कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

ग्रामीण सडक धमाधम कालोपत्रे

दिप्ती सिलवाल

पर्वत — पर्वतका ग्रामीण सडक धमाधम कालोपत्रे भइरहेका छन् । दोबिल्ला–फलेवासको आधाभन्दा धेरै भाग कालोपत्रे भइसकेको छ । योसँगै जोडिएको मुडिकुवा–झकलाक र फलेवास–लुंखु सडकमध्ये मुडिकुवा–झकलाकको ७ किमि सडक पनि कालोपत्रे भएको छ । 

ग्रामीण सडक धमाधम कालोपत्रे

कुश्मा–खुर्कोट सडक कालोपत्रे गर्न अघिल्लो वर्ष नै टेन्डर स्वीकृत भएर काम अघि बढेको छ । योसँगै डिमुवा–राम्जा–चित्रे, डिमुवा–देउपुर, लमाय–लुङ्खु, लुङ्खु–कार्कीनेटालगायतका दर्जनभन्दा बढी सडक अब कालोपत्रेको चरणमा छन् ।


कतिपय सडकको यतिबेला पूर्वाधार विकास कार्यालयले धमाधम कालोपत्रेका लागि बोलपत्र सार्वजनिक गरेको छ । पूर्वाधार विकास कार्यालयका अनुसार चालु वर्षदेखि सुरु हुनेगरी चिसापानी हुवास–बर्राचौर १४ किमि सडक कालोपत्रेका लागि ठेक्का आहान भइसकेको पूर्वाधार विकास कार्यालयका प्रमुख दयाराम अधिकारीले बताए ।


उनका अनुसार कार्यालयले २२ वटा सडकको स्तरवृद्धि गर्न बोलपत्र सार्वजनिक गरिसकेको छ । त्यस्तै पुनर्निर्माण प्राधिकरणअन्तर्गत दुई सडक यसै वर्ष कालोपत्रेको चरणमा छन् । पातीचौर मैदान–लप्सीबोट १२.५ किमि र वारिबेनी–बगरफाँट–बाँसखर्क ८.५ किमिको कालोपत्रे गर्ने काम सुरु भइसकेको कार्यालयले जनाएको छ ।


त्यस्तै ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआईपी) मार्फत लमाय–लुंखु १३ किमि, अर्मादी–बनौं १२ किमि चालु वर्षभित्रै कालोपत्रे हुनेगरी ठेक्का भइसकेको आरसीआईपीका पर्वत प्रमुख जगदीश शर्माले बताए । उनका अनुसार लुंखु–हुवास १५ किमि पनि कालोपत्रेको चरणमा छ । आरसीआईपीका अनुसार आगामी वर्षदेखि कलोपत्रे हुनेगरी ७ वटा सडकको विस्तृत योजना सर्वे भइरहेको छ । ‘आगामी वर्ष कालोपत्रे गर्नेगरी सातवटा सडकको डीपीआर बनाउँदै छौं,’ प्रमुख शर्माले भने, ‘डीपीआर तयार गरेपछि ती सडक आगामी वर्षदेखि कालोपत्रे सुरु हुनेछन् ।’


यसै वर्ष डीपीआर तयार हुने सडकहरूमा मिलनचोक–सालिजा, पातीचौर–बाजुङ–क्याङ, दोबिल्ला–गँगटे–आर्थर, जैमिनि–खानीगाउँ–कार्कीनेटा परेका छन् । त्यस्तै लमाय–लिमिठाना–ठानामौला–थापाठाना, त्रिवेणी–टकलाक–सिंगारकोष र रतिखोला–दराक–चित्रेको आगामी वर्षदेखि सुरु गर्ने लक्ष्यका साथ सयै वर्ष डीपीआर तयार गर्नका लागि छनोट भएको शर्माले जानकारी दिए ।


यो यो वर्ष कालोपत्रे भएका र आगामी वर्ष हुने सबै सडक कालोपत्रे हुँदा पर्वतमा करिब दुई सय किलोमिटर ग्रामीण सडक कालोपत्रे हुने अनुमान छ । जिल्लाका मुख्य–मुख्य गाउँ कालोपत्रेको पहुँचमा पुग्ने पूर्वाधार विकास कार्यालयका प्रमुख दयाराम अधिकारीले बताए ।


करिब २२ सय किलोमिटर ग्रामीण कच्ची सडक सञ्जालले जेलिएका पर्वतका गाउँमा नयाँ ट्रयाक खन्ने काम बन्द गरेर गत २ वर्षदेखि स्तरोन्नतिको काम सुरु भएको थियो । दुई दशक अघिदेखि गाउँमा ट्रयाक खोल्न सुरु गरेको तत्कालीन जिविस पर्वतले आर्थिक वर्ष २०७३/०७४ देखि ट्रयाक खोल्न बन्द गरेर स्तरोन्नति र कालोपत्रेलाई जोड दिएपछि पूर्वाधार, आरसीआईपी लगायतका कार्यालयले कालोपत्रेमा जोड दिएका हुन् ।


स्थानीय सरकारले समेत कतिपय स्थानीय सडक कालोपत्रे गर्न स्थानीयस्तरबाटै पहल थालेका छन् । महाशिला र जलजला गाउँपालिकाले पालिकाभित्रका छोटो दूरीका सडक आफैं स्तरोन्नति र कालोपत्रे गर्न सुरु गरिसकेका छन् ।


कुश्मालाई स्थानीय तहसम्म जोड्ने ६ वटा मुख्य सडक कालोपत्रे गर्न अघिल्लो वर्ष नै सुरु भएको थियो । डिमुवा–राम्जा–चित्रे, दोबिल्ला–फलेबास र घुम्ती–लाम्पाटा–पाङ–खनियाघाट सडकको कालोपत्रे २ वर्षअघि नै सडक विभागले सुरु गरेको थियो । अघिल्लो वर्षदेखि सडक विभाग, आरसीआईपी र पूर्वाधार विकास कार्यालयले स्तरोन्नतिको सूचीमा राखेका सडकलाई स्थानीय तहले पनि साझेदारीमा निरन्तरता दिन थालेका छन् ।


सडक विभागले कालोपत्रे सुरु गरेको डिमुवा–राम्जा–चित्रे ७.२ किमिका लागि १० करोड ३९ लाख ५४ हजार बजेट छ । दोबिल्ला–फलेवास ७.६ किमि कालोपत्रे गर्न १३ करोड ५१ लाख ५ हजार र घुम्ती–लाम्पाटा–पाङ(खनियाघाट ३ किमिका लागि ६ करोड ९६ लाख ९० हजार बजेट छ । यी सडक आगामी वर्षभित्र कालोपत्रे भइसक्ने सडक डिभिजन कार्यालयले जनाएको छ ।


सम्झौता गरिएका सडकमा अर्थ मन्त्रालयले बजेटमा कन्जुस्याइँ गर्दा अपेक्षित प्रगति नभएको उनले बताए । ‘यो वर्ष बजेटमा खासै समस्या छैन,’ प्रमुख इन्जिनियर खत्रीले भने, ‘बजेट पर्याप्त भएका सडकमा काम रोकिएको छैन ।’ सडक डिभिजनमार्फत सुरु भएका डिमुवा(राम्जा र घुम्ती–लाम्पाटाको काम अपेक्षित रूपमा अघि बढेको उनले बताए ।


ग्रामीण सडक कालोपत्रेपछि सबै स्थानीय तहका केन्द्र पुग्न सडक यात्रा सहज हुने स्थानीयको अपेक्षा छ । ‘मुख्य बस्तीसम्म कालोपत्रे सडक पुर्‍याउने लक्ष्य हो,’ पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले भने, ‘गाउँमा जाने बजेट अहिले धेरैजसो सडक स्तरोन्नतिमै खर्चेका छौं ।’


दोबिल्ला–फलेवास र कुर्घा–लुङ्खु–हुवास सडक कालोपत्रे भए दक्षिणी पर्वतका तीन गाउँपालिका र एक नगरपालिकावासीले यात्रामा सहज अनुभूति गर्न पाउँछन् ।

प्रकाशित : माघ ३, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?