अबको लडाइँ ‘भ्रष्टाचारविरुद्ध’

सुशासन कायम राख्न सबै लाग्नुपर्ने बेला आएको उपराष्ट्रपतिको भनाइ

बागलुङ — उपराष्ट्रपति नन्दबहादुर पुनले अबको नेपालको लडाइँ भ्रष्टाचारविरुद्धको हुनुपर्ने बताएका छन् । राजनीतिक परिवर्तनको एजेन्डा थाती राखेर सुशासन कायम राख्न सबै लाग्नुपर्ने बेला आएको उनले बताए ।

अबको लडाइँ ‘भ्रष्टाचारविरुद्ध’

बागलुङको जैमिनीमा आयोजित प्रथम महोत्सवको मंगलबार उद्घाटन गर्दै उनले विभेद, भ्रष्टाचार र खुट्टा तान्ने प्रवृत्ति सबै क्षेत्रमा पूर्ण रूपमा अन्त्य हुनुपर्ने धारणा राखे । ‘अब सामाजिक विभेद, अत्याचार र अन्याय पूरै अन्त्य हुनुपर्छ,’ उनले भने, ‘नेपालीको चाहना लडाइँमा नभई विकासमा रूपान्तरित भइसकेको छ । अब सुखी नेपाली कसरी बनाउने केन्द्र, प्रदेश र स्थानीय सरकारहरू त्यसैतर्फ सक्रिय हुनुपर्ने छ ।’ विकासका लागि लगानी बढाउने, कृषिको आधुनिकीकरण र पर्यटन विकासका लागि साझा मार्गचित्र बनाउन उनले सरकारलाई आग्रह पनि गरे ।


उपराष्ट्रपति पुनले प्रविधिबिनाको विकास असम्भव भएको भन्दै हरेक किसानको घरमा अब प्रविधि भित्रनुपर्ने आवश्यकता औंल्याए । ‘प्रविधिबिना विकास असम्भव छ,’ उनले भने, ‘तीव्र उत्पादनमा जान सकिएन भने हामी अब विकासको पछौटे हुनेछौं ।’


विकासमा अगुवा बन्नका लाग कृषि औजारमा आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास र जलविद्युत् उत्पादनमा लगानी आवश्यक भएको उनले बताए । सुखी नेपालीको चाहना पूरा गर्न कृषि क्रान्तिको विकल्प नभएको उनको भनाइ थियो । आत्मनिर्भर अर्थतन्त्र हुँदै विकसित राष्ट्रको सूचीमा पुग्न हरेक नागरिकले श्रम गर्ने वातावरण सिर्जना गर्न सरकारलाई आग्रह पनि गरे । केही दिनदेखि सञ्चालित महोत्सवको मुख्य मेला माघे संक्रान्तिको अवसर पारेर गरिएको हो ।


स्थानीय साहारा युवा क्लबले आयोजना गरेको मेला उद्घाटन गर्न आएका पुनलाई जिल्लाका धेरै जनप्रतिनिधिले भेटेर सडक, खानेपानी र गौरवका आयोजनाहरूमा राज्यको लगानी बढाउन पहल गरिदिन आग्रहसमेत गरेका थिए । पुनले पनि सडक, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत तहमा राज्यको लगानी बढाउने र आयोजनाहरू प्राथमिकतामा राख्न पहल गर्ने बताएपछि जनप्रतिनिधिहरूले स्थानीय योजनाहरू पनि गौरवका आयोजनाका पूरक बनाउने बताए ।


जैमिनी ऋषिले तपस्या गरेर ज्ञान र साधना पाएको स्थानको रूपमा कालीगण्डकी र ठेउले खोलाको संगमस्थललाई जैमिनीघाट भनिन्छ । साबिको कुश्मीसेरामा पर्ने यो स्थानकै नामबाट यहाँको नगरपालिकाको नामसमेत जैमिनी राखिएको छ । जैमिनी ऋषिकै सम्झना माघे संक्रान्ति र बाला चतुर्दशीमा धार्मिक मेला लाग्थ्यो । उक्त मेलालाई स्थानीय तह र क्लबको संयोजनमा महोत्सवको रूप दिइएको हो । महोत्सवमा कृषि, घरेलु उद्योग, पर्यटन र कला तथा संस्कृति झल्कने झाँकी, वस्तुहरूको प्रदर्शनी र व्यापारिक स्टलसमेत राखिएका छन् ।


लोकगीत, सालैज्यो, सोरठी, भजनलगायतका गीत र राष्ट्रिय कलाकारको प्रस्तुतिसमेत महोत्सवमा राखिएको नगरप्रमुख इन्द्रराज पौडेलले बताए । यहाँ नगरपालिकाकै सहयोगमा मेयरकप भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।


प्रकाशित : माघ २, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?