एकै दिनमा फर्केका डाक्टरको रमाना रोक्का

बागलुङ — धौलागिरी अञ्चल अस्पतालमा आएर एकै दिन हाजिर गरेर गएका एक चिकित्सकको रमाना अझै रोक्का छ । स्त्रीरोग विशेषज्ञ डा. अनुपा थापा गत भदौमा बागलुङमा आएर हाजिर भएको भोलिपल्टै बुटवलस्थित लुम्बिनी अस्पतालमा फर्केकी थिइन् । 

उनले आफूलाई छारे रोग लागेकाले दुर्गममा बस्न नसकेको धौलागिरि अञ्चल अस्पताल प्रशासनमा सूचना दिएकी छन् । उनी बुटवलमा भने निरन्तर काम गरिरहेकी छन् । उनमा त्यो रोगको समस्या परेर काम गर्न नसकेको थाहा नपाएको मेडिकल सुपरिन्टेन्डेन्ट डा. सागरकुमार राजभण्डारीले बताए । ‘यहाँ बस्दा रोग लाग्ने, उता बस्दा नलाग्ने भन्ने नहुनुपर्ने हो,’ डा. राजभण्डारीले भने, ‘अर्को डाक्टर नआएसम्म रमाना नदिने भनेर हामीले रोकेका छौं ।’ चार महिनादेखि उनको रमाना भने भएको छैन ।


त्यस्तो रोग भएमा अध्ययनको समयदेखि काममा पनि देखिनुपर्नेमा नदेखिकनै अस्पताल व्यवस्थापनलाई समेत ढाँटेको धौलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले बताए । उनी हिँडेपछि चार महिनादेखि अञ्चल अस्पतालमा स्त्रीरोग विशेषज्ञ छैनन् । विशेषज्ञ अभावमा अपरेसनसहितको प्रसूति सेवा प्रभावित छ । तालिमप्राप्त प्रसूतिकर्मीहरूको सहायतामा छिटफुट अपरेसन सेवा भने दिइएको राजभण्डारीले बताए । कन्सल्टेन्ट डा. सुशीलमोहन भट्टराई र कन्सल्टेन्ट फिजिसियन डा. अमर पौडेलले बिदा लिएर वीर अस्पतालमा काम गर्छन् । उनीहरूको नियुक्ति र सरुवाको कागज मन्त्रालयबाटै एकैपटक बनेकाले बागलुङ नआइकनै उतै काम गरेका छन् ।


फिजिसियन डा. कल्याण सापकोटा र बालरोग विशेषज्ञ डा. प्रज्वल पौडेलसमेत दरबन्दीमा भए पनि भरतपुर र वीर अस्पतालमै कार्यरत छन् । अञ्चल अस्पतालमा अहिले पनि १४ जना विशेषज्ञ डाक्टर र ४ जना स्टाफ नर्स नआएकाले सेवा चुस्त बनाउन नसकेको राजभण्डारीले गुनासो गरे ।


११ औं तहका डा. राजभण्डारीले भने अस्पतालमा १४ घण्टासम्म काम गरिरहेका छन् । मन्त्रालय वा नीतिगत तहमा बस्नुपर्ने बेलामा उनी अस्पतालमै काम गरे पनि अन्य विज्ञ नआएका हुन् । राजभण्डारीले प्रसूति सेवाको अपरेसन र बिरामी जाँच तथा प्रशासनिक काम पनि गरिरहेका हुन् । अस्पतालमा मंसिर महिनामा मात्र ३ हजार बिरामीको परीक्षण गरेको तथ्यांक छ । ‘महत्त्वपूर्ण सेवा रोकिँदा धेरैलाई रिफर गर्न बाध्य छौं’ राजभण्डारीले भने, ‘भएका सेवा भने निरन्तर दिएका छौं, सबै विज्ञ भइदिए दोब्बरलाई सेवा दिन सकिन्थ्यो ।’ हाल अस्पतालमा डायलायसिस र फिजियोथेरापी सेवा नियमित सञ्चालनमा छन् ।


अस्पतालभित्रै फार्मेसी सेवा दिइएको, अक्सिजन प्लान्ट निर्माणको काम सुरु भएको र खानेपानीको व्यवस्थापनका लागि डेढ करोड रुपैयाँमा भूमिगत पानी प्रशोधनको योजना सञ्चालन गर्न लागेको उनले बताए । पर्याप्त भवन अभावमा कतिपय सेवा भने अवरुद्ध भइरहेका छन् । निर्माणाधीन भवन पूरा भएमा दन्तरोग, बालरोग, नाक, कान, घाँटीलगायतका विशेषज्ञ सेवा सहज रूपमा सञ्चालन गर्न सकिने गरी व्यवस्थापन सुरु भएको छ ।


२०६४ सालमा जिम्मा लिएको ठेकेदार कम्पनीले ११ वर्षमा पनि भवन अलपत्र छाडेको छ । १७ करोड रुपैयाँको बी ब्लक र १० करोड रुपैयाँको सी ब्लकको जिम्मा लिएको मिलेनियम बिल्डर्सले काम अलपत्र पारेको हो । समितिले ठेकेदार शीतल ढकालसँग कुरा गर्दा भवन डिभिजनमार्फत काम गरेकाले दबाब दिन नसक्ने जवाफ फर्काएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानाले गुनासो गरे । गत असारमा सक्ने प्रतिबद्धता गरेको कम्पनीले फेरि काम अलपत्र छाडेपछि सेवा प्रभावित भएको हो ।


प्रकाशित : माघ २, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?