२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

संक्रान्तिमा ख्याली नृत्य

घनश्याम खड्का

म्याग्दी — वन तरुलबाट बनाएको प्रसाद ‘निस्रो’ ले कुलदेवता र दिदीबहिनीको पूजा गरी मगर समुदायले ख्याली नृत्य गर्दै माघे संक्रान्ति मनाएका छन् । माघे संक्रान्ति सबै जातिले मनाउने भए पनि प्रकृति पूजक मगर जातिले मुख्य चाडका रूपमा मनाउँछन् । 

संक्रान्तिमा ख्याली नृत्य

माघे संक्रान्तिपछि ‘उँभौली’ सुरु भएको छ । म्याग्दीका मगर समुदाय माथिल्लो क्षेत्रमा गुजुमुज्ज परेका परम्परागत शैलीका घर, मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला हुन्छन् । पशु चौपायासहित जहाँ जे बाली पाक्छ त्यहीं नै बसोबवास गरी अर्को बाली खान अर्को खर्क (खेतीफाँटमा) बसाइँ, जाडो/गर्मी मौमअनुसार गोठलाई लेक–बेंसी गर्ने परम्परालाई नै ‘उँधौली–उँभौली’ भन्ने गरिन्छ ।


फिरन्ते गोठ राख्ने (पशुचौपाया पाल्ने) र खेती गरिने फाँटअनुसार बस्ती सार्ने परम्परामा माघदेखि हिउँद सकिएकाले अब विस्तारै बेंसी झरेका गोठहरू माथिल्लो क्षेत्रतर्फ लग्ने प्रचलन छ ।


‘माघे संक्रान्ति परम्परागत मगरहरूको विछोडको अर्थात् बिदाइको पर्व पनि हो । हिउँदमा जाडो छल्न बेंसी झरेका मगरहरू छुट्टिएर आ–आफ्ना खर्कतर्फ गोठ लग्ने हुँदा माघे संक्रान्ति उल्लासपूर्वक मनाउने र पैयुँ फुलेपछि फुर्सदमा माइती भेट्न आएका चेलीबेटीलाई वनको कन्दमूल खुवाई बिदाइ गर्ने पुख्र्याैली चलन हो’ अन्नपूर्ण गाउँपालिका–६ खिबाङका पूर्वशिक्षक पूर्णबहादुर पुनले भने, ‘युग फेरियो । संस्कार र संस्कृति पनि फेरिएको छ । पुर्खाले जे गरे त्यही गर्न सम्भव छैन । यो निरन्तर प्रक्रिया मात्र हो ।’


मगर जातिले वनको कन्दमूल तरुल र सखरखण्डका परिकार बनाई चेलीबेटी पुज्ने र पितृ पूजा गरी मनाउने गर्छन् । पुस मसान्तमा दाजुभाइले ल्याएको वनतरुललाई राति पकाउने चलन छ । माघे संक्रान्तिको बिहान नुहाई पुर्खा (कुलकुलायन) लाई पूजा गरी दिदीबहिनीलाई तरुलको विशेष खाना ‘निस्रो’ दिने गर्छन् ।


महिलाहरू निस्रो लिएर वनमा गई निस्रो खाँदै रमाइलो गर्ने र पुरुषले दिनभर धनुष काँडा (तारो हान्ने) खेल्ने गर्छन् । साँझ सबै एक ठाउँमा जम्मा भएर ‘ख्याली’ गाउने परम्परा छ । हिजोआज परम्परागत पोसाक लगाएका मगर महिला–पुरुष जम्मा भएर ख्याली गाउँदै र नाच्दै बजार परिक्रमापछि जातीय, सांस्कृतिक तथा भाषागत आन्दोलनको चर्चा गर्दै कार्यक्रम समापन गर्ने गरिएको छ ।


‘म्याग्दी क्षेत्रमा मगर भाषा लोप भयो । बचेको कला, वेशभूषा, संस्कृति पनि समयानुकूल भन्दै छोट्याउँदै र परिस्कृत भइरहेको छ,’ मगर सघं गण्डकी प्रदेश कमिटी सचिव राजकुमार थापाले भने, ‘आजभोलि मगर जातिका सबै थरको संस्कृति र वेशभूषाको औपचारिक कार्यक्रममा हुने प्रदर्शनमा मात्र सीमित हुन थालेको छ । एक दिने संस्कृतिमा रमाएका छौं ।’


माघीमा ख्याली ‘ख्याली’ पुनमगरको पुख्र्यौली नृत्य हो । परम्परागत वेशभूषामा सजिएको मादलेले ‘थान फुति नाका धाङ, नाका धाङ, नाका धाङ’ ख्याली नृत्यको ताल ।


यो तालमा महिलाको वेशमा सजिएका मारुनीहरू नाच्दै मादलेको अघि–अघि दायाँ घुम्छन् । मारुनीलाई बायाँ फर्काउन भने मादलेले ‘फुति–फुति नाका धाङ, नाका धाङ, नाका धाङको ताल बजाउँछन् । ख्याली नृत्यमा मादलका २२ ताल हुन्छन् ।

ख्याली गीत सुरु गर्नेलाई थाल्ने, गीत गाउनेहरूलाई छोप्ने र महिलाको वेशमा सजिएर नाच्ने पुरुषलाई मारुनी तथा पुरुषकै वेशमा मादल बजाउँदै नाच्नेलाई मादले भनिन्छ ।


मगर जातिमा मुख्य तीन सम्प्रदाय ढुट भाषी मगर (१२ मगरात), काइके भाषी मगर (तराली) र खाम भाषी मगर (१८ मगरात) मध्य रुकुम, रोल्पा, बागलुङ, पर्वत, म्याग्दी क्षेत्रमा बसोबास गर्ने पुन, तिलिजा, खोरजा, गर्बुजा, पाइजा, शेरपुजालगायतका १ सय ७ उपथरका मगरहरूबीच ख्याली लोकप्रिय पुख्र्यौली नृत्य हो । त्यस बाहेक पुनमगरमा यानीमायाँ, सुनीमायाँ, सोरठी, झ्याउरे, शिरफुलेजस्ता गीत लोकप्रिय छन् । मगर बाहुल्य जिल्ला भए पनि म्याग्दीका पुनमगरहरू आफ्नो मातृभाषा बोल्न जान्दैनन् ।


‘विदेश जाने परम्पराले संस्कृति लोपोन्मुख भएको छ । मेलापर्व र उत्सवहरू परम्परा र संस्कृति युवापुस्तामा हस्तान्तरण गर्ने माध्यम बनेका छन्,’ नेपाल मगर संघका जिल्ला अध्यक्ष मनप्रसाद थजालीले भने, ‘माघे संक्रान्ति मूलत: कृषिकर्मसँग सम्बन्धित भए पनि हिजो–आज पुख्र्यौली पोसाक पहिरिएर गीत र नृत्य गरी रमाउने माध्यम बनेको छ ।’

प्रकाशित : माघ २, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?