कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सम्पत्ति करबाट २४ लाख

पर्वत — जलजला गाउँपालिकाले आन्तरिक स्रोत वृद्धिका लागि लागू गरेको सम्पत्ति तथा भूमिकरबाट ६ महिनामा २४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत साउनबाट पुससम्ममा ३ हजार ४ सय ४ जनाले तिरेको करबाट संकलित रकम भएको गाउँपालिकाले जनाएको छ । 

सम्पत्ति करबाट २४ लाख

जलजलाका प्रमुख प्रशासकीय अधिकृत मुना अधिकारीका अनुसार सबै वडावासीले करबापत मात्रै २४ लाख १६ हजार ५ सय रुपैयाँ राजस्व गाउँपालिकालाई बुझाएका हुन् । गाउँपालिकाले सबै वडा र टोलहरूमा सार्वजनिक सूचना जारी गरेर पुस मसान्तसम्म कर बुझाउन आउनेलाई १० प्रतिशत छुट दिने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयन गर्न सबै वडावासी तोकिएकै समयमा राजस्व बुझाउन आएको गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले बताए ।


पहिलो वर्ष भएकाले सर्वसाधारणलाई घरघरै करबारे जानकारी गराउन र गाउँपालिकाले आन्तरिक आम्दानीको स्रोत बढाउन गत पुस ७ देखि २३ गतेसम्म वडैपिच्छेका टोलटोलमा शिविर सञ्चालन गरेको थियो । चालु वर्षको आन्तरिक आम्दानीको मुख्य स्रोतका रूपमा सम्पत्ति, व्यवसाय र भूमिकर लिनेगरी ९ वटै वडामा व्यवसाय दर्ता, नवीकरण एवं सम्पत्ति तथा भूमिकर संकलन शिविर सञ्चालन गरेको थियो ।


सबै वडा र टोलस्तरमा घुम्ती टोली खटाएर नयाँ व्यवसाय दर्तादेखि पुराना नवीकरण र घरजग्गाको आयकर तिर्ने व्यवस्था मिलाएको थियो । गाउँपालिकाका प्रवक्ता एवं ३ नम्बर वडाका अध्यक्ष रवि भण्डारीले सर्वसाधारणको सहज र कर शिक्षासहित शिविर सञ्चालन गरिएको थियो । हरेक वडामा ३ दिनका दरले विषयगत कर्मचारी परिचालन गरेर नयाँ व्यवसाय दर्ता, नवीकरण, सम्पत्ति तथा भूमिकर संकलन गरिएको बताए ।


‘शिविरमै कर शिक्षा पनि सञ्चालन गरेका थियौं,’ भण्डारीले भने, ‘दुई हजारभन्दा बढीले शिविरमै कर तिर्नुभयो ।’ उनका अनुसार सर्वसाधारणलाई केका लागि कर तिर्ने, कर तिरेको रकमको लगानी कहाँ हुन्छ ? लगायतका विषयमा कर शिक्षा दिइएको थियो । जलजलाका ९ वटै वडाका पाँच हजार पाँच सय २१ जनाको २६ हजार ९ सय ४८ कित्ता जग्गा भूमि तथा सम्पत्ति करका लागि अभिखेलीकरण भएको छ । शिविरबाट मात्रै करिब १४ लाख राजस्व संकलन

भएको थियो ।


गाउँपालिकाले चालु वर्षदेखि गाउँपालिका क्षेत्रमा रहेको जग्गा तथा उक्त जग्गामा बनेका घर, गोठ, टहराको एकीकृत सम्पत्ति कर लिन सुरु गरेको हो । संवैधानिक व्यवस्थाअनुसार गाउँसभाको दुई तिहाई बहुमतले सम्पत्तिकरबारे कानुन बनाउन पाउँछ । सोही व्यवस्थाअनुसार गत असारमा भएको गाउँसभाले पारित गरेको सम्पत्ति तथा भूमिकर व्यवस्थापन कार्यविधि २०७५ अनुसार विभिन्न मापदण्डको आधारमा वैज्ञानिक रूपमा करको दर निर्धारण गरी कर संकलन सुरु गरिएकोमा पहिलो ६ महिनामै लक्ष्यभन्दा धेरै राजस्व संकलन भएको राजस्व शाखाले जनाएको छ ।


गाउँसभाको कार्यविधिअनुसार १ लाख सम्मका घर टहरालाई १ सय, १ देखि २ लाखसम्म २ सय ५०, २ देखि ५ लाखसम्म १ सय ८०, ५ देखि १० लाखसम्म प्रतिलाख ५६ रुपैयाँका दरले वार्षिक कर लिने उल्लेख छ । त्यस्तै १० देखि २० लाखसम्म प्रतिलाख ५५ रुपैयाँ, २० देखि ३० लाखसम्म प्रतिलाख ५४, ३० देखि ४० लाखसम्म प्रतिलाख ५३ रुपैयाँ, ४० देखि ५० लाखसम्म प्रतिलाख ५२ रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था छ । ५० लाखभन्दा बढी प्रतिलाख ५१ रुपैयाँका दरले कर तिर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।


सम्पत्ति तथा भूमिकरबाट यस वर्ष चालिस लाख रुपैयाँ आम्दानी हुने गाउँपालिकाले लक्ष्य लिएको छ । ‘वर्षभरिमा ४० लाखको लक्ष्य हो,’ अध्यक्ष मल्लले भने, ‘पहिलो ६ महिनामै २४ लाख उठेपछि अब १६ लाख उठाउन कठिन छैन ।’


गाउँपालिकामा साना–ठूला गरी ६ हजार करदाता रहेको अनुमान छ । बस्तीस्तरमा घरदैलो गरेर गणकहरूले संकलन गरेको सम्पत्ति विवरण गाउँपालिकाले आफ्नै विद्युतीय सफ्टवेयरको विकास गरी व्यवस्थित र सुरक्षित अभिलेख राखिएको सूचना प्रविधि अधिकृत मिलन मल्लले बताए ।

प्रकाशित : माघ २, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?