कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सवारीचालकलाई उच्च रक्तचाप

सडक दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले बेंसीसहर–२ मा सवारीचालकको रक्तचाप र आँखाको परीक्षण

लमजुङ — स्वास्थ्य परीक्षण गरिएका अधिकांश सवारीचालकमा उच्च रक्तचाप (ब्लड प्रेसर हाइ) को समस्या देखिएको छ । आँखाको समस्या भने खासै नदेखिएको स्वास्थ्यकर्मीले बताएको छ । 

सवारीचालकलाई उच्च रक्तचाप

सडक दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले बेंसीसहर–२ मनकामना मन्दिर सडकमै सवारीचालकको रक्तचाप र आँखाको परीक्षण गराएको हो । काठमाडौं, पोखरा र चितवनलगायत लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधनका चालकको बिहीबार स्वास्थ्य परीक्षण गरिएको हो । बाटो रोकेर उभिएका ट्राफिक प्रहरी देखेपछि सवारी चेकजाँच होला भनेर पालो कुरेर बसेका चालकहरूलाई ओर्लिन लगाएर स्वास्थ्य परीक्षण गराइएको थियो ।


बेंसीसहर–२ भकुन्डेस्थित सहरी स्वास्थ्य केन्द्रकी अहेव चन्दु भण्डारीका अनुसार परीक्षण गरिएका अधिकांशलाई उच्च रक्तचापको समस्या देखिएको छ । ‘केहीको ब्लड प्रेसर सामान्य भए पनि २/४ जनाको ‘लो’ भएको पनि पाइयो,’ उनले भनिन्, ‘५०/५५ जनाको चेकजाँच गर्दा धेरैलाई हाइ ब्लड प्रेसर भेटियो । धेरै हुनेको माथि २ सय र तल १ सय २० सम्म प्रेसर देखियो ।’ असन्तुलित खानपान र जीवनशैलीका कारण यस्तो भएको हुनसक्ने उनले बताइन् ।


‘सामान्यतया छोरा मान्छेमा १ सय २० का तल ९० देखि १ सय आसपासलाई राम्रो नै मानिछ । तर, चालकमा ब्लड प्रेसर हाइ नै देखिएको छ,’ उनले भनिन्, ‘मादक पदार्थ सेवन र चिन्ताले पनि रक्तचाप बढाउँछ । कसैको वंशाणुगत गुण नै हुन्छ ।’ राम्रोसँग परीक्षण गराउन र उचित खानपानमा ध्यान दिन सल्लाह दिइएको थियो । उनका अनुसार केहीले भने उच्च रक्तचापको औषधि खानुपर्ने हुनसक्छ । आँखाको सामान्य समस्या देखिए पनि उपचार नै गराउनुपर्ने नदेखिएको उनले बताइन् ।


ट्राफिक प्रहरी असई रामऔतार चौधरीका अनुसार सडकमा गरिएको चालकको स्वास्थ्य परीक्षणलाई निरन्तरता दिइनेछ । ‘हामी सकेसम्म साताको एकपटक चालकको स्वास्थ्य परीक्षण गर्नेछौं’ उनले भने । दुर्घटना न्यूनीकरण साथै सवारी चालकलाई आफ्नो कर्तव्यपालना पूरा गराउन सवारी चालकको सडकमै स्वास्थ्य परीक्षण थालिएको उनले बताए । बेंसीसहर–डुम्रे बसचालक बमबादुर खडकाले ट्राफिक प्रहरीको अभियानले चालकलाई फाइदा पुगेको बताए । ‘हामीलाई बस चलाउने र यात्रु खोज्ने चटारो हुन्छ । समस्या आइहाले मात्रै हो, बेला–बेलामा परीक्षण गर्न पनि भ्याउँदैनौं । आफ्नो स्वास्थ्यप्रति सजग रहनुपर्छ भन्ने ज्ञान प्राप्त भो,’ उनले भने ।


प्रहरी हवल्दार भूमिराज घिमिरेका अनुसार बिहीबार पहिलो दिन बेंसीसहर आउँदै र जाँदै गरेका ५१ सवारी चालकको स्वास्थ्य अवस्था, सवारीको अवस्था चेकजाँच गरिएको थियो । बस २३, ट्रयाक्टर ४, जिप/कार १५ र मालबाहक ट्रक ९ का चालकको २ घण्टामा चेकजाँच गरिएको उनले बताए । ‘हामीले चालकको स्वास्थ्य परीक्षण साथै सवारीको पनि चेकजाँच गर्‍यौं । सधैं सवारीको चेकजाँच मात्रै भयो । सवारीको अवस्था र कागजात पनि चेक गर्‍यौं,’ उनले भने ।

प्रकाशित : माघ ४, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?