१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

लाभग्राही नक्कली भन्दै उजुरी

भूकम्पले भत्काएको घर पुनर्निर्माण गर्न पहिलो किस्ता लिने ७ सय ८४ लाभग्राहीमध्ये ४ सय २५ जना नक्कली भन्दै उजुरी 
घनश्याम खडका,

म्याग्दी — भूकम्पले घर भत्काएको भन्दै यहाँ पुनर्निर्माण गर्न पहिलो किस्ता लिने ७ सय ८४ जना लाभग्राहीमध्ये आधाभन्दा बढी नक्कली रहेको भन्दै उजुरी परेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइको अभिलेखअनुसार पहिलो किस्ता बुझ्नेमध्ये ४ सय २५ जना नक्कली रहेको भन्दै आयोजना र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ ।


कार्यालयका अनुसार निजीआवास पुनर्निर्माण गर्न पहिलो किस्ताबापत रकम लगेकामध्ये चालु पुस मसान्तसम्म १ सय ६५ जनाले मात्रै घर बनाएका छन् । १० जना लाभग्राहीको आवास निर्माण अन्तिम चरणमा रहेकाले तेस्रो किस्ता भुक्तानी प्रक्रिया सुरु भएको छ ।


‘भूकम्पपछिको पुनर्निर्माण र पुन:स्थापनाका लागि अनुदान लिने केही लाभग्राही नक्कली रहेको भन्ने गुनासा आयोग र अख्तियारमा समेत उजुरी दर्ता भएका छन् । हामी छानबिनमा लागेका छौं,’ जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार म्याग्दीका प्रमुख शिवराम गेलालले भने, ‘उजुरी छानबिन भइरहेकाले आरोप प्रमाणित भए गलत विवरण भर्ने र सिफारिस गर्ने दुवै पक्षलाई कारबाही गर्छौं ।’ आयोजनाका अनुसार भूकम्पले क्षति पुर्‍याएको भन्दै परेका निवेदनमध्ये १ हजार ३ सय ५० घर प्राविधिकले सर्वेक्षण गरेर ८ सय ६८ लाई मात्रै प्रमाणीकरण गरेका थिए ।


आयोगले यकिन गरेको संख्या र व्यक्तिलाई स्थानीय तहले सिफारिस गरी पहिलो किस्ता झिकेका हुन् । पहिलो किस्ता ७ सय ८४ ले लिएका थिए भने दोस्रो किस्ता बुझ्ने २ सय ८७ मात्रै छन् । पुस १५ सम्मको अभिलेखअनुसार जिल्लामा भूकम्पपछि निजी आवास पुनर्निर्माण गर्न तेस्रो किस्ता बुझ्ने लाभग्राही १ सय ६५ जना मात्र छन् ।


स्थानीय तहमध्ये सबैभन्दा बढी बेनी नगरपालिकामा ३ सय ८० लाभग्राहीले पहिलो किस्ता बुझेकोमा हालसम्म दुई वर्षमा जम्मा ८३ जना लाभग्राहीले मात्र तेस्रो किस्ता पाएका छन् । नक्कली पीडित बनेर रकम लिएको उजुरी पनि बेनीमै धेरै छ । अन्नपूर्ण गाउँपालिकाका १ सय १४ लाभग्राहीमध्ये १५ जना, रघुगंगाका १ सय ४५ मध्ये १६, मंगलाका १ सय २७ मध्ये ४२, धौलागिरिका ३० मध्ये ९ घर लाभग्राहीले मात्र तेस्रो किस्ता बुझेका छन् ।


मालिका गापाका पहिलो किस्ता रकम बुझ्ने ३५ मध्ये हालसम्म एक जनाले पनि तेस्रो किस्ता पाएका छैनन् । ‘समयमै प्राविधिक लाभग्राहीको घरमा पुग्न नसक्नु, मौलिक कला, संस्कृति र हावापानी र स्थानीय बजारमा पाइने सामग्री अनुरूप डिजाइन नहुँदा निजी आवास पुनर्निर्माणमा समस्या भएको हो,’ आयोजनाका जिल्ला प्रमुख गेलालले भने, ‘निजी आवास पुनर्निर्माणमा ढिलाइ र विवाद रहे पनि विद्यालय पुनर्निर्माण सन्तोषजनक रूपमा भएको छ ।’


उनका अनुसार भूकम्पबाट क्षतिग्रस्त जिल्लाका ९७ वटा विद्यालयमध्ये ४ वटाको भवन पुनर्निर्माण भएका छन् । ७ वटा निर्माणाधीन छन् । चालु वर्ष थप २० वटा विद्यालय पुनर्निर्माण गर्न सम्झौता प्रक्रिया सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको पोखरे–घार–शिख–चित्रे १८.५ किमि सडकको कालोपत्रेसहित स्तरोन्नति गर्न ३६ करोड ६९ लाख ५८ हजार लागत अनुमान गरिएकोमा काठमाडांैको मोतिदान–जयमाता जेभीले २७ करोड ९१ लाख ३५ हजारमा ठेक्का लिएको छ ।

प्रकाशित : माघ ४, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?