै विधेयक अडिएको बताए । ‘जे पायो त्यही कानुन बनाएर भएन । भोलि कार्यान्वयन पनि हुनुपर्‍यो,’ उनले भने । मन्त्री बस्नेतले प्रदेश लोकसेवा, प्रदेश प्रहरीलगायत थुप्रै विधेयकको मस्यौदा तयार भइसके पनि प्रदेशसभामा लैजान नपाएको बताए । ‘कानुनी जटिलताले विधेयक प्रदेशसभामा लैजान अप्ठेरो परेको हो’ उनले भने, ‘आवश्यक कानुनको मस्यौदा बनाइसकेका छौं ।’


माघे संक्रान्तिमा मुख्यमन्त्रीको शुभकामना

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले माघे संक्रान्ति पर्वका अवसरमा प्रदेशवासीलाई शुभकामना दिएका छन् । पर्वले प्रदेशका सबै जातजाति, भाषा, संस्कृतिका समुदायबीच आपसी सद्भाव प्रगाढ बनाई आर्थिक र सामाजिक रूपले समृद्ध प्रदेश निर्माण गर्ने प्रेरणा प्रदान गर्ने विश्वास लिएको विज्ञप्तिमा उल्लेख छ । माघ १ लाई मगर समुदायले माघे संक्रान्ति, थारू समुदायले माघी पर्व तथा अन्य समुदायले मकर संक्रान्तिका रूपमा मनाउँदै आएका छन् ।


मुख्यमन्त्री गुरुङले सोमबार विज्ञप्तिमार्फत नेपालमा विभिन्न जातजातिले मनाउने मौलिक चाडपर्वहरूले सामाजिक सद्भाव

एवं सांस्कृतिक सहअस्तित्व अभिवृद्धि गर्दै विभिन्न समुदाय र सम्प्रदायबीचको एकतालाई दरिले बनाएर राष्ट्रिय एकतालाई पनि सुदृढ गर्न मद्धत पुर्‍याउँदै आएको उल्लेख गरेका छन् । माघे संक्रान्तिका दिन सार्वजनिक बिदा दिने प्रदेश सरकारले यसअघि नै घोषणा गरिसकेको छ ।

प्रकाशित : माघ १, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?