कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बजार निगरानीमा नगर प्रहरी

बजारलाई व्यवस्थित राख्न नगरपालिकाद्वारा नगर प्रहरी परिचालन

लमजुङ — संघीय संरचनासँगै बेंसीसहर नगरपालिकाले राखेको नगर प्रहरीले बेंसीसहर बजारको निगरानी थालेको छ । नगरपालिकाले गठन भएको साँढे १ वर्षपछि नगर प्रहरी राखेको हो ।

बजार निगरानीमा नगर प्रहरी

बजारलाई व्यवस्थित राख्न नगरपालिकाले नगर प्रहरी परिचालन गरेको जनाएको छ । नगर प्रहरीले नेपाल प्रहरीसँगको समन्वयमा र एक्लैले बेंसीसहर बजारलाई व्यस्थित गर्ने काम गर्ने जनाएको छ । पोषाकसहित खटिएका नगरप्रहरीले बेंसीसहर बजारका चोक तथा सडकमा राखिएका निर्माण सामग्री, छेउछाउमा राखेका व्यावसायिक सामग्री हटाउन अनुरोध गर्दै हिँडेको छ ।

बेंसीसहर बजारको मनाङे चौतारादेखि सेराचोकसम्मको करिब १ किलोमिटर सडक दायाँ–बायाँ गस्ती हिँडेर नगर प्रहरीले बजार व्यवस्थितको सुरुवात गरेको छ ।

यसअघि बिनापोसाक नगरको अवस्था बुझ्दै आएको नगर प्रहरीले बुधबारदेखि पोसाक लगाएर बजारको निगरानी गर्न थालेको छ । पछिल्लो समय चोरीका घटनाहरू हुने गरेको भन्दै यसमा चनाखोपूर्ण तवरबाट बजारको अनुगमन गरिएको नगर प्रहरी प्रमुख असई यमबहादुर अधिकारीले बताए । उनका अनुसार एकजना हवल्दार र ७ जना जवानसहित ९ जनाले गस्ती थालेका छन् । ‘हामी ड्युटी मिलाएर नगरमा गस्ती थालेका छौं । आवश्यक परे सडक दायाँ–बायाँ बाँडिएर पनि गस्ती गरिरहेका छौं’ उनले भने, ‘हामीलाई नगरवासीले बिल्कुलै नयाँ तरिकाले हेरिरहेका छन् जस्तो लाग्छ । नगरवासीले हामीसँग हाम्रो कामकर्तव्यबारे जिज्ञासासमेत राख्नुभएको छ ।’

बजारमा जथाभावी पार्किङ नगर्न, जथाभावी फोहोर नगर्न, भएका फोहोरलाई नगरपालिकाले वितरण गरेको डस्टबिनमा कुहिने र नकुहिने भाँडामा राख्न अनुरोध गरिएको नगर प्रहरी असई अधिकारीले बताए । नगर प्रहरी हवल्दार राज सेढाईंले बजारमा सवारी र मानिसलाई अप्ठ्यारो पार्ने गरी सञ्चालन गरिएका ठेलागाडा व्यवस्थित गर्न थालिएको बताए ।

‘खासगरी बजारको समस्या भनेको अव्यस्थित पार्किङ हो । मानिसको अव्यस्थित हिँडाइ, अव्यवस्थित तरिकाले व्यावसायिक सामग्री राखिनुले सहर नराम्रो देखिन्छ । हामी नगरलाई राम्रो बनाउने र नगरवासीको शान्ति सुरक्षामा पनि खटिएका छौं’ उनले भने । नागरिकलाई आग्रह गर्दा सकरात्मक रूपमा लिएको उनले बताए ।

बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बेंसीसहर नगरपालिका, खासगरी बजार क्षेत्रमा हुने हरेक किसिमका घटनालाई निगरानीमा राख्न नगर प्रहरी परिचालन गरिएको बताए । उनले बजार क्षेत्रमा जुनसुकै बेला घटना दुर्घटना हुन सक्ने र यस्ता कार्यलाई नेपाल प्रहरी तथा ट्राफिक प्रहरीसँग समन्वय गरेर कार्य सम्पादन गर्न नगर प्रहरीलाई आग्रह गरेको छ । ‘नगर प्रहरीको काम भनेको नागरिकलाई शान्तिसुरक्षा दिने र अमनचयनमा राख्नु पनि हो । नागरिकले सुरक्षित महसुस गर्न पाउनुपर्छ,’ उनले भने ।

नियम मिचेर वा अटेर गरेर सडकमा जथाभावी सामान राख्ने, सडक पेटीमा बटुवा हिँड्न नमिल्ने गरी सामग्री राख्ने कार्यले घटना दुर्घटना बढाएकाले यस्तो कामलाई चनाखोपूर्ण तवरले हेर्न आग्रह गरिएको नगर प्रमुख अर्यालले बताए । नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकारको प्रयोग गरेर नगर प्रहरी परिचालन गरेको अर्यालले बताए ।

प्रकाशित : माघ ३, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?