कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

करोडौं खर्चंदा पनि सडक उस्तै 

बागलुङ — जैमिनी नगरपालिकाको केन्द्र रहेको कुश्मीसेरा बजार सदरमुकामदेखि २१ किमि दक्षिणमा पर्छ । यो नगरपालिका क्षेत्र धूले सडकले मात्र जोडिएको छ ।

२०५४ मा थालिएको सदरमुकामदेखि कुश्मीसेरा जोड्ने २१ किमि सडक खण्डको निर्माणमा झन्डै एक अर्ब खर्च भएको अनुमान छ । तर, अहिले पनि खाल्डाखुल्डी र धूलाम्मे बाटो भएर यात्रा गर्नुपर्ने बाध्यता छ । एसियाली विकास बैंकको ऋण सहयोगमा सुरुवातमा कामका लागि खाद्यान्न कार्यक्रममार्फत यो सडक खनिएको थियो । पटक–पटक तत्कालीन जिविसले करोडौं लगानी गरे पनि सुधार भएन ।


यो खण्डमै दोस्रोपटक एडीबीकै सहयोगमा १६ करोड रुपैयाँ लगानी गरियो । विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप) ले यो सडक ग्राभेलको काम गरेको थियो । २०७० देखि २०७२ सम्मको ठेक्का सम्झौता पूरा हुन थप एक वर्ष लाग्यो । तर, हिउँदमा समेत सडक सहज छैन । २१ किमि सडकमा यात्रीले अहिले पनि ३ सय रुपैयाँ भाडा तिरेर जोखिमको यात्रा गर्नुपर्छ । यो सडकको कुन खण्डमा कति लगानी भएको छ भन्ने यकिन हिसाबसमेत कुनै कार्यालयमा छैन ।


यो सडकको खर्चसम्बन्धी विवरण तत्कालीन जिविसमा समेत थिएन । ‘पटक–पटक गरेर एक अर्ब जति खर्च भयो होला । हामीले पनि अनुमान मात्र गर्ने हो,’ पूर्वजिविस सभापति लीलाबहादुर थापाले भने, ‘कति बजेट आयो कति खर्च भयो भन्ने हिसाब आरआईडीपीले राखेको थियो ।’ आरआईडीपी नामक उक्त संस्थाले सबै स्रेस्ता तत्कालिन जिविसलाई बुझाएको थियो । २०६० देखि हरेक वर्ष जिविसले थप लाखौं रकम खर्चेर मर्मत गरिरहेको थियो ।


स्थानीय तह गठन पनि यो सडक बागलुङ र जैमिनी नगरक्षेत्रमा पर्छ । स्तरोन्नति गर्न दाताको खोजी भइरहेको नगरप्रमुख इन्द्रराज पौडेलले बताए । माघे संक्रान्ति मेलाको अवसरमा आएका उपराष्ट्रपति नन्दबहादुर पुनलाई समेत नगरप्रमुखदेखि राजनीतिक कार्यकर्ता र स्थानीयले सडक कालोपत्रेका लागि बजेट खोजिदिन आग्रह गरे । पुनले पनि आफ्नो प्रयास रहने आश्वासन दिएर फर्केका छन् । ‘वर्षौंदेखि सडक अलपत्र रहेछ, मैले पनि पहल गर्नेछु,’ पुनले भने, ‘सरकारको ध्यानाकर्षण गराउने मेरो पनि जिम्मा भयो ।’ यो सडकको नाम बेचेर धेरै निर्वाचन सकिएको स्थानीयको गुनासो छ ।


२०५६ देखिका सबै निर्वाचनमा निर्वाचित सांसदले यो सडक कालोपत्रे गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसका लागि राजनीतिक नेतृत्व, अर्थमन्त्रीहरूले पनि आश्वासन मात्र दिएर गएको कांग्रेस नगर सभापति काशीराम आचार्यले बताए । ‘उपराष्ट्रपतिअघि शीर्ष ६ नेतृत्वले सडक कालोपत्रे गरिसके, अब के हुने हो’ आचार्यले भने, ‘यहाँका जनताले वर्षातका लागि हिउँदमै खाद्यान्नको जोहो गरेर राख्नुपर्छ ।’ सडक वर्षा लागेपछि जीर्ण हुँदा ढुवानीमा सास्ती खेप्नुपर्ने भएकाले धेरैले हिउँदै तयारी गर्नुपर्ने उनले बताए ।


नगरपालिकाले चालु वर्षका लागि मुकामदेखि वडा तहसम्म पुग्ने सडकको स्तरउन्नति गर्न बजेट छुट्टयाएको छ । सदरमुकाम जाने यो सडक भने केन्द्रीय योजनामा पर्ने आशाले बजेट नराखेको पौडेलले बताए । ‘सडकको डीपीआर बनाएर कम्तीमा कालीगण्डकी कोरिडोर सम्मको ९ किमि खण्ड कालोपत्रे गर्न पहल भएको छ’ प्रतिनिधिसभाका सांसद सूर्य पाठकले भने, ‘अब अन्तिम पटक कालोपत्रे हुनेगरी काम गर्ने हो ।’ बाँकी खण्डका लागि भने आगामी वर्ष पहल गर्ने उनले बताए । कोरिडोरको बाटो भएर अहिले कुश्मीसेरासम्म सवारी चल्ने गरेका छन् । पुरानो खण्डमा भने नियमित सवारी चल्दैनन् ।


कुश्मीसेरा बजारबाटै नगरपालिकाका सबै वडामा खाद्यान्नसहित दैनिक उपभोग्य वस्तु बिक्री हुन्छ । त्यस्तै बरेङ गाउँपालिका पनि कुश्मीसेराबाटै जानुपर्छ । वर्षातमा यो सडक खण्ड अवरुद्ध हुँदा बरेङवासीले थप सास्ती खेप्नुपर्ने बाध्यता छ ।


‘ग्रामीण सडक सबै गाउँमा पुगे तर स्तरोन्नति र योजनाबद्ध विकास अभावमा सास्ती भयो’ बरेङ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले भने, ‘मुख्य सडकलाई राष्ट्रिय बजेटले स्तरोन्नति गर्न सबैको साझा पहल हुन जरुरी छ ।’ कुश्मीसेरादेखि बरेङ हुँदै गुल्मीको शान्तिपुर जोड्ने सडकलाई प्रदेश योजनामा समेटिएकाले छिटै गति लिने पाठकको दाबी छ ।

प्रकाशित : माघ ३, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?