सडक र पुल माग

बागलुङ — दसैंपछि तमानखोला गाउँपालिकाको केन्द्र बुंगादोभानमा जबर्जस्ती बस चलेको छ । वर्षातमा बुर्तिबाङदेखि १० किमि पैदल हिँडेर मात्र यहाँ पुग्न सकिन्छ । 

केन्द्रबाट ग्रामीण क्षेत्रमा पुग्न सडक छैन । अधिकांश स्थानमै पैदल यात्रा गर्दा गाउँपालिका केन्द्रको सेवा भ्याउन एक दिनमा सकिँदैन । प्रारम्भिक ट्रयाक खुले पनि भूकम्पका कारण धेरै ठाउँमा पहिरा खसेका थिए ।


मध्यपहाडी लोकमार्गको बुर्तिबाङदेखि बुंगादोभान पुग्ने १० किमि सडक स्तरोन्नतिको कामको अगुवाइ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको छ । तर, सडक निर्माण भए पनि दुईवटा पुल बनाउन नसके वर्षायाममा फेरि पैदलै हिँड्न बाध्य भइने गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।


बुर्तिबाङ नजिकैको लुकुरवन खोलाको हुन्द्राफेदी र ७ किमि दूरीमा पर्ने भालीबाङ घाटमा पक्की पुल बनाउनैपर्ने अवस्था छ । ‘सुरुमा प्राधिकरणले सिंगो सडकको जिम्मा लिने कुरा भएको हो, अहिले चासो कम गरेको छ,’ अध्यक्ष बुढाले भने, ‘प्राधिकरणले काम गरिरहेको छ भनेर मैले प्रदेश सरकारमा पनि सिफारिस गरिनँ । पुल बनेन भने वर्षातमा फेरि समस्यामा पर्ने भयौं ।’ दुईवटै खोला वर्षातमा तर्नै नसकिने गरी बढ्छन् । हिउँदमा पनि जिप तार्न मुस्किल पर्छ ।


जेठदेखि नै सवारीसाधनको आउजाउ रोकिन थालेपछि तमानखोलाको बुंगादोभान, खुंखानी, पात्ले, भित्रीवन र लामेलालगायतका गाउँका बासिन्दा पिठ्युँमा बोकेर खाद्यान्न ढुवानी गर्न बाध्य छन् । प्राधिकरणले दुवै पुलको डीपीआर भने बनाएको छ ।


‘हामीले डीपीआर बनाएका छौं तर तत्कालका लागि हुन्द्राफेदीको मात्र पुल बनाउने कुरा भएको छ,’ प्राधिकरणका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठले भने, ‘अर्को पुल बनाउन सकिने–नसकिने अहिले भन्न सकिएन ।’ तमानखोलाका ४, ५ र ६ नम्बर वडालाई सहज यातायात पुर्‍याउन म्याग्दीको दरबाङ हुँदै ओखरबोट र सोलेडाँडाको बाटो छोटो पर्छ ।


म्याग्दीको ओखरबोटदेखि तमानसम्म स्थानीयले श्रमदान र चन्दा संकलन गरेर सडक सञ्जाल बनाएका छन् । उक्त खण्डको स्तरोन्नतिका लागि प्रदेश र संघीय सरकारमा माग गरिएको अध्यक्ष बुढाले बताए । यहाँ सडक नभएकै कारण धेरै मानिसले लडेर घाइते भई ज्यान गुमाएका छन् । प्रसूति सेवाका लागि बोकेरै स्वास्थ्य संस्था लैजाँदा पनि धेरैले ज्यान गुमाएको गाउँपालिकाकी उपाध्यक्ष मानसरी शेरचनले बताइन् । ‘धेरै महिला समयमा उपचार पाउन नसकेकै कारण मर्न बाध्य छन्,’ उनले भनिन्, ‘जसरी पनि सडकले गाउँ जोड्नैपर्छ ।’


ग्रामीण सडकको ट्रयाक खोल्नका लागि गाउँपालिकाले पनि लगानी गरेको छ । बुंगादोभानदेखि तमान र खुंखानीतर्फ जाने सडकका लागि भने गाउँपालिकाले लगानी गरेको हो । ‘बजेट पर्याप्त नभएपछि हाम्रो लगानी खेर गइरहेको छ,’ अध्यक्ष बुढाले भने, ‘अब करोडौं लगानी गरेर बाटो बनाउन सकिएन भने हाम्रा जनता दिनदिनै मर्न बाध्य हुनेछन् ।’


प्राधिकरणले जिम्मा लिएको सडकलाई कालोपत्रे गरेर छाड्नुपर्ने गाउँपालिकाले माग गरेको छ । प्राधिकरणले भने साढे ६ मिटरको मात्र सडक बनाएकाले कालोपत्रे नगरी ग्राभेल गरेर छाड्ने संकेत पाएको स्थानीय वसन्त घर्तीमगरले बताए । ‘लगानी गरेपछि बाटो पूरा गरेर छाड्न सकियो भने भत्केर जाँदैन,’ उनले भने, ‘प्रदेश र संघीय संसदलाई पनि पहल गरिदिन आग्रह गरे पनि बेवास्ता भएको छ ।’ गाउँपालिकाको केन्द्रसम्म पुग्नै कठिन भएको जिल्लाको तमानखोला गाउँपालिका मात्र हो । अन्य केन्द्र रहेका स्थानसम्म सहजै जान सकिने भएको छ ।

प्रकाशित : माघ २, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?